जब पदमा बहाल उपराष्ट्रपतिले राष्ट्रपतिको हत्याका लागि आफूले हत्यारा नियुक्त गरेको घोषणा गर्छिन्, तब थाहा हुन्छ, त्यो मुलुक निकै ठूलो संकटमा छ।
तर, फिलिपिन्सको कुरै अर्को छ, जहाँ राजनीति र नौटंकी उही लयमा चलिरहन्छ।
‘मैले एकजनासँग कुरा गरेकी छु,’ उपराष्ट्रपति सारा डुटेर्टेले गत साता फेसबुक पेजमा भनिन्, ‘मैले भनेकी छु, यदि म मारिएँ भने गएर बीबीएम (बङबङ मार्कोस, राष्ट्रपति), लिजा आर्नेटा (प्रथम महिला) र मार्टिन रोमुआल्डेज (सभामुख)लाई मार्दिनू। मजाक होइन। मजाक होइन। मैले भनेँ, तिनीहरूलाई नमारीकन नरोकिनू। अनि उनले हुन्छ भनेका छन्।’
गत महिना उनले पत्रकारहरूसामु राष्ट्रपति फर्डिनान्ड मार्कोससँग आफ्नो सम्बन्ध विषाक्त बनेको र उनको टाउको काटेको सपना देखेको बताएकी थिइन्।
उनले राष्ट्रपतिका बुवा मार्कोसको शव मनिलास्थित ‘हिरोज् सेमेटरी’बाट निकालेर खरानी समुद्रमा छर्किने पनि धम्की दिएकी छन्।
यो सबैको कारण हो, कुनैबेला शक्तिशाली मानिएको राजनीतिक गठबन्धनमा आएको फुट।
फाइदाका लागि बनेको गठबन्धन
२०२२ को राष्ट्रपतीय चुनावमा मार्कोस परिवार र डुटेर्टे परिवार मिलेर जाने सम्झौता भयो। दुवै राष्ट्रपतिका सन्तान थिए।
त्यतिबेला साराका बुवा रोड्रिगो डुटेर्टे राष्ट्रपतिमा बहाल थिए।
बङबङ र सारा दुवैको जनाधार बलियो थियो। दुवै पपुलिस्ट थिए। तर, यी दुई आपसमा भिड्दा तेस्रो उम्मेदवारले जित्ने सम्भावना हुन्थ्यो।
त्यसै हुनाले सारा बङबङको उपराष्ट्रपति बन्न तयार भइन्। यी पदमा अलगअलग मतदान हुने भए पनि उनीहरूले गठबन्धन बनाए।
उपराष्ट्रपति बने २०२८ को चुनावमा राष्ट्रपति बन्न आफूलाई सहज हुने साराको हिसाबकिताब थियो।
र, यो रणनीति प्रभावकारी पनि भयो। उनीहरूले ठूलो मतान्तरले चुनाव जिते।
तर, उपराष्ट्रपति पद शक्तिशाली होइन। यो सेरेमोनियल मात्र हो। डुटेर्टेले रक्षा मन्त्रालय आफू मातहत राख्न चाहेकी थिइन्। तर, मार्कोसले उनलाई शिक्षा थमाए। उनी शक्तिशाली नहोऊन् भन्नेमा मार्कोस होसियार थिए।
त्यसमाथि मार्कोसले पूर्ववर्ती रोड्रिगो डुटेर्टेका नीतिहरू पनि उल्ट्याए।
उनले फिलिपिन्सको नौसेना र तटरक्षकहरूलाई दक्षिण चीन सागरमा चीनलाई टक्कर दिन आदेश दिए। जबकि डुटेर्टेले चीनसँग जोरी नखोज्ने बताएका थिए। उनले त चिनियाँ राष्ट्रपति सी चिनफिङ आफूलाई मन परेको पनि बताएका थिए।
मार्कोसले डुटेर्टेको कुख्यात लागुऔषविरुद्धको लडाइँलाई पनि कमजोर बनाए।
उनले फिलिपिन्स अन्तर्राष्ट्रिय अपराध अदालतमा पुनः समावेश हुने संकेत पनि गरे। जहाँ डुटेर्टेविरुद्ध मुद्दा चलिरहेको छ। आफ्नो कार्यकालमा गैरन्यायिक भएका हत्याका विषयमा डुटेर्टेले सिनेटमा बयान पनि दिनुपर्यो।
तल्लो सदनमा मार्कोसका सहयोगीहरूले सारा डुटेर्टेले गरेको खर्चमाथि छानबिन थालेपछि भने दुई खेमाबीच झगडा सुरु भयो।
उपराष्ट्रपति सारा डुटेर्टेले शिक्षामन्त्रीका रूपमा जुलाईमा राजीनामा दिइन्। त्यसपछि उनको बोली चर्को हुँदै गयो।

