भारतको विपक्षी गठबन्धन ‘इन्डिया’ले उपराष्ट्रपति तथा माथिल्लो सदन राज्य सभाका अध्यक्ष जगदीप धानकरविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाएको छ।
भारतको संसदीय इतिहासमा पहिलोपटक राज्य सभा अध्यक्षविरुद्ध यस्तो कदम चाल्न लागिएको हो। उनले सदन सञ्चालनमा पक्षपात गरेको विपक्षीको आरोप छ।
मंगलबार संसदका दुवै सदनका बैठक विरोधका बीच स्थगित भएका थिए।
अविश्वासको प्रस्तावको सूचनामा कंग्रेस, तृणमूल कंग्रेस, आम आदमी पार्टी, समाजवादी पार्टी, डीएमके र राष्ट्रिय जनता दलका ६५ भन्दा बढी सांसदले हस्ताक्षर गरेको बताइएको छ।
अध्यक्षको कुर्सीमा बसेको व्यक्ति दलको हुन नहुने सिद्धान्तमा आधारित रहेको आफूहरूले यो प्रस्ताव गरेको कंग्रेस नेताहरूको भनाइ छ।
कंग्रेस नेता शक्तिसिंह गोहिलले धानकारले विपक्षी नेताहरूलाई बोल्नै नदिएको तर भाजपाका नेताहरूलाई नरोकेको आरोप लगाए।
भारतमा २४५ सदस्यीय राज्य सभाका प्रमुखलाई बहुमत सांसदले हटाउन सक्छन्। एजेन्सी
Shares

प्रतिक्रिया