ad ad

ग्लोबल


सिक्किममा किन फुट्यो हिमताल? डरलाग्दो विनाशको कारण के?

सिक्किममा किन फुट्यो हिमताल? डरलाग्दो विनाशको कारण के?

बाढीले तहसनहस सिक्किम


नेपालखबर
असोज १८, २०८० बिहिबार २१:४२, काठमाडौँ

सिक्किमको टिस्टा नदीमा मङ्गलबार र बुधबार राति आएको बाढीका कारण २२ सैनिकसहित सयभन्दा बढी व्यक्ति अझै बेपत्ता छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार घटनामा हालसम्म १४ जनाको मृत्यु भइसकेको छ।

सिक्किममा बाढीबाट प्रभावित हुनेको संख्या २० हजारभन्दा बढी रहेको बताइएको छ।

भारतीय एजेन्सीहरू उनीहरूलाई बचाउन युद्धस्तरमा उद्धारमा खटिरहेका छन्।

यस्तै विज्ञहरूको टोली यस प्राकृतिक प्रकोपका कारणहरू बुझ्न प्रयास गरिरहेको छ।

बाढी आउनुको कारण के हो?
सिक्किमको टिस्टा नदीमा आएको बाढी आउनुको कारण लोनाक नामको पहाडी तालमा अचानक आएको परिवर्तन ठानिएको छ।

हालसम्म प्राप्त जानकारीअनुसार बाढी आउनुअघि तालमा पानीको सतह बढेपछि ठूलो मात्रामा पानी बगेको थियो।

जुन पानीले सिक्किमको चाङ्थाङ बाँध भत्काएको छ, जुन सिक्किमको सबैभन्दा ठूलो जलविद्युत परियोजना हो।

यो टिस्टा स्टेज थ्री १२०० मेगावाट जलविद्युत परियोजनाको हिस्सा हो, जसमा सिक्किम सरकार एक प्रमुख हिस्सेदार हो।

हैदराबादस्थित नेसनल रिमोट सेन्सिङ सेन्टरले जारी गरेको स्याटेलाइट तस्बिरहरूले सेप्टेम्बर १७ मा खिचिएका तस्बिरहरूसँग तुलना गर्दा तालको आकार १०० हेक्टरले घटेको देखाएको छ।

केन्द्रीय जल आयोगका एक शीर्ष अधिकारीले पीटीआईलाई भनेका छन्– करिब १६८ हेक्टर क्षेत्रफलमा फैलिएको यो विशाल पहाडी ताल पहिले नै जोखिमपूर्ण अवस्थामा थियो। अहिले यसको क्षेत्रफल घटेर ६० हेक्टरमा पुगेको छ, जसले झण्डै १०० हेक्टरमा रहेको पानी तालबाट बाहिर निस्किएको सङ्केत गर्छ।

हाल ताल फुट्नुको कारण पत्ता लगाउन गाह्रो भए पनि बादल फुट्दा त्यस्तो अवस्था नआउने पनि ती अधिकारीले बताए।

हिमताल किन फुट्यो?
इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट नामक संस्थासँग सम्बद्ध शीर्ष जलवायु परिवर्तन विशेषज्ञ अरुण बी श्रेष्ठले पीटीआईसँग भनेका छन्– अहिलेसम्म यस दुर्घटनासँग सम्बन्धित जानकारी टुक्राटुक्रा रूपमा बाहिर आइरहेका छन्।

उनका अनुसार बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रका कारण भएको भारी वर्षाले गर्दा उक्त दुर्घटना भएको देखिन्छ।

सोही संस्थानसँग सम्बद्ध क्रायोस्फियर विशेषज्ञ मिरियम ज्याक्सनले पीटीआईसँग भनेकी छन्, ‘भारी वर्षाका कारण सिक्किममा यस्तो भयावह अवस्था सिर्जना भएको हो। वर्षाका कारण हिमनदी ताल फुटेर निस्केको पानीले बाँध भत्कायो। यस्ता ठूला घटना हुने क्रम बढ्दै गएको हामीले देखिरहेका छौं। किनभने हावापानी तात्दै गएको छ र यसले हामीलाई एउटा अवस्थातर्फ लगिरहेको छ, जसका बारेमा हामीलाई केही थाहा छैन।’

नेसनल रिमोट सेन्सिङ सेन्टरका अनुसार सिक्किममा ७३३ हिमताल छन्, जसमध्ये २८८ ताल ५००० मिटरको उचाइमा छन्।

दक्षिण एसिया नेटवर्क अफ डेम्स, रिभर्स एन्ड पिपलका अनुसार, लोनाक सिक्किमको उत्तर–पश्चिमी भागमा अवस्थित हिमनदीको मोराइन ताल हो।

यो सिक्किमको हिमालय क्षेत्रमा द्रुत रूपमा बढिरहेको तालमध्ये एक हो।

तालमा पानीको बहाव एक्कासी बढेपछि यस क्षेत्रका १४ ताल बाढीको जोखिममा छन्।

यो ताल ५,२०० मिटरको उचाइमा अवस्थित छ। लोनाक हिमनदी पग्लिएर यो ताल बनेको हो। यो ताल असाधारण रूपमा बढिरहेको छ।

यसको कारण तालको छेउमा रहेको लोनाक हिमनदीका विभिन्न भाग पग्लनु र त्यसको पानी तालमा जम्मा हुनु हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .