भारतीय राज्य केरलाको पथनमथिट्टा जिल्लास्थित एक प्रहरी चौकीबाट थोमस थोमसलाई एउटा त्यस्तो अप्रत्याशित फोन आयो, जसले झन्डै ५६ वर्षअघि विमान दुर्घटनामा परी बेपत्ता दाइको खबर दियो।
बीबीसी हिन्दीका अनुसार सन् १९६८ मा गम्भीर मौसमी समस्याका कारण हिमाली क्षेत्रमा दुर्घटमा परेको इन्डियन एअर फोर्सको विमानमा सवार १०२ यात्रुमध्ये भारतीय सेनाका क्राफ्ट्सम्यान थोमस चेरिअन पनि थिए, जो उनका दाजु हुन्।
भारतको उत्तरी राज्य हिमाञ्चललाई भारत प्रशासित कस्मिरसँग जोड्ने रोहताङ भञ्ज्याङ माथिबाट उड्ने क्रममा उक्त विमान सम्पर्कविहीन भएको थियो।
त्यसयता आईएएफ एएन-१२ नामको उक्त विमानको अवस्था पत्ता लाग्न सकेको थिएन। बल्ल सन् २००३ मा आएर पर्वतारोहीको एउटा समूहले त्यस विमानका यात्रुमध्ये एकजनाको शव फेला पार्यो।
त्यसपछिका वर्षहरूमा सेनाको खोजी दलले थप ८ यात्रुको शव फेला पार्यो भने सन् २०१९ मा पहाडमा विमानको भग्नावशेष भेटियो।
केही दिनअघि मात्र चेरिअनसहित थप ४ जनाको शव सेनाले निकालेपछि ५६ वर्षअघिको त्यो विमान दुर्घटना फेरि चर्चामा आएको हो।
जब यो खबर आफ्नो परिवारसम्म आइपुग्यो तब थोमसले वर्षाैंदेखिको पीडा बिसाउन पाएजस्तो अनुभूति गरे।
बीबीसी हिन्दीसँग उनले भनेका छन्- मेरो त सासै फर्किएजस्तो भयो।
झन्डै २० मिटरको गहिराइसम्म हिउँमा गाडिएका धातुका वस्तु पत्ता लगाउन सक्ने ‘रेक्को रेडार’को सहायताले विमानका भग्नावशेष पत्ता लगाइएको थियो।
त्यसपछि खोजी टोलीले भग्नावशेष भएको ठाउँमा हातैले खोतल्न थाल्यो र एउटा शव फेला पार्यो।
लगत्तै हिउँनदीका खोँचमा थप ३ शव भेटिए।
चेरिअनको बर्दीमा ‘थोमस सी’ लेखिएकामा थर जनाउने ‘सी’ मात्रै बुझिने अवस्थामा थियो। तर उनको खल्तीमा भएका कागजातले उनको पहिचान भयो।
उनका भाइ थोमसका अनुसार परिवारका ५ सन्तानमध्ये चेरिअन दोस्रा थिए। दुर्घटनामा परेका बेला उनी मात्र २२ वर्षका थिए।
उनी लेहको हिमाली क्षेत्रमा आफ्नो पहिलो फिल्ड पोस्टिङमा जान उक्त विमान चढेका थिए।
सन् २००३ मा पहिलो शव भेटिएपछि मात्रै चेरिअनको नाम बेपत्ताको सूचीबाट हटाएर मृतकको सूचीमा समावेश गरिएको थियो।
थोमसले भनेका छन- बुवा सन् १९९० मा र आमा १९९८ मा बित्नुभयो, बाँचुञ्जेल (चेरिअनको) खबर आउँछ कि भनेर कुरिरहनुभयो.
चेरिअनसँगै दुर्घटनास्थलबाट हालसम्म जम्मा १३ यात्रुको मात्रै शव भेटिएका छन्।
यही अक्टोबर ३ मा अधिकारीहरूले भारतीय झण्डा बेरिएको चेरिअनको कफिन उनको परिवारलाई सुम्पियो भने भोलिपल्ट गाउँकै एउटा चर्चमा उनको अन्तिम संस्कार गरिएको छ।
थोमसको परिवारजस्तै हालै शव भेटिएका अन्य सैनिकका आफन्तले पनि एकसाथ शोक र राहत महसुस गरेका छन्।
Shares

प्रतिक्रिया