ad ad

ग्लोबल


इजरायलको जुनसुकै ठाउँमा हान्न सक्ने हेजबुल्लाह : यस्ता छन् उसका हतियार

इजरायलको जुनसुकै ठाउँमा हान्न सक्ने हेजबुल्लाह : यस्ता छन् उसका हतियार

साहिद १२९ ड्रोन


नेपालखबर
भदौ ९, २०८१ आइतबार १७:९,

हेजबुल्लाहले आक्रमण गर्ने थाहा पाएपछि त्यसलाई रोक्नका लागि भन्दै इजरायलले लेबनानमाथि आक्रमण थालेको छ। छिमेकी मुलुकमा इजरायलको आक्रमण नयाँ कुरा होइन। दशकौँदेखि उसले वरिपरिका देशमा आफूखुसी आक्रमण गर्दै आएको छ।

तर, हेजबुल्लाहसँगको लडाइँ भने इजरायलका पनि सजिलो नहुने विश्लेषकहरू बताउँछन्। किनभने हेजबुल्लाह सबैभन्दा आधुनिक हतियारले सुसज्जित गैरराज्य समूह मानिन्छ। इरानको समर्थन पाएको यो सिया समूह मुख्यगरी लेबनानमा सञ्चालित छ। 

अक्टोबर ८ मा गाजा युद्ध सुरु भएसँगै इजरायल र हेजबुल्लाहबीच हानाहान चल्दै आएको छ। पछिल्लो आक्रमणले क्षेत्रव्यापी युद्धको त्रास बढाएको छ। सो क्षेत्रमा तनाव घटाउने प्रयास असफल हुँदै आएका छन्। 

इजरायलको तुलनामा हेजबुल्लाहको सैन्य शक्ति निकै कमजोर छ। तर, सो समूहको शक्ति बढ्दो छ। र, उसले इजरायल र उसका सहयोगीहरूलाई ठूलो क्षति पुर्‍याउन सक्छ।

त्यस्तै हेजबुल्लाहको रणनीतिक गहिराइ पनि अन्य समूहको भन्दा ज्यादा छ। यमन, सिरिया, गाजा र इराकसहित यो क्षेत्रमै इरान समर्थित लडाकु समूहहरूको दबदबा छ। हेजबुल्लाहको ती अन्य समूहसँग साझेदारी छ। उनीहरू सबै इजरायलविरुद्ध छन्।

यमनमा हुती, इराकमा इस्लामिक प्रतिरोध, गाजामा हमास र लेबनानमा हेजबुल्लाहले मिलेर इजरायलविरुद्ध लडिरहेका छन्।

हेजबुल्लाहको शक्तिको उदय बेरुतको खण्डहरबाट १९८२ मा भएको थियो। जहाँ इजरायलले हमला गरेको थियो। त्यसबेला यो समूह लडाकुहरूको कमजोर जमात थियो। तर, त्यसपछि उसको शक्तिमा ठूलो वृद्धि भयो।

सन् २००० मा हेजबुल्लाहका गुरिल्ला लडाकुले दक्षिणी लेबनानबाट इजरायली सैनिकहरूलाई भाग्न बाध्य बनाए। जुन स्थान २० वर्षभन्दा बढी समय इजरायली फौजले अतिक्रमण गरेको थियो। 

२००६ मा इजरायलसँग हेजबुल्लाहको ३४ दिन लामो युद्ध भयो। त्यसबेला इजरायलले लेबनानलाई तहसनहस बनाए पनि यो समूह नष्ट गर्न सकेन।

२०१० को दशकमा पश्चिमाहरूको सहयोगमा सशस्त्र समूहले सिरियाका राष्ट्रपति बसर अल असदविरुद्ध गृहयुद्ध सुरु गरे। हेजबुल्लाहले असदलाई साथ दियो। सो समूहका लडाकुले झण्डै एक दशक लामो युद्ध लडे। जसले उनीहरूलाई सहरी युद्धकलामा पोख्त बनायो। त्यस्तै अन्य समूहको सहायतामा इरानबाट हतियार आयात गर्ने बाटो पनि उसले खोल्यो।

इजरायलसँगको दशकौँ लामो युद्धमा हेजबुल्लाहले असमान युद्ध लड्दै आएको छ। अर्थात् इजरायलको शक्ति कयौँ गुणा ज्यादा भए पनि उसले टक्कर दिँदै आएको छ र सो क्रममा आफ्नो सैन्य तथा राजनीतिक शक्ति पनि बढाउँदै लगेको छ।

तर, इजरायलसँग आमनेसामने युद्ध भएमा यो समूहलाई ठूलो क्षति हुन सक्छ। त्यसमाथि लेबनान झनै तहसनहस हुन सक्छ।

गत अक्टोबरयता मात्र हेजबुल्लाहले वरिष्ठ कमान्डरसहित ४ सयभन्दा बढी लडाकु गुमाइसकेको छ। 

इजरायलतर्फ पनि उत्तरी सीमाबाट ६० हजार मानिस विस्थापित भएका छन्। कयौँ सैनिक र सर्वसाधारण मारिएका छन्।

हानाहानमा इजरायलको निकै शक्तिशाली मानिने आइरन डोम क्षेप्यास्त्र प्रतिरोध प्रणाली भेदन गर्न पनि हेजबुल्लाह सफल भएको छ। खासगरी आइरन डोमलाई नै ताकेर आक्रमण गर्ने र ससाना क्षेप्यास्त्र र ड्रोनको ठूलो समूह पठाएर सो प्रणालीलाई उसले अस्तव्यस्त तुल्याउने गर्छ। जसका कारण उसको क्षेप्यास्त्र इजरायलको भित्री भागसम्म पुग्ने मौका पाउँछ।

इजरायली आक्रमणमा हेजबुल्लाह टिक्न सक्छ, सक्दैन भन्ने कुरा उसले इजरायलको शक्तिशाली प्रविधिलाई छल्न सक्छ कि सक्दैन भन्नेमा निर्भर छ। 

इरानमा निर्मित फतेह ११० क्षेप्यास्त्र

कति छ हेजबुल्लाहको शक्ति? 
हेजबुल्लाहसँग इजरायलको कुनाकुना प्रहार गर्न सक्ने हतियार रहेको बताइन्छ। उसँग भएका रकेटको संख्या करिब २ लाख भएको अनुमान छ। जसमा छोटो दुरीमा प्रहार गर्नेदेखि लिएर सयौँ किलोमिटर मारक क्षमता भएका क्षेप्यास्त्र समेत पर्छन्।

४० किमिसम्म प्रहार गर्ने कात्युसा, १० किमि प्रहार गर्ने फज्र १, फलक १, फलक २, १३ किमि प्रहार गर्ने साहिन, ७५ किमि प्रहार गर्ने फज्र ५ जस्ता क्षेप्यास्त्र हेजबुल्लाहसँग छन्। त्यस्तै, ७० किमि हारहारी प्रहार गर्ने राद २ र ३, १०० किमि प्रहार गर्ने खैबर १, १५० किमि प्रहार गर्ने जेलजाल १, २०० किमि प्रहार गर्ने जेलजाल २, ३०० किमि प्रहार गर्ने फतेह ११० र ५ सय किमि प्रहार गर्ने स्कुड क्षेप्यास्त्र पनि सो समूहसँग छ।

ड्रोनको कुरा गर्ने हो भने १२० किमि उड्ने मिर्साद १, १५० किमि पर पुग्ने मिर्साद २, १ हजार किमि पुग्ने करार र २ हजार किमि रेन्ज भएको साहिद १२९ पनि हेजबुल्लाहसँग छ।

२०२१ मा हेजबुल्लाहका नेता सइद हसन नसरल्लाहले आफ्नो समूहका १ लाख लडाकु भएको बताएका थिए। त्यसलाई अतिशयोक्ति मान्दा पनि हेजबुल्लाहसँग हजारौँ लडाकु रहेको स्पष्ट छ। 

हेजबुल्लाहसँग करिब ३० हजार सक्रिय र २० हजार रिजर्भ लडाकु रहेको अनुमान छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .