ad ad

ग्लोबल


भारतबाहिर पनि शक्ति प्रदर्शनमा मोदी, आबुधाबीमा मन्दिर उद्घाटन गर्दै

भारतबाहिर पनि शक्ति प्रदर्शनमा मोदी, आबुधाबीमा मन्दिर उद्घाटन गर्दै

नेपालखबर
माघ २९, २०८० सोमबार १९:३५,

गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा एउटा विवादास्पद मन्दिर उद्घाटन गरे, जहाँ सदियौँ पुरानो मस्जिद थियो। यो साता उनले अर्को हिन्दु मन्दिर उद्घाटन गर्दैछन्। तर, भारतमा होइन, आबुधाबीको मरुभूमिमा।

यूएईका राष्ट्रपति शेख मुहम्मद बिन जायद अल नाह्यान (एमबीजेड) ले  ‘घाम लागेसम्मका लागि’ लिजमा दिएको २७ एकड जमिनमा एउटा भव्य मन्दिर तयार गरिएको छ। चुनावी वर्षमा यसले मोदीलाई विदेशी लगानी ल्याउन सक्ने विश्व नेताको रुपमा चित्रित गर्न सघाउँछ।

मोदीको भ्रमणका बेला दुई मुलुकबीच लगानीसम्बन्धी सम्झौता हुने अपेक्षा गरिएको छ। फेब्रुअरी १३ का दिन मोदीले आबुधाबीको एक रंगशालामा ४० हजार जनालाई सम्बोधन पनि गर्नेछन्।

यो धर्म, राजनीति र पैसाको अनौठो मिश्रण हो। यूएईका राष्ट्रपति गत महिना मोदीको गृहराज्य गुजरात पुग्दा मानिसहरुको भिडले झण्डा हल्लाएर स्वागत गरेको थियो।

यूएईको राजकीय धर्म इस्लाम हो। जबकि मोदीको भारतीय जनता पार्टीसँग भारतीय मुस्लिमहरुको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ। 

तैपनि भारतको बढ्दो भूराजनीतिक महत्व र विश्वको सबैभन्दा छिटो वृद्धि भइरहेको प्रमुख अर्थतन्त्रका रुपमा भारतको हैसियतको सराहना आबुधाबीमा हुन थालेको त्यहाँका अधिकारीहरु बताउँछन्। जसले गर्दा भारतसँगको मतभिन्नता त्याग्नुु रणनीतिक रुपले यूएईका लागि महत्वपूर्ण रहेको उनीहरु बताउँछन्।

मोदीले एमबीजेडलाई आफ्नो भाइजस्तै भनेको पुजारी ब्रह्माबिहारीदास स्वामीले बताए। भारत र यो क्षेत्रको सम्बन्ध यति सुमधुर कहिल्यै नभएको उनको भनाइ थियो।

ठूलो व्यापारिक सम्झौताको विषयमा छलफल हुँदैछ। भारत मध्यपूर्वको तेलको प्रमुख ग्राहक हो। यहाँबाट उसले थप ग्यास किन्दैछ।

अर्कोतिर यूएआई र अन्य खाडी मुलुक भारतका प्रमुख लगानीकर्ताका रुपमा उदाएका छन्। यूएईका राष्ट्रिय सुरक्षा सल्लाहकार शेख तहनुन बिन जायद अल नाह्यानको निजी लगानी कम्पनी रोयल ग्रुपको भारतसँग लामो समयदेखि निकट सम्बन्ध छ। हालै उनको एआई कम्पनीले जी४२ इन्डिया एन्टरप्राइजेज होल्डिङ आरएसी लिमिटेड नामक नयाँ संस्था खोलेको छ।

गत वर्ष नै यूएईले भारतमा ५० अर्ब डलर लगानीको तयारी गरिरहेको चर्चा थियो। त्यो लगानी सबै आउँछ, आउँदै स्पष्ट छैन। तर, कुनै सम्झौता भए त्यो मोदीका लागि आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध देखाउने मौका बन्नेछ।

राजनीतिक रुपले पनि यी दुई मुलुक नजिक हुँदै गएका छन्। २०१४ मा प्रधानमन्त्री भएयता मोदीको अबको यूएई भ्रमण सातौँ हो। उनीअघि यूएई भ्रमण गर्ने अन्तिम प्रधानमन्त्री इन्दिरा गान्धी (१९८१) थिइन्। 

२०२१ मा यूएईले भारत र पाकिस्तानबीच शान्ति सम्झौता गर्न मध्यस्थता गरेको थियो। पछिल्लो समय भारत सहभागी ब्रिक्सको सदस्य बन्न यूएईलाई पनि निम्त्याइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनसहित विश्व नेताहरु मोदीलाई रिझाउन लागेका देखिन्छन्।

‘पछिल्ला वर्षहरुमा स्थापित सम्बन्धबाट यूएई र भारतलाई आर्थिक र भूराजनीतिक दुवै तरिकाले फाइदा पुग्छ,’ नयाँ दिल्लीस्थित अवकाशप्राप्त कर्मचारी तथा अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक टमस म्याथ्यु भन्छन्, ‘अमेरिका र पश्चिमा ब्लकले पनि पनि यो सम्बन्ध बलियो बनाउन जोड दिइरहेका छन् किनकि यसले चीनको महत्वाकांक्षालाई रोक्न सघाउ पुग्छ।’

यो क्षेत्रका अन्य मुलुकले पनि भारतसँग सम्बन्ध सुदृढीकरणको प्रयास गरेका छन्। २०१९ मा साउदी अरबले भारतमा १०० अर्ब डलर लगानी गर्ने बताएको थियो। सेप्टेम्बरमा युवराज मोहम्मद बिन सलमानको भारत भ्रमणमा यी योजना तीव्र गतिमा लागू गर्ने विषयमा छलफल भयो।

अर्बपतिहरु गौतम अदानी र मुकेश अम्बानीले यूएईमा ठूलो लगानी गरेका छन्। बदलामा सरकार समर्थित संस्थाहरुबाट उनीहरुले लगानी प्राप्त गरेका छन्।

पछिल्लो समय भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर प्रस्ताव गरिएको छ। गत वर्ष जनवरीमा अमेरिकाले अघि सारेको यो ३ हजार माइल लामो करिडोरले चीनको बीआरआईलाई टक्कर दिने अपेक्षा गरिएको थियो। तर, इजरायल–हमास युद्धका कारण यो प्रयास हाललाई पछि सरेको छ। ब्लुमबर्गबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .