चीनसँगको विवादित सीमा क्षेत्रमा अभूतपूर्व संख्यामा सैनिक खटाइएको भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले बताएका छन्। अरुणाचलमा दुई मुलुकका सैनिकबीच झडप भएको केही दिनपछि जयशंकरले यस्तो बताएका हुन्।
उनले सीमामा चीनलाई एकतर्फी रुपमा यथास्थिति बदल्न नदिइने पनि बताए।
जुन २०२० मा लद्दाख क्षेत्रको गलवान उपत्यकामा रक्तपातपूर्ण झडप भएपछि दुवै मुलुक तनाव कम गर्ने प्रयासमा थिए। त्यसबेला २० भारतीय र चार चिनियाँ सैनिकको ज्यान गएको थियो।
तर, ९ डिसेम्बरमा अरुणाचलमा दुई पक्षका सैनिकबीच झडप हुँदा केही घाइते भएको भारतीय सेनाले जनाएको छ। भारतले चिनियाँ सेनाले भूमि हडप्न खोज्दा झडप भएको आरोप लगाएको छ।
चीनले भने सीमाको अवस्था स्थिर रहेको र द्विपक्षीय संवाद भइरहेको बताएको छ।
‘आज यसअघि कहिल्यै नगरिएको स्तरमा भारतीय सेना चिनियाँ सीमामा तैनाथ गरिएको छ। चीनको आक्रमकतालाई रोक्न यसो गरिएको हो। सीमामा चीनले एकपक्षीय रुपमा यथास्थिति परिवर्तन नगरोस् भनेर भारतीय सेना खटिएको हो,’ सोमबार एक कार्यक्रममा जयशंकरले भने।
पछिल्लो झडपले भारतमा राजनीतिक विवाद सिर्जना गरेको छ। विपक्षी दलहरुले यसबारे तत्काल छलफल गराइनुपर्ने माग राख्दै संसद् बैठक बहिष्कार गरेका थिए।
कांग्रेसका नेता राहुल गान्धीले सरकारले चिनियाँ खतरालाई बेवास्ता गरेको बताए। उनले चिनियाँ सेनाले भारतीय सेनालाई पिटिरहेको पनि बताए।
संसदमा बोल्दै जयशंकरले गान्धीका शब्दले भारतीय सेनाको अपमान गरेको आरोप लगाएका थिए। बीबीसी
Shares

प्रतिक्रिया