प्रबल उपराष्ट्रपति
सारा डुटेर्टे विवादमा आइरहने मान्छे हुन्। १३ वर्षअघि दाभाओ सहरको मेयर छँदा उनले अदालतका एक कर्मचारीलाई बारम्बार मुक्का हानेको भिडिओ भाइरल भएको थियो।
बुवाजस्तै उनी पनि चर्को अभिव्यक्ति दिने गर्छिन्।
आफूलाई ‘प्रबल’ चरित्रको व्यक्ति मान्छिन् उनी। उनी बुवाजस्तै ठूला मोटरबाइक चढ्न रुचाउँछिन्।
तर, राष्ट्रपतिको ज्यान लिने उनको धम्कीले उनलाई अप्ठेरोमा पार्न सक्छ।
मार्कोसले उनको टिप्पणीलाई ‘लापरबाहीयुक्त र हैरान पार्ने खालको’ भनेका छन्।
मुलुकको अनुसन्धान विभागले उनलाई शुक्रबार यसबारे बयान लिन बोलाएको छ।
तर, अहिले उनले आफ्नो भनाइ फिर्ता लिएकी छन्। आफूले त्यस्तो योजना नबनाए उनको भनाइ छ।
सायद घागडान व्यक्तित्व, शक्तिशाली परिवार र क्षेत्रवरिपरि घुमिरहेको फिलिपिनी राजनीतिमा दुई शक्तिशाली परिवारबीच टकराव हुनु अपरिहार्य हो। जहाँ, राजनीतिक वफादारी तरल छ। सिनेटर र सांसदहरू पार्टी फेरिरहन्छन्। शक्ति भने राष्ट्रपति वरिपरि केन्द्रित हुन्छ, किनकि सरकारी पैसा खर्च गर्ने अधिकार उनैलाई हुन्छ। पूर्वराष्ट्रपतिहरूमाथि भ्रष्टाचार र अख्तियार दुरूपयोगको आरोपमा छानबिन हुने गरेको छ।
राष्ट्रपति मार्कोस आफ्नो परिवारको प्रतिष्ठा फर्काउन चाहन्छन्। उनको बुवा १९८६ मा विद्रोह भएपछि लज्जाजनक रूपमा मुलुक छाडेर भाग्नु परेको थियो। त्यसैले २०२८ को चुनावमा आफ्नो उत्तराधिकारी छान्न उनले होसियारी अपनाउने छन्।

डुटेर्टेको आफ्नै पारिवारिक महत्त्वाकांक्षा छ।
सारा डुटेर्टे अझै उपराष्ट्रपतिमा बहाल छिन्। सिनेटले महाभियोग लगाएर उनलाई हटाउन सक्छ। तर, मार्कोसका लागि त्यो जोखिमपूर्ण कदम हुन सक्छ।
मुलुकको दक्षिणी हिस्सा र विदेशिएका फिलिपिनी कामदारहरूको उनलाई बलियो जनसमर्थन छ। सिनेटमा उनलाई हटाउन पुग्ने मत जम्मा गर्न पनि कठिन छ।
आउँदो मेमा आम चुनाव हुँदैछ। जसमा तल्लो सदनको सबै सिट र सिनेटको २४ मध्ये आधा सिटमा चुनाव हुनेछ। त्यसबेला दुई खेमाको शक्ति जाँच हुनेछ।
राष्ट्रपतिसँगको यो मनमुटाव साराका लागि यो चुनावमा आफ्नै उम्मेदवार अघि सार्ने र आफूलाई सरकारको विकल्पका रूपमा अघि सार्ने मौका बन्न सक्छ।
त्यसले २०२८ को चुनावमा उनलाई थप सहज बनाउन सक्छ।
तर, गतसाताको उनको उत्तेजक अभिव्यक्तिपछि फिलिपिनीहरू पक्कै सोचिरहेका होलान्, अब उनले के भन्लिन्? बीबीसीबाट
Shares

प्रतिक्रिया