ग्लोबल


पाकिस्तानमा २५ जन्ती बोकेको बस खोलामा खस्यो, १४ शव भेटियो

पाकिस्तानमा २५ जन्ती बोकेको बस खोलामा खस्यो, १४ शव भेटियो

बस दुर्घटनापछि उद्धारका क्रममा।


नेपालखबर
कात्तिक २८, २०८१ बुधबार १३:२४, गिलगिट, पाकिस्तान

उत्तरी पाकिस्तानको गिलगिट-बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ।

विवाह समारोहमा सहभागी भएर फर्केका २५ जना बोकेको बस मङ्गलबार राति नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले बुधबार एएफपीलाई जानकारी दिएको छ।

उद्धारका लागि घटनास्थमा खटिएका बजिर असद अलीले भने, ‘बसमा २५ जना सवार थिए र अहिलेसम्म १४ जनाको शव निकालिएको छ भने १० जना अझै हराइरहेका छन्।’

गिलगिट-बाल्टिस्तानको पहाडी क्षेत्रका प्रहरी अधिकारीले घटनाको पुष्टि गर्दै हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताएका छन्।

‘घटनामा घाइते अवस्थामा उद्धार गरिएकी बेहुली खतरामुक्त छिन् र उनको गिलगित अस्पतालमा उपचार भइरहेको छ,’ अलीले भने।

त्यस क्षेत्रका एक वरिष्ठ प्रहरी अधिकारी नाइक आलमले एएफपीलाई बताएअनुसार चालकले तीव्र गतिमा गाडी चलाएको जस्तो देखिन्छ।

दुलहाको परिवार विवाहका लागि ५०० किलोमिटर भन्दा बढी टाढा पञ्जाबबाट गिलगिट-बाल्टिस्तानमा गई बेहुली लिएर घर फर्कंदै गर्दा दुर्घटना भएको हो। 

पाकिस्तानमा सडक दुर्घटनाबाट हुने मृत्युदर अत्यधिक रहेको छ। यातायातका पूर्वाधार जीर्ण हुनु, पूराना सवारी साधनको प्रयोग, ट्राफिक नियमको पालनामा लापर्बाहीलगायतका कारण हुने सडक दुर्घटनाका कारण बर्सेनि हजारौँ मानिसले अकालमा ज्यान गुमाउने गर्छन्।

बलुचिस्तानको मकरान सामुद्रिक राजमार्गमा गत अगस्टमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो।

सोही महिना पञ्जाब प्रान्त र पाकिस्तान प्रशासित कस्मिरको सिमानामा पर्ने आजाद पट्टन सहरनजिकै एउटा बस सडकबाट खोल्सोमा खस्दा बसमा सवार २४ जनाको मृत्यु भएको थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad