पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफूमाथि भएको आक्रमणबारे जानकारी दिएका छन्। चुनावी सभाको नेतृत्व गरिरहेका खानमाथि सरकारविरुद्ध विरोध प्रदर्शनको क्रममा गोली आक्रमण भएको थियो। उक्त आक्रमणमा कारण खुट्टामा गोली लागेर उपचार गराइरहेका खानले आफूमाथिको आक्रमण सुनियोजित भएको बताएका छन्।
उनले आफ्नो ज्यान लिने उद्देश्यले नै आक्रमण गरिएको तर भाग्यले आफू बचेको उल्लेख गरेका छन्। उनले आफूलाई एक छेउबाट र अगाडिबाट पनि गोली प्रहार भएको बताएका छन्।
छेउबाट भएको गोली आक्रमणबाट आफू लड्दै गर्दा अगाडिबाट हानिएको गोली भने आफूमाथिबाट गएकाले बच्न सफल भएको खानले बताएका छन्। उनले पहिला अगाडिको गोली चलेको भए आफ्नो बाँच्ने सम्भावना नरहेको बताएका छन्।
७० वर्षीय पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टारसमेत रहेका खानले गत हप्तादेखि लाहोरबाट राजधानी इस्लामावादसम्म हजारौंको सङ्ख्यामा चुनावी अभियानको नेतृत्व गरिरहेका थिए।
इस्लामावादबाट करिब १७० किलोमिटर पूर्वमा रहेको वजीराबादमा बाक्लो भीडलाई छिचोल्दै गर्दा एक बन्दुकधारीले उनी यात्रारत सवारी साधनमा पेस्तोलले गोली हानेको थियो।
सेनाको चर्को निन्दा गरिरहेका इमरान खानमाथि किन भयो गोली प्रहार?
आक्रमणका समय खानका पछाडि उभिएको बताउँदै पूर्व सूचनामन्त्री फवाद चौधरीले भने, “अगाडिको पङ्तिमा उभिएका सबैलाई गोलीको छर्रा लागेको छ।”
बन्दुकधारीलाई एक समर्थकले नियन्त्रणमा लिएपछि थप घाइते हुनबाट जोगिएको उनले बताएका छन्।
एक संदिग्धलाई प्रहरी हिरासतमा लिइएको छ। आक्रमणबारे सञ्चारमाध्यममा आएको एक भिडियोमा आरोपित आक्रमणकारीले खानले ‘जनतालाई भ्रमित’ गरेको बताएका छन्। उनले मुस्लिम समुदायलाई दिनको पाँच पटक मस्जिदमा प्रार्थनामा जान अवरोध पर्याएको भन्दै कोलाहलपूर्ण जुलुसप्रति आफू रुष्ट भएको बताए।
खानले भने आक्रमणमा आक्रमणकारी मात्र नभएर अन्य मानिसको पनि हात रहेको बताएका छन्। उनले भने, ‘मलाई के लाग्छ भने, जो मान्छे माथि बसेर हेरिरहेको थियो उसले म गोली लागेर ढलेपछि मरेँ भन्ने सोच्यो र ऊ त्यहाँबाट भाग्यो। यस्तोमा अहिले प्रहरीले एकजनालाई पक्राउ गरेको छ। यसको पछाडि ठूलो षडयन्त्र छ।’
सरकारका आन्तरिक मामिला मन्त्री राना सनाउल्लाहले यो आक्रमण ‘धार्मिक अतिवादको स्पष्ट उदाहरण’ भएको बताएका छन्।
खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीले भने यसलाई ‘षडयन्त्र’को संज्ञा दिँदै सरकार र सेनाका एक मेजर जनरलमाथि आक्रमणको मुख्य योजनाकार रहेको आरोप लगाएको छ।
पञ्जाब सरकारका अधिकारीले नाभिद अहमदको रूपमा नामाकरण गरेका आरोपी खानलाई गोली हानिएको प्रदर्शनस्थल नजिकैको एक गरीब गाउँका भएको बताएका छन्।
छिमेकीहरूले एएफपीलाई बताएअनुसार अहमदका (काका) एक ‘साधारण मान्छे’ हुन् र उनको कुनै स्पष्ट धार्मिक वा राजनीतिक झुकाव थिएन।
पाकिस्तानमा दक्षिणपन्थी धार्मिक समूहको जनसङ्ख्यामा ठूलो प्रभाव छ।साथै पाकिस्तान लामो समयदेखि इस्लामी उग्रवादसँग जुधिरहेको छ। खानमाथि यसअघि पनि आफ्नो समर्थनको आधार फराकिलो बनाउन धार्मिक भावना भड्काएको आरोप लाग्दै आएको थियो।
Shares

प्रतिक्रिया