ad ad

ग्लोबल


जहाँ बच्चाको भन्दा वृद्धको डाइपर ज्यादा बिक्री हुन्छ

कम्पनीहरुले बन्द गर्दैछन् बच्चाको डाइपर उत्पादन
जहाँ बच्चाको भन्दा वृद्धको डाइपर ज्यादा बिक्री हुन्छ

नेपालखबर
चैत १४, २०८० बुधबार १४:४,

जापानको एउटा डाइपर उत्पादन कम्पनीले बच्चाका लागि अब डाइपर उत्पादन नगर्ने बताएको छ। बरु, वयष्कहरुका लागि डाइपर उत्पादन गर्ने सो कम्पनीको भनाइ छ।

ओजी होल्डिङ्स यस्तो परिवर्तन गर्ने पछिल्लो कम्पनी हो। जन्मदर हालसम्मकै कम हुँदा जापानी जनसंख्या तीव्र गतिमा बुढो हुँदै गएको छ।

एक दशकअघि नै जापानमा शिशुहरुको डाइपरभन्दा वृद्धहरुको डाइपर ज्यादा बिक्न थालेको थियो।

सन् २०२३ मा ७ लाख ५८ हजार ६३१ बच्चा जन्मेका थिए। त्यो अघिल्लो वर्षको भन्दा ५.१ प्रतिशत कम हो।

१९औँ शताब्दीयता यो जापानमा एक वर्षमा भएको सबैभन्दा कम जन्म हो। १९७० को दशकमा जापानमा वार्षिक २० लाखभन्दा बढी बच्चा जन्मिन्थे।

ओजी कम्पनीले शिशुका लागि वार्षिक ४० करोड डाइपर उत्पादन गर्ने गर्छ। २००१ मा यो संख्या ७० करोड थियो।

२०११ मै जापानको सबैभन्दा ठूलो डाइपर उत्पादक युनिचार्मले शिशुको भन्दा वृद्धहरुको डाइपर ज्यादा बिक्न थालेको बताएको थियो।

वृद्धहरुको डाइपर बजार बढ्दैछ। हाल वार्षिक २ अर्ब डलरभन्दा माथिको बजार रहेको आकलन गरिन्छ। 

हाल जापानको जनसंख्याको ३० प्रतिशत हिस्सा ६५ वा सोभन्दा बढी उमेरको छ। 

गत वर्ष पहिलो पटक ८० वर्षभन्दा माथिकाहरुको हिस्सा जनसंख्याको १० प्रतिशत नाघेको छ। 

ओजी होल्डिङ्सले मलेसिया र इन्डोनेसियामा भने बच्चाका लागि डाइपर उत्पादन जारी राख्ने बताएको छ।

विश्वको ठूलोमध्यको एउटा अर्थतन्त्र जापानमा न्यून जन्मदर संकट बनिसकेको छ। यसलाई समाधान गर्ने सरकारी प्रयास असफल हुँदै आएको छ। 

बालबालिकासम्बन्धी कार्यक्रमको बजेट बढाउँदा र युवा दम्पतीहरुलाई लक्षित गरी अनुदान सुविधा दिँदा पनि जन्मदर बढेको छैन। विज्ञहरुका अनुसार यसको कारण जटिल छ। न्यून विवाह दरदेखि श्रमशक्तिमा महिलाको सहभागिता र बच्चा हुर्काउँदाको महँगो लागतसम्मका कारणले जन्मदर कम भएको उनीहरुको भनाइ छ।

‘हामी एक समाजका रुपमा सञ्चालित हुन सक्छौँ कि सक्दैनौँ भन्न सँघारमा छौँ,’ प्रधानमन्त्री फुमियो किसिदाले गतवर्ष भनेका थिए।

तर, यस्तो समस्या भोगिरहेको मुलुक जापान एक्लो होइन। प्रजनन् दर हङकङ, सिंगापुर, ताइवान र दक्षिण कोरियामा घटिरहेको छ।

२०२३ मा लगातार दोस्रो पटक चीनको समेत जनसंख्या घटेको छ। उसले पनि जापानले जस्तै जन्मदर बढाउन अनेक उपाय लगाएको छ। तर, दशकौँसम्म कायम रहेको एक सन्तान नीति तथा बुढो हुँदै गएको जनसंख्याले चीनका लागि चुनौती सिर्जना गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .