ad ad

ग्लोबल


अस्तित्वको संकटमा खामेनी : इजरायलविरुद्ध इरानले के गर्ला?

अस्तित्वको संकटमा खामेनी : इजरायलविरुद्ध इरानले के गर्ला?

नेपालखबर
भदौ ८, २०८१ शनिबार ८:४८,

हमासका नेता इस्माइल हनियाको हत्याले तेहरानको सत्ताको अँध्यारो सिँढीमा कायम नाजुक सन्तुलन खल्बल्याइदिएको छ। जुलाईको अन्त्यमा भएको सो हत्या इजरायलले गराएको अनुमान छ।

इरानका लागि सो हत्याको समय त्यहाँभन्दा खराब हुन सक्दैनथ्यो। भर्खर शपथ लिएका राष्ट्रपति मसुद पेजेस्कियान पदमा बानी पनि परेका थिएनन्, भयानक भूराजनीतिक अग्निज्वाला उनको टाउकोमा सल्किन आइपुग्यो।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका लागि हनियाको हत्या सिर्फ उक्साहट थिएन। यो उनका लागि अस्तित्वमाथिकै चुनौती थियो।

इरानभित्रैबाट प्रहार गरिएको क्षेप्यास्त्रबाट हनियाको हत्या भएको तेहरानको भनाइ छ। यो इरानको सार्वभौमसत्ताको ठाडो उल्लंघन थियो। जसले तेहरानलाई क्रुद्ध तुल्याइदियो। र, परमाणु हतियारको निर्माण, उपयोग र भण्डारणमा प्रतिबन्ध लगाउने गरी खामेनीले २००३ मा जारी गरेको फतवामाथि नै प्रश्न उठायो।

रणनीतिक प्रभाव
हनियाको हत्याअघि पनि खामेनीको फतवाले इरानको रणनीतिक प्राथमिकतालाई पूरा गर्न सहयोग गर्‍यो कि गरेन भन्नेबारे बहस जारी थियो।

खामेनीले शीतयुद्धको अन्त्यदेखि लिएर अफगानिस्तान, इराक र सिरिया युद्धका कारण अमेरिकाको अलोकप्रियतासम्मको अवस्था र विश्वका शक्तिशाली राष्ट्रसँग इरानले गरेको आणविक सम्झौताको दौरान इरानलाई मार्गनिर्देश गर्ने काम गरे। 

अहिले ८५ वर्षको उमेरमा उनले इरानको भविष्य सुरक्षित गर्नुपर्ने अवस्था छ। त्यसका लागि उनले युद्ध र शान्तिबीचको ‘ग्रे जोन’ मा चालबाजी देखाएर मात्र पुग्ने छैन।  

यसको प्रभावले मध्यपूर्वको रणनीतिक परिदृश्य नै बदलिदिन सक्छ। यतिबेला मध्यस्थकर्ताहरू गाजामाथि इजरायलको क्रुर युद्धमा विराम लगाउन प्रयास गरिरहेका छन्। र, हनियाको हत्याको महिना दिन पुग्न लाग्दा पनि बदलामा इरानले के गर्नेछ भनेर अझै संकेत दिएको छैन।

युद्धविरामको वार्ता अघि बढोस् भनेर इरानले इजरायलमाथिको आक्रमण रोकेको हो? यो प्रश्नमा राष्ट्रसंघका लागि इरानका स्थायी प्रतिनिधि आमिर सइद इरावानी भन्छन्, ‘इरानले बदला लिने समय सावधानीपूर्वक तय गरिनेछ, ताकि सो बदला अधिकतम आश्चर्यको घडीमा होस्।’

हनियाको हत्याले इरानमा कठोर बहस सिर्जना गरेको छ। कतिपयको तर्क छ– संयम अपनाउनु बुद्धिमानी हुन्छ। किनकि बदलामा हुने आक्रमणले इरानलाई दीर्घकालीन र महँगो द्वन्द्वमा धकेल्नेछ। जसले तेहरान र उसका क्षेत्रीय सहयोगीलाई कमजोर बनाउने छ।

संयम हुनुपर्छ भन्नेहरूको आशा छ– अहिले शान्त रहे भविष्यमा अमेरिकासँग वार्ता गर्दा सहयोग पुग्न सक्छ। जसले इरान–अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु गर्नेछ। जुन नेतन्याहुको उक्साहटको अझ गतिलो जवाफ हुनेछ।

तर, यो तर्कमा खामेनी सहमत भएनन्।

अगस्ट १४ मा अधिकारीहरूमाझ बोल्दै उनले शत्रुले प्रयोग गरेको मनोवैज्ञानिक युद्धबाट भयभीत हुन नहुने बताए।

