ad ad

ग्लोबल


सीसँग बाइडेनका सल्लाहकारको वाचा : ह्यारिसले चीनसँगको सम्बन्ध जिम्मेवारीपूर्वक सम्हाल्नेछिन्

सीसँग बाइडेनका सल्लाहकारको वाचा : ह्यारिसले चीनसँगको सम्बन्ध जिम्मेवारीपूर्वक सम्हाल्नेछिन्

नेपालखबर
भदौ १६, २०८१ आइतबार १७:१५,

अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकारले चिनियाँ नेताहरूलाई आउँदो चुनाव जिते कमला ह्यारिसले चीनसँगको सम्बन्धलाई जिम्मेवारीपूर्वक सम्हाल्ने विश्वास दिलाएका छन्। 

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले गतसाता बेइजिङ भ्रमण गरेका थिए। बिहीबार उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका थिए।

ह्यारिसले चीनप्रति बाइडेनको भन्दा शत्रुतापूर्ण रवैया नअपनाउनेमा चिनियाँ नेताहरूलाई आश्वस्त तुल्याउनु उनको भ्रमणको उदेश्य रहेको बताइएको छ।

‘चीनसँगको प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न आवश्यक छ, ताकि यो टक्करमा नबदलियोस् भन्ने राष्ट्रपति बाइडेनको विचारसँग ह्यारिस सहमत हुनुहुन्छ,’ राष्ट्रपति सीसँगको भेटपछि सलिभानले भने, ‘त्यसका लागि उच्चस्तरीय सञ्चारको माध्यम खुला राख्नुपर्ने उहाँको राय छ।’

पछिल्लो समय ह्यारिसले चुनाव जिते उनको प्रशासनले चीनसँगको सम्बन्धलाई कसरी सम्हाल्छ र त्यस विषयमा उनका निकट सल्लाहकार को हुन्छन् भनेर चीन चिन्तित देखिन्छ।

ह्यारिसले चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङसँग संक्षिप्त भेट गरे पनि चीनबारे उनको धारणा ज्यादा सार्वजनिक भएको छैन। उनले गत साता पार्टीको सम्मेलनमा एकपटक चीनको नाम लिएकी थिइन्। जसमा उनले भनेकी थिइन्, ‘म २१ औँ शताब्दीको प्रतिस्पर्धा चीनले होइन, अमेरिकाले जित्ने सुनिश्चित गर्नेछु।’

‘उपराष्ट्रपति ह्यारिस बाइडेनको विदेश नीति टिमको प्रमुख सदस्य हुनुहुन्छ,’ सलिभानले भने, ‘र, इन्डो–प्यासिफिकमा समग्र रणनीति रचना र कार्यान्वयनको हिस्सा रहँदै आउनुभएको छ।’

सीसँगको भेटको अलावा सलिभानले सबैभन्दा शक्तिशाली जर्नेलमध्ये एकलाई भेटेका थिए। उनले केन्द्रीय सैन्य आयोगका दुई उपाध्यक्षमध्ये जर्नेल चाङ युसियासँग भेटेका हुन्।

उनले द्विपक्षीय वार्ता भने विदेशमन्त्री वाङ यीसँग गरेका थिए। सो विस्तृत वार्ता दुई दिनसम्म चलेको थियो।

वार्तामा ताइवान, दक्षिण चीन सागर, रुसलाई चीनको समर्थनजस्ता विषय उठे पनि आफ्नो मुख्य लक्ष्य सम्बन्धलाई स्थिर राख्न संवाद कायम राख्नु भएको उनले बताएका छन्। ह्वाइट हाउसका अनुसार केही समयभित्र बाइडेन र सीबीच टेलिफोन संवाद हुनेछ। सम्भव भए बाइडेनले पद छाड्नुअघि उनीहरूबीच भेटको प्रयास पनि हुने सलिभानले बताए।

सलिभान र वाङबीचको वार्ता दुई मुलुकबीचको सम्बन्धलाई बिग्रिन नदिन बनाइएको ‘रणनीतिक च्यानल’को हिस्सा हो। जुन अमेरिका र चीनबीच तत्कालीन सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले ल्याएको तनाव व्यवस्थापन गर्न बनाइएको थियो। बालीमा भेट हुँदा सी र बाइडेनले सो ‘ब्याकच्यानल’ बनाउने निर्णय गरेका थिए। 

तर, ‘बेलुन काण्ड’ले उनीहरूबीचको तनाव अझ बढायो। चीनले अमेरिकी विदेशमन्त्रीको भ्रमण नै रद्द गरिदियो।

पहिलोपटक १० मे २०२३ मा अस्ट्रियाको भियनामा सलिभानले वाङलाई गुप्त रूपमा भेटेका थिए। सेप्टेम्बरमा माल्टामा उनीहरूबीच भेट भयो। जसले वाङको वासिङ्टन भ्रमणको बाटो खोल्यो। अक्टोबरमा बाइडेनलाई भेटेर वाङले सीको अमेरिका भ्रमण तय गरे।

सलिभान र वाङबीच जनवरी २०२४ मा थाइल्यान्डमा तेस्रो भेट भएको थियो। र, सलिभानको यो बेइजिङ भ्रमणमा चौथो चरणको वार्ता भएको हो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .