ad ad

ग्लोबल


इजरायलको आधुनिक हतियारलाई टक्कर दिन हमासले अपनाएको छापामार युद्धकला

गाजा युद्धमा कस्तो रणनीति अख्तियार गर्दैछ इजरायली सेना?
इजरायलको आधुनिक हतियारलाई टक्कर दिन हमासले अपनाएको छापामार युद्धकला

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १९:१३,

सुरुको एक महिना आकासबाट बमवर्षा भयो। त्यसपछि इजरायली बख्तरबन्द गाडी र स्थल फौज बमबारीको आडमा गाजामा प्रवेश गर्‍यो। जसले घेराबन्दीमा परेको गाजालाई दुई भागमा विभाजित गरेको छ र हमास सैन्य रुपले बलियो रहेको उत्तरी गाजालाई एक्ल्याएको छ। 

इजरायली सेनाले गाजा सहरमा यो साता गरेको घेराबन्दी उसले हमास लडाकु समूहलाई सिध्याउन चालेको पछिल्लो कदम हो। तर, यो कदमले इजरायली सेनाको स्रोतसाधन अत्यधिक खर्च हुनुका साथै आमनेसामनेको लडाइँमा उसका सैनिकमाथि खतरा पनि उत्पन्न गर्नेछ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डका पूर्वअधिकारी जो बुचिनो भन्छन्, ‘इजरायली सेनालाई सघन सहरी लडाइँमा तानिनेछ। सहरमुनि हमासको सुरुङ सञ्जाल छ। त्यसले प्रतिरक्षा गर्ने शक्तिलाई निकै ठूलो फाइदा हुन्छ। इजरायली सेनाले एकपछि अर्को जटिलता सामना गर्नुपर्नेछ। यो निकै कठिन हुनेछ। अहिले त त्यसको सुरुवात पनि भएको छैन।’

इजरायली सेना यो क्षेत्रको सबैभन्दा आधुनिक सेना हो। पछिल्ला दशकहरुमा टाढाका खतरासँग जुध्न उसले आफूलाई तयार पार्दै आएको छ। सिरियामा हमला गर्नेदेखि इरान र उसका प्रोक्सीहरुसँग जुध्ने तयारी उसले गरेको छ।

तर, अहिले उसको लडाइँ हमाससँग हो। जो अक्टोबर ७ मा कम्तीमा १४ सय इजरायलीको ज्यान जानेगरी भएको हमलाका लागि जिम्मेवार छ। इजरायली अधिकारीहरुका अनुसार हमाससँग लडाइँको अर्थ हो– यही युद्धका लागि वर्षौं तयारी गरेका लडाकुहरुसँग तेल अविवबाट एक घण्टाको दुरीमा रहेको सहरी वातावरणको लडाइँमा उत्पन्न हुने जटिलताहरुसँग भिज्न तयार हुनु। यही साता १२ सय माइल टाढा उड्न बनाइएको एफ–३५ विमानलाई इजरायली सेना तैनाथ भएको स्थानबाट मात्र २ सय मिटर अगाडिको निसानामा प्रहार गर्ने काम सुम्पिइएको थियो।

जब इजरायली सेना गाजामा प्रवेश गर्‍यो, हमास लडाकुहरुले उनीहरुको आपूर्ति मार्गमा समस्या खडा गरे। हमास लडाकुहरु गुप्त सुरुङ र नष्ट भएका भवनहरुबाट निस्केर ट्यांकेदी क्षेप्यास्त्र र ग्रिनेड प्रहार गर्न अभ्यस्त छन्। त्यस्तो एक आक्रमणमा १० इजरायली सैनिक मारिए।

‘कुरा छापामार युद्धमा फर्कियो,’ गाजामा लडाइँको अनुभव लिएका एक पूर्व इजरायली सैनिकले भने।

‘त्यसमाथि बन्धक छन्,’ बुचिनो थप्छन्। हमासले २४० जनालाई गाजामा बन्धक बनाएको छ।

इजरायलको महिना दिन लामो बमबारीबाट १० हजारभन्दा बढी गाजाबासी मारिइसकेका छन्। विनाश यति भइसकेको छ कि राष्ट्रसंघ र अन्य संस्थाहरुले गाजामा मानवीय संकट उत्पन्न भइरहेको चेतावनी दिइरहेका छन्।

सञ्चार सम्पर्कविच्छेदका कारण इजरायली सेनाको प्रगति मूल्यांकन गर्न कठिन छ। तर, स्याटलाइट तस्बिर अनि वर्तमान र पूर्व इजरायली सैनिक तथा सैन्य विज्ञहरुसँगको अन्तर्वार्ताले गाजा सहरमा आउँदो लडाइँ कस्तो होला भन्ने छनक दिन्छ। जुन सहरमा लडाइँअघिको आबादी ६ लाख थियो।

सैन्य अधिकारी तथा विश्लेषकहरुको भनाइमा इजरायलको उदेश्य गाजाका गल्लीगल्लीमा लडाइँ लड्नु होइन, जसरी अमेरिकी नेतृत्वको फौजले दोस्रो इराक युद्धमा फलुजाको गल्लीमा लडेको थियो। त्यसको सट्टा गाजाको केही हिस्सा खाली गराएर त्यसलाई सहरी आक्रमणका लागि आफ्नो शिविरका रुपमा उपयोग गर्ने इजरायली सेनाको योजना छ। यसको नतिजा भनेको ससाना क्षेत्रमा शृंखलाबद्ध रुपमा ससना लडाइँहरु हुनेछन्। 

इजरायलको राष्ट्रिय सुरक्षा परिषदका पूर्व उपप्रमुख इतामार यार भन्छन्, ‘आफ्नो मुख्य उदेश्य पूरा गर्न इजरायली सेनाले गाजा सहरको प्रत्येक इन्च भूमि नियन्त्रणमा लिनुपर्छ भन्ने छैन। उनीहरुले महत्वपूर्ण देखेको हरेक क्षेत्र पालैपालो कब्जामा लिनेछन्।’

त्यस्तो प्रत्येक आक्रमणको उदेश्य भनेको हमास र उसका सैन्य पूर्वाधारबारे नयाँ सूचना संकलन गर्नु हो। त्यसपछि इजरायली सेना पछि हट्नेछ र हवाई आक्रमण गरिनेछ। फेरि यही प्रक्रिया दोहोरिनेछ।

त्यस्तै, इजरायली सेनाले आफ्नो ध्यान अक्टोबर ७ को हमलाका योजनाकार तथा हमासका उच्च नेताहरुबाट हटाएर लडाइँको नेतृत्व गरिरहेका कमान्डरहरुमा केन्द्रित गरेको छ। ‘यसले हमासको प्रत्याक्रमण गर्ने क्षमतालाई धेरै हदसम्म कमजोर बनाउनेछ,’ इजरायली सेनाका एक प्रवक्ताले भने।

अबको बाटो जटिल छ। इजरायली सेनाले गाजाको सबभन्दा ठूलो अल सिफा अस्पताल नियन्त्रण गर्ने संकेत गरिसकेको छ। यसमुनि हमासले मुख्यालय बनाएको उसको दाबी छ। 

तर, सिफाजस्तो स्थान कब्जामा लिन ‘स्थिर शक्तिबाट गतिशील शक्ति बन्नुपर्छ,’ लडाइँको अनुभव लिएका ती इजरायली सैनिकले भने।

त्यसका लागि पैदल सेनाले आफ्नो बख्तरबन्द गाडी छाड्नुका साथै सडकमा अवरोध कायम राख्नुपर्ने हुन्छ र आफूलाई पनि बचाउनुपर्ने हुन्छ। इजरायली हवाई आक्रमणबाट सिफा अस्पताल वरिपरिका दर्जनौँ भवनहरु ध्वस्त भइसकेका छन्।

हमासले भने सैन्य उदेश्यका लागि सिफा अस्पताललाई उपयोग गरेको आरोपको खण्डन गरेको छ। त्यो अस्पतालमा आक्रमण गर्ने इजरायलको बहाना मात्र भएको उसको भनाइ छ।

इजरायली सेनाले आफ्नो हातहतियार गाजापट्टीको वारपार सारेर भूमध्यासगरसम्म पुर्‍याइसकेको छ। अर्थात् गाजालाई सम्पूर्ण रुपले घेरिसकेको छ।

उत्तरी गाजामा कति मानिस बाँकी छन्, स्पष्ट छैन। इजरायलले गत महिना त्यहाँका बासिन्दालाई दक्षिणतर्फ सर्न भनेको थियो। इजरायलले त्यहाँ केही लाख मानिस बाँकी भएको बताइरहँदा गाजाको गृह मन्त्रालयले ९ लाख मानिस रहेको बताएको छ।

यही साता इजरायली सेनाले केही तस्बिर सार्वजनिक गरेको थियो। जसमा सयौँ प्यालेस्टाइनी हात उठाएर ठाउँ खाली गरेर हिँडिरहेका देखिन्थे।

घना आबादी भएका दुई शरणार्थी शिविर जबालिया र अल सतीमा पनि इजरायलले हवाई हमला गरेको छ। त्यहाँ अब इजरायली सेनाले के गर्छ, स्पष्ट छैन। कब्जामा लिने हो भने पनि ती सजिला निसाना हुनेछन्। तर, शरणार्थीको भीडमा इजरायली सेनाको तस्बिर हमासका लागि विश्वभर प्रचार गर्ने सामग्री बन्नेछ।

स्थलयुद्धका साथसाथ सूचना युद्ध पनि चलिरहेको छ। इजरायली सेनाले बाल स्काउट घर र मस्जिदमा रकेट लन्चर भेटेको दाबी गरेको छ। हमास मानव ढालको प्रयोग गर्छ भन्ने उसको दाबीलाई यस्ता प्रचारले सहयोग पुग्छ।

हमासले पनि आफ्नै भिडिओ तयार गरेको छ। एउटा भिडिओमा एक जना हमास लडाकु आफ्नो रकेट लन्चर इजरायली बख्तरबन्द सवारीलाई ताकिरहेका हुन्छन्। उनले ट्रिगर दबाएपछि ग्रिनेड गएर सवारीमा विस्फोट हुन्छ। लगत्तै जयध्वनि सुनिन्छ। तर, त्यो सवारी ध्वस्त भएको प्रमाण भने देखिँदैन।

‘यो समग्र प्रचारयुद्धको हिस्सा हो। जहाँ हरेक सामरिक गतिविधि रणनीतिक रुपले महत्वपूर्ण हुन्छ,’ लन्डनस्थित थिंक ट्यांक रोयल युनाइटेड सर्भिसेजका अध्येता स्यामुएल क्य्रानी एभान्स भन्छन्, ‘तर, यो घटनामा रकेटबाट प्रहार गरिएको ग्रिनेडले लाग्दैमा सवारी ध्वस्त हुन्छ भन्ने छैन। इजरायलको आधुनिक बख्तरबन्द सवारीले केही आक्रमण झेल्न सक्छ।’

तथापि, इजरायलका परिष्कृत कवचका पनि आफ्ना सीमा छन्। इतान नामक नयाँ झ्यालबिनाका सवारी कम भएकाले पुराना नामेर सवारी प्रयोग गरिएको छ। गतसाता एउटा त्यस्तो सवारी हमासको ट्रयांकप्रतिरोधी क्षेप्यास्त्रको आक्रमणमा पर्दा भित्र रहेका १० इजरायली सैनिकको मृत्यु भयो।

इजरायली सेनाले गाजा सहरलाई घेर्ने रणनीति अपनाएपछि लडाइँको गति पनि बदलिएको सैन्य विश्लेषक इदो हेक्त बताउँछन्। अक्टोबर ३१ देखि लडाइँ सघन बनेको उनको भनाइ छ।

इजरायली सेनाको एउटा कार्यनीति भनेको डी९आर बुलडोजरको प्रयोग हो। सुरुङ बन्द गरिरहँदा आफ्नो सेनालाई गोलीबारीबाट बचाउन यसले खाल्डो खन्छ। ड्रोनबाट खसाइएको ग्रिडेनबाट बच्न ट्यांकहरुमा पनि नयाँ धातुका पट्टा जडान गरिएका छन्।

सिंगो क्षेत्रमा ड्रोन फैलाइएको छ। तिनले पठाएको प्रत्येक तस्बिर अगाडिको तस्बिरभन्दा के फरक छ भनेर तुलना गर्ने अल्गोरिदम जडान जगरिएको छ। जुनसुकै परिवर्तन पनि विश्लेषण गरिन्छ र खतरा पहिचान गरिन्छ। 

तर, जसरी गाजा अभेद्य छैन, त्यसैगरी इजरायली सेनाको अत्याधुनिक प्रविधि पनि अभेद्य छैन। हमासले गतसाता एउटा भिडिओ सार्वजनिक गर्‍यो, जसमा ड्रोनले गोलबद्ध भएर बसिरहेका इजरायली सैनिकहरुमाथि ग्रिनेड खसाइरहेको देख्न सकिन्थ्यो।

भिडिओको अन्तिम फ्रेममा कम्तीमा आधा दर्जन इजरायली सैनिकहरु जमिन अचल पल्टिएका देखिन्थे। 

(फाइनान्सियल टाइम्सबाट) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .