ad ad

ग्लोबल


भारत नआउने भए रूसी राष्ट्रपति पुटिन, गिरफ्तारीको डर या अरु नै कारण?

भारत नआउने भए रूसी राष्ट्रपति पुटिन, गिरफ्तारीको डर या अरु नै कारण?

फाइल तस्बिर


नेपालखबर
भदौ ११, २०८० सोमबार १४:२४, काठमाडौँ

भारतको अध्यक्षतामा नयाँ दिल्लीमा ९ र १० सेप्टेम्बरमा हुन लागेको जी-२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन्।

उक्त सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडन, ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनक, चीनका राष्ट्रपति सी चिनफिङ, साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानसमेत विश्वका शीर्ष नेता सहभागी हुँदैछन।

तर यस समय विश्व राजनीतिको केन्द्रमा रहेका  पुटिन भने दिल्ली नआउने पक्का भएको छ।

पुटिनका प्रेस सचिव दिमित्री पेस्कोफले रूसका सञ्चारमाध्यमसँग कुरा गर्दै यस पटकको जी-२० शिखर सम्मेलनमा भाग लिन दिल्ली जाने कार्यक्रम नभएको बताए।

पेस्कोफले भने, ‘पुटिन दिल्लीमा हुन गइरहेको जी-२० सम्मेलनमा जाने योजना बनाइरहेका छैनन्। अहिले युक्रेनमा विशेष सैन्य अभियान नै सबैभन्दा अहम मुद्दा हो।’

पुटिनले तत्कालै टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनको निम्तोमा अंकारा जान सक्नेछन्। उनले त्यहाँ काला सागरमा ग्रेन (काला सागरमार्फत गहुँ निर्यातसँग जोडिएको)  सम्झौतामाथि चर्चा गर्ने सम्भावना छ।

टर्कीका समचार माध्यमका अनुसार पुटिनले यही अगस्ट अन्त्यमा अंकाराको भ्रमण गर्ने तयारी थियो। तर अहिले अगस्ट अन्तिम चलिरहेको छ, अब यो भ्रमण पनि रद्द भएको आशंका छ।

जी-२० शिखर सम्मेलनमा पुटिनको अनुपस्थितिलाई विश्व समुदायले पनि अनौठो मानेको छैन। हालै मात्र दक्षिण अफ्रिकामा भएको ब्रिक्स (ब्राजिल, रूस, इन्डिया, चीन र दक्षिण अफ्रिका) को शिखर सम्मेलनमा पनि पुटिन अनुपस्थित थिए। 

पुटिन पछिल्लो वर्ष इन्डोनेसियाको बालीमा भएको जी-२० सम्मेलनमा पनि सहभागी भएका थिएनन्। 

दक्षिण अफ्रिकामा ब्रिक्स सम्मलेन र बालीको जी-२० सम्मेलनमा पुटिनको साटो विदेश मन्त्री सर्गेई लाभरोफ सहभागी भएका थिए। 

पुटिन जी-२० शिखर सम्मेलनमा अनुपस्थित भएको यो पहिलो पटक भने होइन। सन् २०१४ मा अस्ट्रेलियाको ब्रिसबेनमा जी-२० सम्मेलन हुँदा पनि उनलाई बोलाइएको थिएन। 

युक्रेन युद्धपछि पुटिनले आफ्नो विदेशी भ्रमण सीमित गरेका छन्। तर पनि उनी सन् २०२२ मा ताजीकिस्तान र तुर्कमेनिस्तान पुगेका थिए। 

यसका अलावा पछिल्लो साल पुटिन एससीओ सम्मेलनमा उज्बेकिस्तान गएका थिए। त्यहाँ उनको भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेताहरुसँग भएको थियो। 

यसै वर्ष १७ मार्चमा अन्तरराष्ट्रिय अपराध अदालतले पुटिनविरुद्ध  गिरफ्तारी वारेन्ट जारी गरेको थियो। यो वारेन्ट अवैध रूपमा युक्रेनका बालबालिकालाई रुस लगेको भन्दै जारी गरिएको थियो। 

पुटिनका अलावा रूसका बाल अधिकार आयुक्त एलेक्सियेभना लभोभा बेलोभाविरुद्ध पनि वारेन्ट जारी भएको छ।

तर युक्रेन र रूस दुवै देश अन्तरराष्ट्रिय अपराध अदालत (आईसीसी) का सदस्य छैनन्। सन् २०१५ मा युक्रेनले आफ्नो भूमिमा भएको अपराधका लागि आईसीसीको अधिकार क्षेत्र स्वीकार गरेको थियो। 

मार्च २०२२ म अभियोजक करिम खानले मानवताविरुद्धको अपराध, कथित नरसंहारको आरोपको जाँच थालेका थिए।

दक्षिण अफ्रिका आईसीसीको सदस्य छ। यस्तोमा पुटिन यदि जोहानिसबर्ग गएका भए दक्षिण अफ्रिकाले पुटिनको गिरफ्तारीमा सघाउनुर्ने हुन सक्थ्यो।

समाचार अनुसार आईसीसीका १२३ सदस्य राष्ट्र गिरफ्तारी वारेन्ट लागू गर्न सहयोगका लागि बाध्य हुन्छन्। 

तर भारत भने आईसीसीको सदस्य नभएकाले पुटिनको गिरफ्तारीका लागि सहयोग गर्न बाध्य हुने छैन।

सुडानका पूर्व राष्ट्र प्रमुख ओमर हसन अल बशिरले सन् २०१५ मा भारत-अफ्रिका फोरममा भाग लिन नयाँ दिल्ली यात्रा गरेका थिए।

त्यसबेला आईसीसीले भारतसँग उनको गिरफ्तारीमा सहयोग गर्न भनेको थियो। तर भारतले यसबारे कुनै जवाफ नै दिएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .