रे वुको आवेदन विचाराधीन छ। चियाङ्सु प्रान्तको एक विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय वुले चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यताका लागि सो पार्टीको १०२ औँ वर्षगाँठ अर्थात् जुलाई १ का दिन आवेदन दिएका थिए।
पार्टीप्रति आफ्नो ‘वफादारी’ प्रदर्शन गर्न उनले बडो मेहनतसाथ त्यो आवेदन हातले लेखे। ‘यसलाई मैले पार्टीमा सामेल हुन अतिरिक्त प्रयास गर्ने मेरो इच्छाको परीक्षाका रुपमा लिएको छु,’ उनले भने।
उनको आवेदन एक सातापछि विश्वविद्यालयको पार्टी गतिविधि हेर्ने इन्चार्जले स्वीकार गरे। तर, यो पार्टीमा सामेल हुने लामो प्रक्रियाको सुरुवात मात्र हो।
अब उनले पार्टी कमिटीहरुले गर्ने कडा राजनीतिक परीक्षणको चरणबाट गुज्रिनुपर्छ। जुन परीक्षण दुई वर्षसम्म चल्छ। यो अवधिमा पार्टी कमिटीले उनी पार्टीको आदर्शलाई साँच्चै अपनाउँछन् कि अपनाउँदैनन्, अनि उनी नेतृत्वप्रति वफादार छन् कि छैनन् भनेर हेर्छ।
वुसँगै कम्युनिस्ट पार्टीमा सामेल हुने आशामा करोडौँ चिनियाँहरु प्रतीक्षारत छन्। जुन पार्टीले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको निर्णय प्रक्रियामा एकाधिकार कायम गरेको छ।

तैपनि वु र भविष्यका उनका कमरेडहरुको लामो यात्रा झनझन् कठिन हुँदै गएको छ। विभिन्न चिनियाँ विश्वविद्यालयहरुको बेवसाइटमा राखिएको पार्टी कमिटीको निर्देशनहरुका अनुसार गत केही वर्षमा सदस्यता आवेदन दिनेहरुले अझ कठोर राजनीतिक परीक्षणको सामना गर्नुपरिरहेको छ।
जुनमा केन्द्रीय संगठन विभागले नयाँ पार्टी सदस्यहरुको संख्या सार्वजनिक गरेको थियो। त्यसले आवेदकमध्ये आधालाई मात्रै ‘कार्यकर्ता’ को हैसियत प्रदान गरेको देखाएको छ। यो हैसियतमा रहेकाहरु पार्टी सेलहरुको अध्ययन सत्र र गतिविधिमा सामेल हुन पाउँछन्।
यसैबीच अक्टोबरमा जारी गरिएको पार्टी सदस्य भर्तीका नयाँ नियमहरुमा प्रतिष्ठित युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ सोसल साइन्सेजले सदस्यका उम्मेदवारहरुको राजनीतिक परीक्षण गर्दा पार्टीको सिद्धान्त र नीति तथा विगतका प्रमुख राजनीतिक संघर्षप्रति उनीहरुको दृष्टिकोणलाई प्राथमिकता दिने बताएको थियो।
सो एकेडेमीले विद्यार्थीहरुको विगतको आचरण र गतिविधिको सूचना संकलन गर्न प्रहरी र उनीहरुको गाउँ–सहरका सामुदायिक प्रबन्धकसँग कुरा गर्ने पनि बताएको छ।
‘राजनीतिक समीक्षा गम्भीर हुनैपर्छ, तथ्यबाट सत्य खोज्नुपर्छ र निरन्तरको प्रदर्शनमा केन्द्रित हुनुपर्छ। समीक्षाबाट निर्णायक नतिजा निस्किनुपर्छ। राजनीतिक परीक्षणमा उत्तीर्ण हुन नसक्नेहरु पार्टीमा सामेल हुन सक्दैनन्,’ सो दस्तावेजमा भनिएको छ।
प्रायः स्कुलको गायन तथा नृत्य प्रतियोगितामा भाग लिने विद्यार्थी समूहको भेलामा भेटिन्छन् वु। सबैकुरा सोचेजस्तै भयो भने उनले अर्को वर्षको जुलाईमा परीक्षणात्मक पार्टी सदस्यका रुपमा पार्टीको झण्डाअगाडि मुठ्ठी उठाएर शपथ लिनेछन्।
उनले औपचारिक पार्टी सदस्यता भने त्यसको एक वर्षपछि मात्र प्राप्त गर्नेछन्। त्यो पनि परीक्षणकालमा पार्टी कमिटी उनीसँग सन्तुष्ट भयो भने मात्र।
‘छनोट प्रक्रिया गत वर्षभन्दा निकै कठिन भएको मेरा अगुवाले मलाई बताए। विश्वविद्यालयमा आउनुअघि सेनामा सेवा गरेका वा मजस्ता विद्यार्थी युनियनमा सक्रिय भएर काम गरेका अथवा कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण काम गरेकाहरु मात्रै सर्टलिस्टमा पर्नेछन्,’ वु भन्छन्।
पार्टीको आधिकारिक तथ्यांकले पनि सदस्य छनोटमा कडाइ गरिएको संकेत गर्छ। कार्यकर्ता भर्ती गर्ने संगठन विभागका अनुसार १ जुलाई २०२१ यता ३० वर्षमुनिका जम्मा सदस्य संख्या १ लाख ८९ हजार अर्थात् १.५ प्रतिशतले घटेर १ करोड २४ लाखमा झरेको छ।
यसरी घट्ने क्रम सबैभन्दा बढी विश्वविद्यालयहरुमा छ। विद्यार्थी पार्टी सदस्यहरुको संख्या २०२१ यता १ लाख ५२ हजार अर्थात् ५ प्रतिशतले घटेर २९ लाख कायम भएको छ।
आवेदकहरुको राजनीतिक परीक्षणमा कडाइ, युवा कार्यकर्तामाथि अनुशासनात्मक सुपरीवेक्षण र कोभिडले ल्याएको अवरोध कार्यकर्ता भर्ती संख्या कम हुनुका प्रमुख कारण थिए।
सिङ्हुवा युनिभर्सिटीस्थित नेसनल इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडिजका प्राध्यापक स्याइ माओसङका अनुसार कार्यकर्ता भर्तीमा कडाइलाई राष्ट्रपति सी चिनफिङले नै महत्व दिएका छन्। सीले आफू नेतृत्वको नयाँ युगमा अध्ययन गरेका युवाहरुले भविष्यमा चीनको समाजवादी शासन सम्हाल्ने आशा गरेका छन्।
जनवरीमा पार्टीको अनुशासन विभागको कार्यक्रममा भाषण गर्दा सीले ‘युवा कार्यकर्ताहरुको शिक्षा, व्यवस्थापन र सुपरीवेक्षणलाई सुदृढ गर्न’ आह्वान गरेका थिए।
सदस्य संख्या १० करोड नघाउन कम्युनिस्ट पार्टीलाई कुनै हतार नभएको स्याइ बताउँछन्। किनभने चीनको हरेक पक्षलाई समेट्नेगरी पार्टीमा सदस्य छन्। बरु पार्टीले सदस्यको ‘गुणस्तरमा ज्यादा ध्यान केन्द्रित गरेको’ उनको भनाइ छ। किनभने बाहिरी र भित्री दबाबसँग पार्टीले संघर्ष गरिरहेको छ।
‘अमेरिका र उसका सहयोगीहरु चीनको उदयलाई तोड्न कटिबद्ध भएकाले आउँदा दिनमा हामीले अभूतपूर्व चुनौती सामना गर्नुपर्ने हुन्छ। त्यसैले पार्टीलाई त्यस्ता नवयुवाहरुको आवश्यकता पर्छ, जो जस्तोसुकै परिस्थितिमा पनि डटेर उभिन सक्छ, वफादार रहन सक्छ र दबाबमा पनि राम्रो प्रदर्शन गर्न सक्छ,’ स्याइ भन्छन्।
