जम्मु-कस्मिरका वरिष्ठ भाजपा नेता तथा नगरोटा विधानसभाका विधायक देवेन्द्र सिंह राणाको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र जम्मु-कस्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाले शोक व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले एक्स पोस्टमा लेखेका छन्- देवेन्द्र सिंह राणाको असामयिक निधनले स्तब्ध बनाएको छ। उहाँ एक वरिष्ठ नेता हुनुहुन्थ्यो, जसले जम्मु-कस्मिरको प्रगतिका लागि लगनशीलताका साथ काम गर्नुभयो। उहाँले हालै विधानसभा चुनाव जित्नुभएको थियो र जम्मु-कस्मिरमा भाजपालाई बलियो बनाउन पनि ठूलो भूमिका खेल्नुभयो। शोकको यस घडीमा उहाँको परिवार र समर्थकप्रति समवेदना छ।
देवेन्द्र सिंह राणाको निधनमा शोक व्यक्त गर्दै गृहमन्त्री अमित शाहले लेखेका छन्- जम्मु-कस्मिर भाजपाका वरिष्ठ नेता तथा नगरोटा विधानसभाका विधायक देवेन्द्र सिंह राणाको असामयिक निधनले म दुःखी छु। जम्मु-कस्मिरको शान्ति र विकास र जनताको हितमा सदैव समर्पित देवेन्द्रले यस क्षेत्रको प्रगतिमा अमूल्य योगदान दिनुभएको छ। उहाँको निधन भाजपा परिवारका लागि अपूरणीय क्षति हो। उहाँका परिवार र समर्थकहरूप्रति समवेदना प्रकट गर्दछु।
यस्तै जम्मु-कस्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाले लेखेका छन्- हिजो राति आएको डरलाग्दो खबरले म अक्क न बक्क भएँ। मलाई थाहा छ, पछिल्ला केही वर्षदेखि हामीबीच मतभेद थिए तर मलाई हामीले सँगै बिताएका पलहरू सम्झन मन पर्छ।
भाजपा नेता तथा विधायक देवेन्द्र सिंह राणाको बिहीबार हरियाणाको फरिदाबादको एक अस्पतालमा निधन भएको हो। उनी केन्द्रीय मन्त्री जितेन्द्र सिंहका भाइ थिए।
Shares

प्रतिक्रिया