कुरानको हरफ उधृत गर्दै उनले भने, ‘सैन्य होस् कि राजनीतिक, गैररणनीतिक फिर्ती ईश्वरीय प्रकोपको कारण बन्नेछ।’

तर, अहिलेसम्म उनले के गर्लान्, कुनै संकेत देखिएको छैन। तथापि, उनले जे गर्नेछन्, त्यसले मध्यपूर्वको राजनीतिक परिदृश्य बदल्नेछ।

त्यसमाथि आणविक प्रश्नले जटिलतालाई अझ बढाउँछ।

अहिलेसम्म इरानको परमाणु नीति शान्तिपूर्ण अणविक प्रविधि विकास गर्ने उसको अधिकार, खामेनीको फतवा र आणविक हतियार मुक्त क्षेत्रमा रहने अधिकारको वरिपरि केन्द्रित रहेको अधिकारीहरू बताउँछन्।

‘इरानको आणविक नीति अझै पनि इजरायलको जस्तो अस्पष्टताको श्रेणीमा पर्दैन,’ एक अधिकारी भन्छन्।

इजरायलले अहिलेसम्म आफूसँग आणविक हतियार भए/नभएको खुलाएको छैन। तर, गत वर्ष सेप्टेम्बरमा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको टिप्पणी र एक मन्त्रीले गाजामा आणविक बम हान्नुपर्ने राय दिएको कुरालाई इरानले खतराको रूपमा लिएको छ र उसलाई आफ्नो नीतिमा पुनर्विचार गर्न प्रेरित गरेको छ।

आणविक सम्झौताबाट अमेरिका एकतर्फी रूपमा पछि हट्नु पनि इरानको नीतिमा पुनर्विचारको अर्को कारण भएको ती अधिकारी बताउँछन्।

‘अमेरिकाले सम्झौता छाडेपछि के भयो?’ उनी सोध्छन्, ‘इरानले अमेरिकाको अधिकतम दबाबको नीतिको सामना गर्नुपर्‍यो।’

इरानले बदल्ला परमाणु नीति?
‘आतंकवादी कृत्य र इरानको सार्वभौमसत्ता उल्लंघन गरेकाले आक्रमणकारीलाई दण्डित गर्नुपर्छ। साथै इरानको निवारक क्षमता सुदृढ गर्नुपर्छ जसले इजरायललाई पछुतो होस्,’ राजदूत इरावानी भन्छन्।

सँगसँगै इरानको बदलाले गाजामा युद्धविरामको सम्भावनालाई बिगार्न नहुने पनि उनको भनाइ छ।
तर, त्यसो गर्न असम्भव छ।

यस सन्दर्भमा माथि उधृत अधिकारी भन्छन्, ‘इरानले आफ्नो सार्वभौमसत्ता कायम राख्न जरुरी छ। त्यसका लागि आफ्नो नीति बदल्ने विषयमा छलफल हुँदैछ। इजरायलसँग भएको आणविक हतियार नहटाए यो क्षेत्रमा आणविक हतियार विकासको होडबाजी चल्नेछ। र, इरानले पनि निश्चित रूपमा आफ्नो नीति पुनर्मूल्यांकन गर्नेछ।’

इजरायली र पश्चिमा अधिकारीहरू इरान आणविक बम निर्माणबाट मात्र एक महिना टाढा रहेको बताउँछन्। तर, ती अधिकारी नीति बदल्नुको अर्थ इरान आणविक हतियार विकासतर्फ अघि बढिहाल्छ भन्ने नभएको बताउँछन्।

त्यसले इरानका छिमेकीहरूलाई चिन्तित तुल्याएको छ। 

‘हामी आफ्नो छिमेकीलाई हाम्रो आणविक हतियारको क्षमताबारे आश्वस्त पार्न तयार छौँ,’ उनी भन्छन्, ‘तर, के हाम्रा छिमेकीहरू उनीहरूको हतियार खरिद र उनीहरूको भूमिमा अमेरिकी सैन्य अखडाको विषयमा हामीलाई आश्वस्त पार्न तयार छन्?’

जे भए पनि खामेनीको सामुन्ने सजिलो विकल्प छैन। उनका सबै विकल्प कठोर छन्, जसलाई उनले रोज्नुपर्नेछ। यो उनको धैर्यको परीक्षा हो। किनकि प्रत्येक विकल्पमा जोखिम छ र त्यसको परिणाम पनि अनिश्चित छ।

दाउ यति उच्च कहिल्यै थिएन। संसार तेहरानलाई हेरिरहेको छ र दशकौँयताको सबैभन्दा महत्त्वपूर्ण निर्णय लिन खामेनी संघर्षरत छन्। अल जजिराबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .