ad ad

ग्लोबल


बंगलादेशमा भारतको चाहना : बरु अन्तरिम शासन लम्बियोस्, खालिदा जियाको पार्टी सत्तामा नफर्कियोस्

बंगलादेशमा भारतको चाहना : बरु अन्तरिम शासन लम्बियोस्, खालिदा जियाको पार्टी सत्तामा नफर्कियोस्

नेपालखबर
साउन २२, २०८१ मंगलबार १६:५५,

‘गएको एक वर्षमा हामीले १० पटक भेटघाट गर्‍यौँ। तर, यो भेट विशेष छ किनकि हाम्रो सरकारको तेस्रो कार्यकालको पहिलो राजकीय पाहुना शेख हसिना हुनुहुन्छ,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत जुनमा हसिनासँगको संयुक्त पत्रकार सम्मेलनमा भनेका थिए।

मोदीको शपथग्रहणमा सहभागी भएको दुई साता नपुग्दै उनी दिल्लीमा राजकीय भ्रमणमा आएकी थिइन्।

‘बंगलादेश भारतसँगको सम्बन्धलाई विशाल महत्त्व दिन्छ,’ जवाफमा हसिनाले भनेकी थिइन्, ‘हामीले कतिधेरै गरेका छौँ, गर्ने योजनामा छौँ, त्यो हेर्न बंगलादेश आउनुहोस्।’

तर, त्यसको दुई महिना नपुग्दै हसिना पुनः भारत आएकी छन्। तर, बिल्कुलै भिन्न परिस्थितिमा।

राजीनामा दिएर देशबाट भागेकी हसिनालाई मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले दिल्लीभन्दा ३० किमि टाढाको हिन्डन विमानस्थलमा स्वागत गरे। उनको भविष्य के हुन्छ, अनिश्चित छ।

तर शेख हसिनाको आगमनले दिल्लीमा कूटनीतिक तापक्रम बढाएको छ।

विदेशमन्त्री एस जयशंकरले बंगलादेशको परिस्थितिबारे सोमबार साँझ प्रधानमन्त्री मोदी र मंगलबार बिहान सर्वदलीय बैठकलाई जानकारी गराए। दिउँसो उनले संसदलाई पनि जानकारी गराए।

हसिनाले अपर्झट भारत आउने अनुमति मागेको र बंगलादेशको घटनाक्रमबारे नियालिरहेको बताएका छन्।

त्यसका अलावा भारतले हालसम्म बंगलादेशको सत्तापलटबारे खास प्रतिक्रिया जनाएको छैन। किनकि भारतसँग ज्यादा केही गर्ने विकल्प पनि छैन।

भारतले अब के गर्ने भन्ने विषयमा विदेशनीतिका जानकार ह्याप्पीमन ज्याकब एक्समा लेख्छन्, ‘केही पनि नगर्ने। अहिलेलाई केही पनि नगर्ने। घटनाक्रम अझै विकसित हुँदैछ। र, यो भारतको विषयमा भएको पनि होइन। यो बंगलादेको आन्तरिक राजनीति हो। उनीहरूलाई नै निष्कर्षमा पुग्न दिऊँ।’

अमेरिकी थिंक ट्यांक विल्सन सेन्टरका माइकल कुगलम्यान भने आफ्नो हितको रक्षाका लागि भारतले बंगलादेशको सेनासँग कुरा गर्नसक्ने बताउँछन्। 

‘त्यसबाहेक भारतले हेर्न र बेचैनीका साथ पर्खिन सक्छ। भारतले बंगलादेशमा निष्पक्ष चुनावलाई समर्थन गर्न सक्छ। तर, बीएनपी सत्तामा फर्केको ऊ रुचाउँदैन,’ कुगलम्यानको भनाइ बीबीसीले उधृत गरेको छ, ‘त्यसकारणले बरु अन्तरिम सरकारले लामो समय शासन चलाए पनि दिल्लीले विरोध नगर्ने सम्भावना छ।’

हसिना सरकारको पतन दिल्लीका लागि सबैभन्दा खराब नतिजा भएको उनको भनाइ छ। 

‘किनकि दिल्लीले हसिना र उनको पार्टीको विकल्पलाई लामो समयदेखि भारतीय स्वार्थका लागि खतरा मान्दै आएको छ,’ उनी भन्छन्।

जनवरीमा भएको चुनाव बीएनपीले बहिष्कार गरेको थियो। 

हसिना र उनको पार्टीलाई भारतले समर्थन गरेकै कारण पनि बंगलादेशमा भारतविरोधी भावना व्याप्त छ। त्यसमा ऐतिहासिक गुनासा र हस्तक्षेपको आरोप पनि अरु कारक हुन्।

इलिनोइ युनिभर्सिटीका राजनीतिशास्त्री अली रियाज भने भारतले डेढ दशक हसिनाको सरकारलाई समर्थन गरेर बंगलादेशमा लोकतन्त्रको क्षयीकरणलाई सघाएको बताउँछन्।

अहिले परिस्थिति अनिश्चित छ।

‘यस्तोमा भारतसँग ज्यादा विकल्प छैन,’ बीबीसीले एक वरिष्ठ भारतीय कूटनीतिज्ञको भनाइ उधृत गरेको छ, ‘हामीले सीमामा सुरक्षा कडा पार्नुपर्छ। त्यसबाहेक अरु केही गरे त्यसलाई हस्तक्षेपका रूपमा अर्थ्याइनेछ।’ एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .