गर्भवतीलाई सामूहिक बलात्कार गरेर दोषी ठहर भई सजाय काटिरहेकाहरुलाई छाड्ने गुजरात सरकारको निर्णयलाई भारतको सर्वोच्च अदालतले उल्ट्याइदिएको छ।
बिल्किस बानोलाई बलात्कार गरेका ११ जनालाई गत वर्ष गुजरात सरकारले जेलमुक्त गरिदिएको थियो।
बानोको परिवारका १४ जनको हत्यासमेत गरेका उनीहरुलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो।
सन् २००२ को मुस्लिमविरोधी गुजरात दंगामा हिन्दू अतिवादीहरुको समूहले बानोको परिवारमाथि आक्रमण गरेका थिए।
अगस्ट २०२२ मा उनीहरुलाई छाड्ने निर्णयको विश्वभर विरोध भएको थियो।
बलात्कार र हत्या आरोपमा सजाय काटिरहेका उनीहरुलाई मुक्त हुँदा ठूलो ठाँटबाँटका साथ स्वागत गरिएको थियो।
उनीहरुलाई भारतको स्वतन्त्रता दिवसका दिन छाडिएको थियो।
त्यसविरुद्ध सर्वोच्च अदालतले कयौँ आवेदन सुनुवाइ गरेको थियो। बानोले पनि अदालतमा सो निर्णयविरुद्ध आवेदन दिएकी थिइन्।
सोमबार त्यसविरुद्ध फैसला सुनाउँदै दुई सदस्यीय इजलासले सो सजाय महाराष्ट्रमा अवस्थित अदालतले तोकेको हुनाले गुजरात राज्य सजाय कटौती गर्न योग्य नभएको बताएको छ। एजेन्सी
Shares

प्रतिक्रिया