‘शक्तिको सिँढी उक्लिन मात्रै पार्टीमा प्रवेश गर्नेहरु दीर्घकालमा पार्टीका लागि बोझ बन्नेछन्। किनभने उनीहरु प्रलोभनमा फस्छन् र सबैभन्दा कमजोर कडी बन्ने गर्छन्। अनुशासन समितिले पार्टीभित्रका भ्रष्टहरुलाई व्यापक रुपमा छिमलिरहेको छ। संगठन विभागले कमजोरी देखाउनेहरुलाई छानेर रोक्न पछिल्ला वर्षहरुमा कार्यकर्ता भर्ती गर्ने प्रक्रियामै कडाइ गरेको छ,’ उनी थप्छन्।
विश्वविद्यालयबाट सदस्य भर्ती गर्ने एक पार्टी नेताले गुणस्तरको खोजीका अलावा कोभिडले पनि युवा सदस्यहरुको भर्तीको क्रम सुस्त पारेको बताए।
‘पार्टीका सबै संगठन, विभागलगायत अंगहरुलाई महामारी रोक्ने काममा खटाइयो। यसले आवेदनहरुको स्वीकृतिमा केही ढिलाइ भयो। किनभने केही पार्टी कमिटीहरुको बैठक नै बस्न सकेनन्,’ ती नेताले भने।
‘साथै, धेरै आवेदकहरुलाई परीक्षणका लागि कोभिड नियन्त्रणका काममा लगाइएको थियो। तीमध्ये धेरैले राम्रो गरे पनि। तर हामीले महत्वपूर्ण समयमा पार्टीका चुनौतीहरु पार गर्न तयार नभइसकेका मानिस पनि देख्यौँ,’ उनले भने।
बेइजिङका एक अध्येताले कोभिडका समयमा अनेकौँ विश्वविद्यालयका विद्यार्थीले प्रदर्शन गरेकाले पनि त्यहाँबाट छानिने सदस्यहरुको परीक्षणमा थप कडाइ गरिने बताए।
‘बेइजिङले ती प्रदर्शनहरुमा ‘कलर रेभोलुसन’का तत्वहरुको घुसपैठ भएको संकेत गरेको थियो। त्यसैले यसलाई उनीहरुले राजनीतिक संघर्षका रुपमा लिए। प्रदर्शनमा भाग लिनेहरुका लागि राजनीतिक परीक्षण पास भएर सदस्य बन्न कठिन हुनेछ,’ उनले नाम नबताउने सर्तमा भने।
सदस्यका लागि आवेदन दिएका रे वु भने लाम्बेतान प्रक्रियाका बाबजुद उनको स्कुलमा पार्टीमा सामेल हुन चाहनेहरुको अभाव नरहेको बताउँछन्। पार्टी सदस्यता हुँदा विदेशमा, खासगरी अमेरिकामा अध्ययन गर्न र समय बिताउन चाहनेहरुलाई समस्या आउने सम्भावना हुँदाहुँदै पनि।
वास्तवमा पार्टीमा सदस्यताको लागि आवेदन दिनेहरुको संख्या उच्च छ। २०२२ मा मात्र करिब २ करोड १० लाख मानिसले सदस्यता आवेदन दिएका छन्। यो अघिल्लो सालको भन्दा ३ लाख बढी हो।
‘अमेरिकामा पढ्न जाने भएपछि सदस्यता आवेदन फिर्ता लिएका केही साथीहरुलाई म चिन्छु। किनभने भिसा दिनुअघि उनीहरुलाई पार्टी सदस्य हौ कि होइनौ भनेर सोधिन्छ। तर, उनीहरु कम छन्। जो चीनमा बस्छन्, तिनका लागि पार्टी सदस्यता निकै महत्वपूर्ण छ। धेरैजसो सरकारी जागिरका लागि पार्टी सदस्यता पूर्वसर्त हो,’ वु भन्छन्।
‘सुआन तियाओ सेङ’ भनिने ग्रासरुट तहका रिक्त पदपूर्ति गर्न कम्युनिस्ट पार्टीको कर्मचारी विभागले लिने परीक्षामा सहभागी हुनका लागि पनि पार्टी सदस्यता लगभग अनिवार्य छ।
१६–२४ वर्ष उमेर समूहबीच बेरोजगारी दर जुन महिनामा बढेर २१.३ प्रतिशत पुगेको छ। अघिल्लो महिना यो दर २०.८ प्रतिशत थियो। त्यसैले ‘जीवनभरको जागिर’ विद्यार्थीहरुका लागि निकै आकर्षक बनेको छ। यसलाई चीनको प्रशासनिक प्रणालीमा करिअर सुरु गर्ने सर्वोत्तम उपाय पनि मानिन्छ।
क्याम्पसहरुमा सदस्य घटे पनि गत वर्ष पार्टीको समग्र सदस्य संख्यामा १.४ प्रतिशत अर्थात् १३ लाखले वृद्धि भएको छ। जसका कारण गत वर्ष पार्टी सदस्यको जम्मा संख्या ९ करोड ८० लाख माथि पुगेको छ। यो संख्या मुलुकको कुल जनसंख्याकाको करिब ७ प्रतिशत हो। जसका कारण चिनियाँ कम्युनिस्ट पार्टी विश्वकै दोस्रो ठूलो पार्टी बन्न पुगेको छ।
१९२१ मा कम्युनिस्ट पार्टी स्थापना हुँदा मात्र ५८ सदस्य थिए। जहाँबाट यो पार्टीले निकै लामो यात्रा तय गरिसकेको छ।
विश्वको सबैभन्दा ठूलो पार्टी चाहिँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी हो। जसका सदस्य १८ करोड छन्। सो पार्टीले २०१४ यता भारतमा सरकार चलाइरहेको छ।
तर, भाजपाभन्दा आकारमा झण्डै आधा रहेको चिनियाँ कम्युनिस्ट पार्टीले १९४९ यता एक्लै शासन चलाइरहेको छ। त्यसअघि रक्तपातपूर्ण गृहयुद्धमा सो पार्टीले राष्ट्रवादी पार्टी कोमिन्ताङलाई चीनबाट लखेटेको थियो।
स्थापनाकालदेखि नै कम्युनिस्ट पार्टीको सदस्यता प्रक्रिया अत्यन्त कठिन र प्रतिस्पर्धात्मक थियो। किनभने भर्ती, अनुशासन र संगठनमा कडाइलाई सफलताको प्रमुख कारण मानिन्थ्यो।

हालका राष्ट्रपति सी चिनफिङको आवेदन समेत नौ पटक अस्वीकृत भएको थियो। अन्ततः उनलाई १९७४ मा सदस्यका रुपमा स्वीकार गरिएको थियो।
सेन्ट्रल पार्टी स्कुलको आधिकारिक पत्रिका स्टडी टाइम्सका पूर्व उपसम्पादक ते युवेन चिनियाँ कम्युनिस्ट पार्टीलाई सम्भवतः विश्वमै ‘भर्ती हुन सबैभन्दा कठिन पार्टी’ मान्छन्। किनभने यो लेनिनले स्थापना गरेको बोल्सेभिक पार्टीको नियमानुसार चल्छ, जहाँ कठोर पदानुक्रमलाई जोड दिइन्छ। २०१२ मा सत्तामा आएदेखि नै सीले त्यही परम्परालाई ब्युँताउन जोड दिइरहेका छन्।
‘निश्चय नै उनीहरु पार्टी सदस्यको संख्या होइन, गुणस्तर हेरिरहेका छन्,’ उनी भन्छन्।
‘आफू नेतृत्वमा आउनुअघि पार्टीभित्र रहेको उदार वातावरणले पार्टीको आदर्श र विश्वासको भ्रष्टीकरण गर्ला, त्यसले पार्टीलाई पश्चिमाहरुले उक्साएको कलर रेभोलुसनको सामना गर्ने सवालमा कमजोर बनाउला भनेर सी चिन्तित छन्। विश्वविद्यालयहरुमा पार्टीको हाँगाबिँगालाई सुदृढ गर्नु रक्षाको पहिलो कदम हो,’ उनी भन्छन्।
(साउथ चाइना मर्निङ पोस्टबाट)
Shares

प्रतिक्रिया