ad ad

ग्लोबल


फुकुशिमा विषयमा अफवाह फैलाइएको भन्दै चिनियाँ राजदूतसँग जापानद्वारा सोधपुछ

फुकुशिमा विषयमा अफवाह फैलाइएको भन्दै चिनियाँ राजदूतसँग जापानद्वारा सोधपुछ

नेपालखबर
भदौ ११, २०८० सोमबार २०:१४, काठमाडौँ

जापानले फुकुशिमा आणविक ऊर्जा केन्द्रबाट पानी छोडेपछि स्थानीय व्यवसायीलाई चीनले गरेको आह्वानको विरोधमा सोमबार चिनियाँ राजदूतसँग सोधपुछ गरेको छ।

उपविदेशमन्त्री मासाटाका ओकानोले राजदूत वु जियाङहाओलाई चीनले ‘वैज्ञानिक प्रमाणमा आधारित नभएको सूचना उपलब्ध गराएर अनावश्यक रूपमा जनताको चिन्ता उठाउनुको साटो जनतालाई उचित जानकारी दिनुपर्ने’ बताएका छन्।

टोकियो र संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले जापानले फुकुशिमा प्लान्टबाट चिसो पानी छोड्न थालेपछि गत साता चीनले आफ्नो छिमेकी मुलुकबाट आयात हुने सबै समुद्री खानामा प्रतिबन्ध लगाएको थियो।

त्यसयता बेकरीदेखि एक्वेरियमसम्मका जापानी व्यवसायहरूले चिनियाँ नम्बरहरूबाट कहिलेकाहीं अपमानजनक ‘क्रैङ्क कल’हरू प्राप्त गरेका जापानी अधिकारीले बताएका छन्।

चीनमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यी कलहरूको रेकर्डिङ र भिडियोहरू पोस्ट गरेका छन्, जसमध्ये केहीले दशौं हजार लाइक र ठूलो सङ्ख्यामा टिप्पणीहरू आकर्षित गरेका छन्।

‘फुकुशिमाको पानी समुद्रमा छोड्न सुरु भएदेखि नै यस बारेमा धेरै फोन कलहरू र अन्य उत्पीडनहरू भएका छन् जुन चीनबाट सम्प्रेषित भएको आशङ्का गरिएको छ। त्यसयता स्थितिमा सुधार आएको छैन,’ ओकानोले वुसँग भने।

‘चीनमा पनि जापानसँग सम्बन्धित सुविधाविरुद्ध यस्ता थुप्रै घटना भइरहेका छन्। यो अत्यन्त खेदजनक छ र हामी गम्भीरपमा चिन्तित छौं,’ विज्ञप्तिमा भनिएको छ।

जापानको दूतावासले चीनमा रहेका दशौं हजार जापानीलाई लो प्रोफाइल राख्न र सार्वजनिक स्थलमा चर्को स्वरमा नबोल्न आग्रह गरेको छ।

दूतावासले सोमबार चीनस्थित जापानी विद्यालय र कूटनीतिक नियोगबाहिर सुरक्षा व्यवस्था बढाएको जनाएको छ।

जापानी सञ्चारमाध्यमका अनुसार जापानी विद्यालयमा ढुङ्गा र अण्डा फ्याँकिएका थुप्रै घटना भएका छन्।

सुनामीले विश्वको सबैभन्दा खराब आणविक दुर्घटनामध्ये एकमा तीन रिएक्टरहरू ध्वस्त पारेको १२ वर्षपछि जापानले फुकुशिमाबाट ५०० भन्दा बढी ओलम्पिक स्विमिङ पुलको क्षमता बराबरको पानी प्रशान्त महासागरमा छोड्न सुरु गरेको छ।

प्लान्ट अपरेटर टेप्कोका अनुसार ट्रिटियमबाहेक सबै रेडियोधर्मी तत्वहरू फिल्टर गरिएको छ, जसको स्तर सुरक्षित सीमाभित्र छ।

जापानी अधिकारीहरूका अनुसार फुकुसिमा प्लान्टको पानी छोड्न सुरु भएदेखि परीक्षणको नतिजाले यो पुष्टि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .