ad ad

ग्लोबल


रुसमा ‘कू’को सम्भावना, प्रिगोजिनको विद्रोहपछि संकटमा पुटिन

रुसमा ‘कू’को सम्भावना, प्रिगोजिनको विद्रोहपछि संकटमा पुटिन

नेपालखबर
असार ९, २०८० शनिबार १२:४२, काठमाडौँ

रुसको शक्तिशाली निजी अर्धसैनिक समूह वाग्नरले राष्ट्रपति भ्लादिमर पुटिनविरुद्ध विद्रोहको घोषणा गरेपछि रुसमा 'कू'को सम्भावना बढेको छ।

पुटिनसँग जोडिएका वाग्नर प्रमुख येभगेनी प्रिगोजिनले विद्रोह घोषणा गरेपछि पुटिन समस्यामा परेका छन्। वाग्नर यसअघि रुसी सेनासँग मिलेर युक्रेनविरुद्ध लडिरहेको थियो। वासिङ्टन तथा युरोपेली मुलुकले प्रतिबन्ध लगाएका शक्तिशाली रुसी व्यवसायी प्रिगोजिनले आफ्ना लडाकुहरू रुसको दक्षिणी सहर रोस्तोभमा रहेको सैन्य अड्डाहरू नियन्त्रणमा लिएको दाबी गरेका छन्।

समाचार एजेन्सी रोयटर्सले रोस्तोभ सहरका केही तस्विरहरू सार्वजनिक गरेको छ, जसमा ट्यांक र सैनिकहरू सडकमा देखिन्छन्। त्यहाँ वाग्नर र रुसी सेनाबीच भीषण भिडन्त भएको पनि बताइएको छ।

रुसको दक्षिणी सैन्य जिल्ला कमाण्ड रोस्तोभ शहरबाट सञ्चालन हुन्छ, त्यसैले यो शहर पनि महत्त्वपूर्ण छ र युक्रेनसँगको युद्धमा रूसका लागि कठिनाइहरू सिर्जना गर्न सक्छ।

वाग्नरसँग आधुनिक हातहतियारसहित २५ हजार बढी अनुभवी सेना रहेको विश्वास गरिन्छ।

अब वाग्नरको सेना मस्कोतर्फ अघि बढिरहेको बताइएको छ। उनीहरुलाई रोक्न रुसी सेनाले बाटोमा भारी ब्यारिकेड समेत लगाएको छ। 

वाग्नर समूहलाई कुनै समय पुटिनको निजी सेना भनिन्थ्यो। यस समूहका लडाकुहरूले रुसी सेनासँग मिलेर युक्रेनमा युद्ध पनि लडेका छन्।

पछिल्लो समय वाग्नर समूहका प्रमुख प्रिगोजिनले पनि रुसी सेनाको धेरै पटक आलोचना गरेका थिए। तर प्रिगोजिनले पुटिनलाई सत्ताच्युत गर्ने प्रत्यक्ष धम्की दिएको यो पहिलो पटक हो।

सामान्यतया रुसमा पुटिनलाई चुनौती दिने कोही छैन भन्ने विश्वास गरिन्छ। यस्तो अवस्थामा प्रिगोजिनको यो धम्कीलाई निकै गम्भीरतापूर्वक लिइएको छ। 

प्रिगोजिनले बाख्मुतको वाग्नर प्रशिक्षण शिविरमा मिसाइल आक्रमण भएको भन्दै रुसी सेनालाई कारवाही गर्ने चेतावनी दिएका थिए। उक्त हमलाले वाग्नर समूहलाई धेरै नोक्सान पुगेको थियो। उनले भिडि‌ओमार्फत् भनेका छन्, 'हामी मस्कोतर्फ जाँदैछौँ, बाटोमा जो आउँछ, क्षतिको जिम्मेवार उसैले लिनुपर्छ। हामी हाम्रा हजारौँ सैनिकको जीवन बर्बाद गर्नेलाई सजाय दिलाइ छाड्छौँ।'

प्रतिरोध गर्न खोज्नेलाई उनले चुनौती दिएका छन्।

को हुन् प्रिगोजिन?
पुटिन जन्मिएको करिब नौ वर्षपछि, सन् १९६१ मा लेनिनग्रादमा येभगेनी प्रिगोजिनको जन्म भएको थियो। यो शहर अहिले सेन्ट पिटर्सबर्ग नामले चिनिन्छ। सानै छँदा बुबाको मृत्यु भयो। आमाले अस्पतालमा काम गरेर प्रिगोजिनलाई हुर्काइन्।

येभगेनी प्रिगोजिन

प्राथमिक शिक्षापछि उनी खेलकुद एकेडेमीमा संलग्न भए। त्यो बेला उनी हरेक दिन घण्टौंसम्म क्रस कन्ट्री स्कीइङ गर्थे। यसका बाबजुद पनि उनले व्यावसायिक खेलाडीको रुपमा स्थान बनाउन सकेनन्। पढाइ सकेपछि प्रिगोजिन साना अपराधीहरूको भीडमा सामेल भए।

सन् १९८० मा शोभियत संघमा लियोनिद ब्रेज्नेभको शासनकालमा, १८ वर्षीय प्रिगोजिनले मध्यरातमा सेन्ट पिटर्सबर्गको क्याफेबाट बाहिर निस्किएका थिए। तत्यहाा उनले एक महिलालाई अँध्यारो सडकमा एक्लै हिंडिरहेको देखे। प्रिगोजिनले एक साथीलाई चुरोट मागेर महिलाको ध्यान विचलित गर्न भने। जब ती महिलाले पर्स खोल्न लागिन्, तब प्रिगोजिनले पछाडिबाट महिलाको घाँटी अठ्यार हत्या गरे।

त्यहाँबाट डँकैतती सुरु गरेका उनी ठूलो डाँकुको रूपमा स्थापित भए। पहिलो हत्याको एक वर्षपछि, अर्थात् सन् १९८१ मा उनलाई कयौँ डँकैतीको आरोपमा १३ वर्षको जेल सजाय सुनाइएको थियो।

करिब १० वर्ष कैद सजाय काटेपछि सन् १९९० मा शोभियत संघको विघटन हुँदा उनी रिहा भएका थिए। त्यसपछि व्यवसायमा छिरेका उनले सन् १९९५ मा रेस्टुरेन्ट खोले। उक्त रेस्टुरेन्टमा ठूला व्यापारीहरू आउँथे। त्यसै क्रममा उनको भेट भ्लादिमिर पुटिनसँग भएको थियो।

यसरी विस्तारै व्यापारिक क्षेत्रमा आफ्नो प्रभूत्व स्थापित गर्दै गएका उनी पुटिन राष्ट्रपति भएपछि उनकै साथले थप शक्तिशाली बन्दै गए। 

आफ्नो शासनको प्रारम्भिक वर्षहरूमा, पुटिनले प्रायः आफ्नो गृहनगर सेन्ट पिटर्सबर्गमा विदेशी प्रतिष्ठित व्यक्तिहरूलाई भेट्थे। यस अवधिमा, पुटिन र प्रिगोजिन बीचको मित्रता बढ्दै गयो।

पुटिनले रुसमा सरकारी कार्यक्रमका लागि जारी गरिएको सम्झौता प्रिगोजिनलाई हस्तान्तरण गरेका थिए।

रुसले सन् २०१४ मा क्रिमियालाई गाभ्यो। उक्त युद्धमा प्रिगोजिनको वाग्नर समूह पनि सहभागी थियो। प्रिगोजिनले पुटिनलाई निजी सैन्य कम्पनीहरू स्थापना गर्न सल्लाह दिए। यसरी रुसमा वाग्नर समूहको स्थापना भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .