ad ad

ग्लोबल


चीनको दोस्रो राजधानी सुदूरपश्चिम सिन्जियाङको मरुभूमिमा बनाउन प्रस्ताव

चीनको दोस्रो राजधानी सुदूरपश्चिम सिन्जियाङको मरुभूमिमा बनाउन प्रस्ताव

नेपालखबर
बैशाख १८, २०८० सोमबार २०:४७,

चीनले समग्र युरेसियासँग सम्बन्ध सुदृढ पार्न मुलुकको दोस्रो राजधानी सिन्जियाङको मरुभूमिमा राख्नुपर्ने प्रस्ताव एक सरकारी अध्ययनले गरेको छ।

मुलुकको भूराजनीतिक र वातावरणीय जोखिमलाई न्यूनीकरण गर्ने, मुलुकको आर्थिक केन्द्रहरुलाई पुनर्सन्तुलित पार्ने र नयाँ वृद्धिको अवसर सिर्जना गर्ने उदेश्य राखेर सो चार वर्षे अध्ययन गरिएको थियो। 

सिन्जियाङ चीनको पश्चिम सीमासँगै छ। यो मुलुकको आर्थिक र राजनीतिक केन्द्रभन्दा टाढा छ। कठिन जलवायु भएको यो विशाल क्षेत्र हो। जहाँ तापक्रम अत्यन्त कम छ भने अत्यन्त उचाइमा मरुभूमि छ।

तिब्बतसँग जोडिएको यो क्षेत्र थुप्रै जातीय अल्पसंख्यक समूहहरुको घर हो। जसमा उइगुर, कज्जाक र मंगोलिन पर्छन्।

यी जाति र हान चिनियाँहरुबीचको तनावका कारण कहिलेकाहीँ अशान्ति र हिंसा पनि हुने गरेको छ। सिन्जियाङ राजधानी बनाउन यी चुनौतीका कारण कठिन हुनसक्छ।

सो अध्ययनले दोस्रो राजधानी र बेइजिङबीच कार्यविभाजन कसरी हुन्छ भन्नेबारे कुनै विवरण दिएको छैन। तर, अलि ठूलो जनसंख्या भएको उरुम्की वा कासगरजस्ता ठाउँमा नयाँ सहर बनाए त्यसले जातीय अल्पसंख्यकहरुसँगको सम्बन्ध बलियो बनाउने र राष्ट्रिय एकता प्रबद्र्धन गर्ने अध्ययनमा उल्लेख छ।

फुदान युनिभर्सिटी प्राध्यापक चाउ वेन र सिचुवान युनिभर्सिटीका प्राध्यापक मी जुनको नेतृत्वमा रहेका अध्येताहरुले क्षेत्रीय विकास र स्थायित्व प्रबद्र्धनका लागि दोस्रो राजधानी तयार गर्न केन्द्र सरकारको समर्थन र उचित योजना आवश्यक पर्ने बताएका छन्।

गत केही दशकमा चीनको तीव्र आर्थिक वृद्धि निर्यातमुखी उत्पादनको नतिजा हो। जुन काम सांघाइ, क्वान्चौ र सेन्चेनजस्ता समुद्र किनारका सहरहरुमा केन्द्रित छन्।

यसले चीनको अर्थतन्त्रलाई समुद्री मार्गबाट हुने व्यापारमा निर्भर बनाएको छ। त्यसैले ती मार्ग बन्द हुँदा वा द्वन्द्वका बेला समस्या पर्न सक्ने अध्येताहरुले चेतावनी दिएका छन्।

चिनियाँ भाषाको जर्नल सोसल साइन्सेसमा प्रकाशित सो अध्ययनमा दोस्रो राजधानीले मानिसको आवतजावत, स्रोत र सार्वजनिक सेवालाई देशको उत्तरपश्चिमी क्षेत्रसम्म पुर्याउने उल्लेख छ।

यसले बेइजिङले बेहोरिरहेको वातावरणीय जोखिम, अत्यधिक जनसंख्याजस्ता समस्या पनि समाधान गर्ने अध्ययनमा उल्लेख छ। 

‘कासगरबाट युरोपसम्मको रेलमार्ग सांघाइ वा क्वान्चौ बाटभन्दा छोटो छ,’ अध्ययनमा भनिएको छ।

यसअघि पनि सांघाइ, चेङचौ, सियानजस्ता सहरलाई दोस्रो राजधानी बनाउने सुझाव आउने गरेका थिए। तर, ती सुझाव व्यक्तिगत रुपमा आएका थिए। 

तर, यो अध्ययन भने चीनको नेसनल सोसल साइन्स फन्डको लगानीमा गरिएको ठूलो अध्ययन हो। सो फन्ड सोसल साइन्ससम्बन्धी अध्ययनहरुको प्रमुख स्रोत हो।

सन् २००० मा चीनको पूर्वी क्षेत्रको प्रतिव्यक्ति आय १४ हजार ५५० युआन हुँदा पश्चिम क्षेत्रको ४ हजार ८१४ थियो। २०१९ सम्ममा पूर्वमा ९७ हजार ७३७ पुग्दा पश्चिममा ५३ हजार ५६८ मात्र पुगेको थियो। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .