ad ad

ग्लोबल


मोदीको अमेरिका भ्रमण : भारतले पाउनसक्छ अमेरिकी सशस्त्र ड्रोन, किन विशेष छ यो?

मोदीको अमेरिका भ्रमण : भारतले पाउनसक्छ अमेरिकी सशस्त्र ड्रोन, किन विशेष छ यो?

नेपालखबर
असार ६, २०८० बुधबार ११:७, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा सबैको नजर सम्भावित ठूलो रक्षा सम्झौतामा केन्द्रित छ, जसअन्तर्गत भारतले अमेरिकाबाट ३१ वटा सशस्त्र ड्रोन किन्ने सम्भावना छ।

हालै रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा भएको बैठकमा रक्षा अधिग्रहण परिषद्ले अमेरिकी कम्पनी जनरल एटोमिक्सबाट सशस्त्र एमक्यू नाइन बी ड्रोन खरिदका लागि अनुमति दिएको छ। 

तर यो प्रस्तावलाई मन्त्रिपरिषद्को सुरक्षा समितिबाट ‘ग्रिन सिग्नल’ पाउन बाँकी छ। 

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको वार्तापछि यो रक्षा सम्झौतामा आधिकारिक हस्ताक्षर हुने अनुमान गरिएको छ।

प्राप्त जानकारी अनुसार कूल ३१ वटा ड्रोनमध्ये १५ वटा भारतीय नौसेनालाई र ८/८ वटा सेना र वायुसेनालाई दिइनेछ। यो खरिदको अनुमानित लागत झन्डै तीन अर्ब डलर (लगभग २५ हजार करोड भारु) छ।

यी ड्रोन प्राप्त गर्ने भारतको योजना आफ्नो मानवरहित रक्षा क्षमता बलियो बनाउने प्रयासको ठूलो हिस्सा हो।

यी ड्रोनले भारतलाई आफ्नो सीमामा निगरानी क्षमता बढाउन र सम्भावित खतरालाई अझ प्रभावकारी रूपमा निगरानी गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।

साथै, यी ड्रोनहरू हिन्द महासागर क्षेत्रमा चीनको बढ्दो प्रभुत्वमा नजर लगाउन प्रयोग हुने पक्का छ।

यो ड्रोन किन विशेष छ?
रिपोर्टका अनुसार, भारतले एमक्यू नाइन सिरिजमा उपलब्ध दुवैथरीका ड्रोन- एमक्यू नाइन ए स्काई गार्डियन र एमक्यू नाइन बी सी गार्डियन किन्ने विचार गरिरहेको छ।

सी गार्डियन ड्रोनहरू सामुद्रिक निगरानीका लागि प्रयोग गरिने छ भने स्काई गार्डियन ड्रोनहरू भूमि सीमा सुरक्षाका लागि प्रयोग गरिनेछ।
त्यस्ता सशस्त्र ड्रोनमा लडाकु पाइलटहरूद्वारा उडाइएका लडाकु विमानहरूजस्तै शत्रुका स्थानमा मिसाइल र गोलाबारुद प्रहार गर्ने क्षमता हुन्छ।
यी ड्रोनहरू निगरानी र अनुगमनका लागि सक्षम छन् र तिनीहरूको सशस्त्र संस्करण हेलफायर मिसाइलहरूले सुसज्जित छ।

यी विमान मानवीय सहायता, विपद् राहत, खोज र उद्धार, वायुजनित पूर्व चेतावनी, इलेक्ट्रोनिक युद्ध, एन्टी-सर्फेस युद्ध र पनडुब्बी विरोधी युद्ध, साथै लामो दूरीको गुप्तचर भेला र निगरानीका लागि प्रयोग गर्न सकिन्छ।

साथै, यी ड्रोन  लागूपदार्थको तस्करी र पाइरेसीजस्ता परिस्थितिको सामना गर्न पनि प्रयोग गर्न सकिन्छ।

यी ड्रोन सबै प्रकारको मौसममा एक पटकमा ३० देखि ४० घण्टासम्म उड्न सक्छन्। यी ड्रोनमा ४० हजार फिटको उचाइसम्म उड्ने क्षमता छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .