रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकलाई दिएको पछिल्लो चेतावनीबाट युरोप नडराउने टिप्पणी स्विडेनले शुक्रबार गरेको छ।
पुटिनले युक्रेनलाई हतियार आपूर्ति गर्ने पश्चिमा मुलुकविरुद्ध आक्रमण गर्ने सङ्केत गरेपछि स्विडेनी रक्षामन्त्री पाल जोन्सनले रुसको उक्साहटबाट स्विडेन नडराउने बताएका हुन्।
स्विडेनका मन्त्रीले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र र ड्रोन खरिदका लागि ‘पर्याप्त आर्थिक सहयोग’ गर्ने घोषणा गरेका थिए।
उनले भने, ‘हामीले पछिल्लो समय देखेको रुसी तनाव र उक्साहट हामीलाई युक्रेनका लागि समर्थन गर्नबाट तर्साउने प्रयास हो र त्यो असम्भव छ,’ जोन्सनले आफ्ना युक्रेनी समकक्षी रुस्टेम उमरोभसँग स्टकहोममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने।
उनले अगाडि भने, ‘युक्रेनलाई समर्थन गर्नु सही काम हो र यो विवेकी कुरा हो र यो हाम्रो आफ्नै सुरक्षामा लगानी हो। युक्रेनको सुरक्षा पनि हाम्रो सुरक्षा हो।’
जोन्सनले उमरोभसँग भने, ‘युक्रेनलाई अन्तर्राष्ट्रिय कानुनअनुसार आफ्नो भूभागभित्र र बाहिर आफ्नो रक्षा गर्ने पूर्ण अधिकार छ। हामीले लामो दूरी मार हान्नसक्ने क्षेप्यास्त्र र ड्रोन उत्पादन गर्ने तपाईंको क्षमता दुवैलाई थप विकास गर्न सकेकोमा हामी खुसी छौँ।’
राष्ट्रपति पुटिनले युक्रेनमा जारी द्वन्द्व ‘विश्वव्यापी’ युद्धको विशेषता भएको भन्दै रुसी भूमिमा प्रहार गर्न पश्चिमा हतियार प्रयोग गर्न किएभलाई अनुमति दिएकामा युक्रेनका सहयोगी राष्ट्रको आलोचना गरेका छन्।
हालैका दिनमा युक्रेनले पहिलोपटक अमेरिकी र बेलायतबाट ल्याएका क्षेप्यास्त्र रुसी भूमिमा प्रहार गरेको छ, जसले लगभग तीन वर्ष लामो द्वन्द्वमा रुसलाई थप चिन्तामा पारेको छ।
रुसी राष्ट्रपति पुटिनले भनेका छन्, ‘जसले उनीहरूका हतियारहरू हाम्रो सुविधाविरुद्ध प्रयोग गर्न अनुमति दिन्छ हामी पनि आफूलाई ती देशका सैन्य सुविधाविरुद्ध हाम्रा हतियार प्रयोग गर्ने हकदार ठान्छौँ।’ रासस/एएफपी
Shares

प्रतिक्रिया