ad ad

ग्लोबल


यी कामदार, जसको काम एआईले खोसिदियो

यी कामदार, जसको काम एआईले खोसिदियो

नेपालखबर
असार २, २०८० शनिबार २०:४४,

भर्खरैसम्म डिन मिडोक्राफ्ट एउटा सानो मार्केटिङ विभागमा कपीराइटरको काम गर्थे। उनको जिम्मेवारी थियो, कम्पनीको प्रेस रिलिज तयार गर्नु, सामाजिक सञ्जालमा गरिने पोस्ट र अन्य सामग्री लेख्नु।

तर, गतवर्षको अन्त्यतिर उनको कम्पनीले एउटा आर्टिफिसिय इन्टेलिजेन्स (एआई) प्रणाली ल्यायो।

‘त्यतिबेला एआईले पनि मान्छेसँग मिलेर काम गर्छ भन्ने थियो। यसले कपीराइटरहरुको कामलाई छिटो बनाउने अपेक्षा थियो,’ उनी भन्छन्। 

मिडोक्राफ्ट त एआईको काम देखेर उति प्रभावित पनि थिएनन्। 

एआईले लेखेका सामग्रीहरु मानिसले नै जाँच्नुपर्थ्यो। अन्यत्रको सारेको हो कि होइन भनेर परीक्षण गर्नुपर्थ्यो।

‘यो सबै एकैठाउँमा भएजस्तो लाग्थ्यो। सबैको ठ्याक्कै एउटै। त्यसैले अलग कोही पनि थिएन,’ उनी भन्छन्।

तर, एआई एकदम छिटो थियो। एक कपीराइटरलाई एकदेखि डेढ घण्टा लाग्ने काम उसले १० मिनेटभन्दा कम समयमा सकिदिन्थ्यो।

एआई प्रणाली ल्याएको चार महिनापछि मिडोक्राफ्टको चार जना कपीराइटरको टोलीलाई नै कामबाट हटाइयो। एआईले आफूहरुलाई विस्थापित गरेको मिडोक्राफ्टको भनाइ छ।

‘एआईले कपीराइटरहरुलाई विस्थापित गर्ने वा मेरो काममा धक्का दिने विषयलाई मैले हाँसोमा उडाएँ, जबसम्म म आफैँ एआईबाट विस्थापित भइनँ,’ उनी भन्छन्।

एआईको पछिल्लो लहर गत वर्षको अन्त्यतिर सुरु भयो, जब ओपनएआईले च्याटजीपीटी सुरु गर्‍यो।

माइक्रोसफ्टको सहयोग रहेको च्याटजीपीटीले मान्छेले जस्तै प्रश्नहरुको जवाफ दिन सक्छ। यसले केही मिनेटमै निबन्ध, भाषण र रेसिपी समेत तयार गर्न सक्छ।

यसैलाई पछ्याउँदै ठूला प्रविधि कम्पनीहरुले आआफ्नै यस्ता प्रणाली ल्याइरहेका छन्। गुगलले मार्चमा बार्ड ल्यायो।

पूर्ण नभए पनि यी प्रणालीहरु इन्टरनेटमा रहेका सारा डेटामा पोख्त हुन्छन्। जुन मानिसहरुको एउटा टोलीले समेत पढ्न सक्दैन।

त्यसैले थुप्रै मानिसहरु एआईका कारण कुन काम जोखिममा छ भनेर सोचिरहेका छन्।

यसैवर्षको सुरुवातमा गोल्डम्यान स्याक्सको एउटा रिपोर्टले एआईले करिब ३० करोड रोजगारी विस्थापित गर्ने आकलन गरेको थियो।

तर, हरेक क्षेत्रमा यसले उति नै रोजगारी खोस्ने छैन। सो रिपोर्टअनुसार प्रशासनिक क्षेत्रका ४६ प्रतिशत र कानुनी पेसामध्ये ४४ प्रतिशत रोजगारीलाई स्वचालित बनाउन सकिन्छ। तर, निर्माण क्षेत्रका ६ र मर्मत क्षेत्रका ४ प्रतिशत कामलाई मात्र स्वचालित गर्न सकिन्छ।

सो रिपोर्टले एआईको प्रयोगले उत्पादकत्व वृद्धि गर्ने हुनाले नयाँ रोजगारी पनि सिर्जना गर्न सक्ने जनाएको छ।

त्यसका केही उदाहरण समेत देखिन थालेका छन्।

फर्निचर कम्पनी इकेयाले यसै महिना बताएअनुसार २०२१ देखि उसले आफ्ना कल सेन्टरहरुमा काम गरिरहेका ८ हजार ५ सय कर्मचारीलाई डिजाइन सल्लाहकारका रुपमा तालिम दिएको छ। किनकि आफ्नो कलसेन्टरमा आउने ग्राहकको कलमध्ये ४७ प्रतिशत कल एआईले सम्हाल्ने गरेको कम्पनीको भनाइ छ। 

यो कम्पनीका कर्मचारीले एआईका कारण रोजगारी नगुमाए पनि यस्तो घटनाक्रमले थुप्रै मानिसहरु चिन्तित छन्।

हालै बोस्टन कन्सल्टिङ ग्रुपले गरेको एक अध्ययनमा विश्वभरका १२ हजार कामदारमध्ये एक तिहाइ एआईले आफूलाई विस्थापित गर्ने विषयमा चिन्तित देखिए। म्यानेजरहरुभन्दा फ्रन्टलाइन स्टाफहरु बढी चिन्तित थिए।

‘नेतृत्वदायी पदमा रहेका र म्यानेजरहरुमा ८० प्रतिशतले कम्तीमा हप्तामा एक पटक एआईको प्रयोग गर्छन्। तर, फ्रन्टलाइन कामदारहरुमध्ये २० प्रतिशत मात्र एआईसँग परिचित छन्। त्यसकारण उनीहरुमा प्रविधिलाई लिएर बढी चिन्ता छ,’ सो ग्रुपकी जेसिका अपोथेकर भन्छिन्।

तर, चिन्तित हुनुपर्ने कारण पनि छन्। 

गतवर्षको तीन महिना अलेहान्द्रो ग्रावे एउटा लोकप्रिय युट्युब च्यानलमा भोइसओभरको काम गर्थे।

यो भविष्य निकै राम्रो भएको कामजस्तो लागेको थियो उनलाई। अंग्रेजी भाषामा रहेको एउटा पुरै युट्युब च्यानलका सामग्रीलाई स्पेनी भाषामा उनले आवाज दिनुपर्थ्यो।

वर्षको अन्तिममा उनी छुट्टी मनाउन गए। फर्केर कामलाई निरन्तरता दिने उनको योजना थियो।

‘त्यहाँबाट आउने पैसाले गुजारा चल्ने आशा थियो। मेरा दुई छोरी छन्, त्यसैले पैसाको खाँचो छ,’ उनी भन्छन्।

तर, आश्चर्यको कुरा उनी काममा नफर्किंदै त्यो युट्युब च्यानलले स्पेनी भाषामा नयाँ भिडिओ अपलोड गर्‍यो। त्यो भिडिओमा उनले काम गरेका थिएनन्।

‘मैले भिडिओ क्लिक गरेँ। तर, त्यो आवाज मेरो थिएन। बरु एआईले जेनेरेट गरेको आवाज थियो त्यो। एकदमै खराब तरिकाले सिंक गरेको। साह्रै झुर। त्यसपछि यो के हो भन्ने मलाई लाग्यो? यो मेरो सहकर्मी हो कि? यसले मलाई विस्थापित गर्छ कि?’ उनले भने।

आफूले काम गरेको स्टुडिओमा फोन गरेपछि उनको सबैभन्दा खराब डर सत्य साबित भयो। उनीहरु एआई प्रयोग गर्न चाहन्थे, किनभने त्यो सस्तो र छिटो दुवै थियो।

तर, त्यो प्रयोग असफल भयो। दर्शकहरुले भोइसओभरको गुणस्तरबारे गुनासो गरे। र, च्यानलले अन्ततः एआईको आवाज भएको भिडिओ हटायो।

तर, ग्रावे यसबाट खुसी छैनन्। उनको विचारमा प्रविधि त विकसित हुँदै जानेछ। भोलि आफूजस्ता भोइसओभर कलाकारको काम के होला भनेर उनी चिन्तित छन्।

‘आफूले गर्ने हरेक काममा यस्तै भयो भने मैले के गर्ने? मैले खेती गर्न बारी किन्ने? मलाई थाहा छैन। भविष्यमा विस्थापित नहुने कस्तो काम मैले खोज्ने? साह्रै जटिल कुरा छ,’ उनी भन्छन्।

यदि एआईले तपाईंको काम खोसिहालेन भने पनि कुनै न कुने तरिकाले तपाईंले एआईका साथ काम गर्नुपर्ने हुन सक्छ।

केही महिना फ्रिलान्स काम गरेपछि पूर्व कपीराइटर डिन मिडोक्राफ्टले नयाँ बाटो पक्रिए।

अहिले उनी कामदारहरुलाई मानसिक स्वास्थ्य तथा उनीहरुको तन्दुरुस्ती सम्बन्धी परामर्श दिन्छन्। त्यसका लागि उनले एआईको सहयोग लिइरहेका छन्।

‘मेरो विचारमा भविष्यमा एआईको ठाउँ यही हो– यसले मानवीय पक्षलाई पूरै समाप्त पार्ने होइन, बरु मानव नेतृत्वको कामलाई छिटो छरितो पार्नेछ।’ बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .