रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभ उत्तर कोरियाको भ्रमणका क्रममा शुक्रबार प्योङयाङ पुगेको रुसी समाचार निकायले जनाएका छन्।
प्योङयाङको भ्रमणका क्रममा बेलोसोभले उत्तर कोरियाका धेरै ‘सैन्य तथा राजनीतिक नेता’सँग वार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।
उनलाई प्योङयाङमा उत्तर कोरियाली समकक्षी नो क्वाङ चोलले स्वागत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
युक्रेनमा युद्ध सुरु भएदेखि नै रुस र उत्तर कोरियाले आफ्नो सैन्य सम्बन्ध बलियो बनाएका छन्।
उनीहरूले जुनमा रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए। सन्धिले आक्रमणको अवस्थामा एकअर्कालाई सैन्य सहायता प्रदान गर्न र पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न सहयोग गर्न बाध्य पार्छ।
अमेरिका र दक्षिण कोरियाले पनि आणविक हतियारद्वारा सुसज्जित उत्तर कोरियाले रूसलाई युक्रेनसँग लड्न मद्दत गर्न दस हजारभन्दा बढी सैनिक पठाएको आरोप लगाएको छ। विज्ञहरूले नेता किम जोङ उन उन्नत प्रविधि र आफ्नो सेनाका लागि युद्धको अनुभव प्राप्त गर्न उत्सुक भएको जनाएका छन्।
आणविक हतियार कार्यक्रम र युक्रेन युद्धका लागि उत्तर कोरिया र रूस दुवै संयुक्त राष्ट्रसंघद्वारा लगाएको प्रतिबन्धको सामना गरिरहेका छन्। रासस/एएफपी
Shares

प्रतिक्रिया