थाइल्यान्डमा यतिबेला लोकतन्त्रको नयाँ युग सुरु भइसक्ने थियो।
गत वर्षको चुनावमा मतदाताले झण्डै एक दशक लामो सैन्य शासनको विरुद्धमा मत दिए। उनीहरूले प्रगतिशील पार्टी र युवा नेतालाई समर्थन गरे।
तर, सो पार्टी र ती नेताले सत्ताको मुख देख्न पाएनन्। बरु चुनाव जितेको मुभ फरवार्ड पार्टीलाई अदालतको आदेशद्वारा विघटन गरियो। ती युवा नेतालाई १० वर्षका लागि राजनीतिबाटै प्रतिबन्ध लगाइयो।
उनीहरूको बाटो छेकेपछि सहमतिको सरकार गठन गरेका प्रधानमन्त्रीलाई पनि गतसाता सत्ताच्युत गरियो।
फलस्वरूप, शुक्रबार मुलुककै कान्छी र दोस्रो महिला प्रधानमन्त्री बन्न पुगिन् ३७ वर्षीया पेतोङत्रान सिनावात्रा। उनी आफ्नो खानदानबाट प्रधानमन्त्री बन्ने चौथो व्यक्ति हुन्।
थुप्रै मतदाताका लागि उनको उदय थाइल्यान्डको राजनीतिमा सेना र शाही समर्थकहरूको कति बलियो पकड छ भन्ने कुराको नयाँ प्रमाण हो। अदालत र सेनाको प्रयोग गरेर जनइच्छालाई कसरी दबाइन्छ भन्ने यस घटनाले देखाएको छ।
पेतोङत्रानको अचानकको उदयले केही समयका लागि राजनीतिक अनिश्चितता दूर गरेको छ। तर, यसले मतदाताको निराशालाई बढाउने काम मात्रै गरेको छ।
तत्कालीन प्रधानमन्त्री श्रेत्ता थविसिनलाई संवैधानिक अदालतले अपदस्थ गरेलगत्तै दुई दिन लामो मोलमोलाइले पेतोङत्रानलाई प्रधानमन्त्री बन्ने बाटो खोलिदियो। संसदमा बहुमत पुर्याउन २४७ मत चाहिएकोमा उनले ३१९ मत पाइन्। अन्य उम्मेदवार थिएनन्।
‘मलाई आशा छ, मुलुकलाई अघि बढाउने मैले राम्रो गर्न सकूँ,’ व्यग्र मुद्रामा पत्रकारसामु उभिएकी उनले भनिन्, ‘मेरा हात कामिरहेका छन्।’
उनले प्रधानमन्त्री पद स्वीकार गरेको देखेर कतिपय मानिस चकित छन्। उनीनिकट मानिसहरूका अनुसार पहिले उनी यो पद लिन अनिच्छुक थिइन्। मुलुकको नेतृत्व गर्न उनको अनुभव साह्रै कम देखिन्छ। किनकि यसअघि उनले शासन सञ्चालनमा कुनै पनि प्रत्यक्ष पद लिएकी छैनन्।
तर, उनी थाक्सिन सिनावात्राकी छोरी हुन्। ती अर्बपति, जसले कुनै समय प्रधानमन्त्रीका रूपमा मुलुक हाँकेका थिए।

थाक्सिनको उदय र पतन
१९४९ मा उत्तरी सहर चियाङ माइमा जन्मेका थाक्सिनले प्रहरी अधिकारीका रूपमा आफ्नो करिअर सुरु गरेका थिए। १९७३ मा अमेरिका गएर आपराधिक न्याय विषय पढ्न उनले सरकारी छात्रवृत्ति पाए।
फर्केपछि भने उनले व्यवसाय सुरु गरे। १९८० को दशकको अन्त्यतिर सुरु गरेर उनले केही समयमै दूरसञ्चार साम्राज्य खडा गरे।
१९९८ मा उनले थाइ राक थाइ पार्टी गठन गरे। जसको तीव्र उदयले मुलुकको राजनीति नै बदलिदियो।
र, २००१ मा उनले चुनाव पनि जिते। खासगरी गरिब मतदाताले उनलाई पत्याए। किनकि उनले सस्तो स्वास्थ्योपचार, ऋण मिनाहा र ब्यांककका सम्भ्रान्तविरुद्ध राष्ट्रवादी अडान अघि सारेका थिए।
ठूलो कम्पनीहरूले पनि उनलाई मन पराए। किनकि उनी सीईओजसरी सरकार चलाइरहेका थिए। जसका कारण थाइल्यान्डको अर्थतन्त्रमा उछाल आयो।
२००४ मा सुनामीपछि राहतमा खेलेको भूमिकाका लागि पनि थाक्सिनलाई समर्थन प्राप्त भयो।
तर बर्डफ्लुको समाचार दबाएको, लागुऔषधविरुद्धको अभियानमा २५ बढीको ज्यान गएको घटनामा उनको आलोचना भयो। उनले आफ्नो सबै सम्पत्ति घोषणा नगरेको पनि खुलासा भयो।
तर, उनको पतनको बाटो खोल्ने घटना भने २००६ को सुरुमा भयो। जतिबेला थाइल्यान्डको सबैभन्दा ठूलो टेलिकम ग्रूप सिन कर्पमा रहेको परिवारको सेयर बेच्ने निर्णय उनले गरे। करिब २ अर्ब डलर फाइदा हुनेगरी सेयर बेचेपछि थाइल्यान्डका जनता उनीसँग रिसाए। उनले कर छलेको र राष्ट्रिय सम्पत्ति सिंगापुरका लगानीकर्तालाई हस्तान्तरण गरेको भन्दै उनीहरू क्रुद्ध भए।
ठुल्ठूला प्रदर्शन हुन थालेपछि थाक्सिनले अप्रिल २००६ मा चुनाव गराउने घोषणा गरे। तर, विपक्षी दलहरूले चुनाव बहिष्कार गरे।
त्यसपछि उनले राजीनामा दिए। तर, केही साताका लागि मात्रै। मेमा पुनः उनी प्रधानमन्त्री भए।
त्यही वर्षको सेप्टेम्बरमा राजनीतिक अस्थिरताका बीच सेनाले सत्ता हातमा लियो। जतिबेला प्रधानमन्त्री थाक्सिन विदेशमा थिए। उनी बेलायत गएर बस्न थाले।
सैन्य कूपछि २००७ मा चुनाव भयो। जसमा आफ्नै सहयोगीहरूले चुनाव जितेपछि थाक्सिन थाइल्यान्ड फर्किए। उनले आफूलाई कसैले नछुने आशा गरेका थिए। तर, सेनाको बलमा लागू गरिएको संविधानअनुसार अदालत निकै बलियो बनेको थियो। अदालतले उनीविरुद्ध भ्रष्टाचार मुद्दा अघि बढायो।
पहिले उनकी श्रीमती अनि उनी स्वयंलाई जेल सजाय सुनाइयो।
२००८ को बेइजिङ ओलम्पिकमा गएका थाक्सिन फर्केनन्। जसका कारण उनी फरार भए। श्रीमतीसँग सम्बन्धविच्छेद भयो। सजाय निलम्बन भएपछि उनी ब्यांककमै बस्छिन्।
थाक्सिन भने धेरैजसो समय दुबईमा बसे।

थाक्सिनको समर्थनप्राप्त दलहरूले बारम्बार चुनाव जिते पनि उनीहरू सत्तामा टिक्न सफल रहेनन्। थाइ रक थाइको उत्तराधिकारी पार्टीलाई २००८ मा अदालतले भंग गरिदियो।
२०११ मा थाक्सिनकी बहिनी यिङलक सिनावात्राले विशाल बहुमत हासिल गरिन्। उनलाई पनि २०१४ मा कू गरेर हटाइयो। त्यसपछि उनी विदेशमा बस्न थालिन्।
२०१९ मै फेउ थाइ पार्टीले सबैभन्दा बढी सिट जित्यो। तर, सो पार्टीलाई सरकार बनाउन दिइएन।
सोही घटना २०२३ को मेमा दोहोरियो। प्रगतिशील मुभ फरवार्ड पार्टीले चुनाव जित्यो। तर, उसलाई सरकार बनाउन दिइएन। नेता पिता लिम्जारोन्रातलाई प्रतिबन्ध लगाइयो।
यो घटनाले थाक्सिनलाई थाइल्यान्ड फर्किने मौका दियो। किनकि उनको फेउ थाइ पार्टीले सेनासँग सम्बन्ध भएका अन्य दुई पार्टीसँग सत्ता साझेदारीको सम्झौता गर्यो।
करिब १७ वर्ष निर्वासनमा रहँदा पनि थाक्सिन सदा मुलुकको राजनीतिमा छाइरहे। उनकै पार्टी र उनैले रोजेका उम्मेदवारले चुनाव जितिरहे।
प्रधानमन्त्री बन्ने निश्चित भएपछि गत बिहीबार साँझ पेतोङत्रानले आफू बुवासँग निकट रहेको र उनले आफूलाई सल्लाह दिइरहने बताइन्।
उनका लागि सिनावात्रा नाम प्रमुख सम्पत्ति र मुख्य कमजोरी दुवै बन्न सक्छ। किनकि उनको परिवार जहिले पनि सेना र राज परिवारको निसानामा पर्दै आएको छ। उनको बुवा र फूपु मात्रै होइन, उनका मामा सोमचाइ वङसावत पनि प्रधानमन्त्री बनेका थिए। तर, २००८ मा संवैधानिक अदालतले उनको पार्टीलाई भंग गर्दै पदच्युत गरिदिएको थियो।

पेतोङत्रानको सत्तारोहणको अर्थ हो, थाइल्यान्डको राजनीतिमा थाक्सिनको पुनरागमन। उनलाई थाइल्यान्ड भित्र्याउनुमा उनका विरोधी दलहरूको हात छ।
गत वर्षको चुनावमा मतदाताको रोजाइमा मुभ फरवार्ड पार्टी परेपछि सेनानिकट ती दलहरू चकित परे। राजपरिवारको आलोचना गर्दा जेल जानुपर्ने कानुन परिवर्तन गर्ने घोषणा गरेको पार्टीले जित्दा उनीहरू तर्सिनु स्वाभाविक थियो। उनीहरू जसरी पनि त्यो पार्टीलाई सिध्याउन चाहन्थे। त्यसका लागि चुनावमा दोस्रो भएको पार्टी फेउ थाइको समर्थन प्राप्त गर्नु अनिवार्य थियो।
र, फेउ थाइले अन्ततः कट्टरपन्थी पार्टीहरूसँग हातेमालो गर्यो। अहिले उनको पार्टीले ११ वटा पार्टीसँग गठबन्धन गरेको छ। थाक्सिन अचानक थाइल्यान्ड फर्केपछि लेनदेन के थियो, स्पष्ट भयो। आठ वर्ष सजाय तोकिएका उनी एक दिन पनि जेल नबसी सजायमुक्त भए।
तर, पछिल्लो समय संस्थापनसँग उनको दूरी बढ्दै गएको छ। जुनमा उनीविरुद्ध राजपरिवारको अपमान गरेको भन्दै मुद्दा परेको छ। यतिबेला उनका शिष्य श्रेत्ता पदबाट गलहत्याइए।
र, अब चर्चामा रहने पालो आएको छ उनकै छोरीको। जसलाई थाक्सिनका प्रतिस्पर्धीहरूले नजिकबाट नियालिरहनेछन्।

सत्तामा ‘ड्याडिज् गर्ल’, आमा चाहन्नथिन् उनी प्रधानमन्त्री बनून्
थाइल्यान्डमा उङ इङ उपनामले चिनिने उनले गत चुनावमा पार्टीको नेतृत्व गरेकी थिइन्। नौ महिनाको गर्भावस्थामा रहेकी उनले चुनावी र्यालीहरूमा भाषण गरिन्। जसका कारण उनी निकै लोकप्रिय भइन्।
चुनावको केही दिनअघि उनले दोस्रो सन्तान जन्माएकी थिइन्।
उनकी आमा पोतामन पार्टीमा अझै पनि शक्तिशाली छिन्। उनको चाहना भने छोरी प्रधानमन्त्री नबने हुन्थ्यो भन्ने थियो। किनकि छोरीमाथि कानुनी झमेला आइपर्ने र भोलि निर्वासनमा जानुपर्ने डर थियो।
यसअघिको उनको एक मात्र अनुभव भनेको सिनावात्रा परिवारको स्वामित्वमा रहेको रेन्डे होटल ग्रूपमा गरेको काम हो। सो होटल म्यानेजमेन्ट कम्पनीकी उपकार्यकारी प्रमुख थिइन् उनी।
राजनीतिमा लाग्ने उनको सोच थिएन। त्यसकारण पार्टी सदस्य पनि थिइनन्। २०२१ मा मात्र उनी सो पार्टीमा प्रवेश गरेकी हुन्। त्यसैले प्रधानमन्त्री पदमा उनको निर्वाचनलाई राजनीतिक धरापमा प्रवेशका रूपमा पनि हेरिएको छ।
उनले आफूलाई दयालु पुँजीवादी र सामाजिक रूपमा उदार व्यक्तिका रूपमा प्रस्तुत गरेकी छन्। तर, उनले आफूलाई चित्रित गर्न बोलेको ‘ड्याडीज् गर्ल’ भने मानिसहरूले सबैभन्दा बढी याद राख्नेछन्। सरकारमा उनले जे गरे पनि उनले बुवाको निर्देशन पालना गरेको आरोप लागिरहनेछ।
चुनाव, पार्टी विघटन, आन्दोलन र सैन्य कूको अनन्त चक्रमा परेका करिब सवा सात करोड थाइ जनताका लागि भने फेरि विगतकै पुनरावृत्ति महसुस भइरहेको छ।
यस्तो राजनीतिका कारण कुनैबेला उदाउँदो अर्थतन्त्र धरमराउन थालेको छ। अहिले यो क्षेत्रकै कमजोर अर्थतन्त्र बन्न पुगेको छ। मुलुकका थुप्रै युवा पेसेवरहरू थाइल्यान्ड छोड्ने क्रममा छन्।
‘यसले के देखाउँछ भने थाइ जनताको मतको कुनै कदर छैन। किनभने एकै हप्तामा अदालतले १ करोड ४० लाख मतदाताको मत मिल्काइदियो र लोकतान्त्रिक रूपले निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ पनि गर्यो,’ सिंगापुरको आईएईएसका अध्येता नापोन जातुश्रीपिताक भन्छन्, ‘मेरोलागि यो अदालती कूजस्तै हो। जसले चुनावी नतिजालाई बेकार मात्र बनाएन, भविष्यमा लोकतान्त्रिक रूपमा निर्वाचित सरकारको शक्ति खोस्नसक्ने खतरनाक नजिर पनि बसायो।’
तर, सबै निराश छैनन्। थाइल्यान्डको एउटा अचम्मको विशेषता के हो भने शीर्ष तहमा जतिसुकै दमन भए पनि मतदाता र नागरिकको तहमा राजनीतिक सहभागिता कम हुँदैन। नागरिक समाजका सदस्यहरू बोल्न डराउँदैनन्। एजेन्सी
Shares

प्रतिक्रिया