ad ad

ग्लोबल


चीनका उदाउँदा नेता हु चुनहुवाको पोलिट्ब्युरोबाट घटुवा, उपप्रधानमन्त्री पद पनि गुमाउने

चीनका उदाउँदा नेता हु चुनहुवाको पोलिट्ब्युरोबाट घटुवा, उपप्रधानमन्त्री पद पनि गुमाउने

नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १६:२, काठमाडौँ

कुनै समय चीनको सर्वोच्च नेतृत्वको दाबेदार मानिने हु चुनहुवा आइतबार सार्वजनिक भएको पोलिट्ब्युरो सदस्यको सूचीमा पनि अटाएनन्। यसले उनको भविष्य के होला भन्ने प्रश्न खडा गरेको छ।

हु यसपटक स्थायी समितिमा पर्ने अनुमान गरिँदै आएको थियो। तर, सात सदस्यीय स्थायी समितिमा बढुवा हुनु त कता हो कता उनले पोलिट्ब्युरोको सदस्यता समेत गुमाएका छन्। 

चीनको स्टेट काउन्सिल अर्थात्, मन्त्रिपरिषद्का चार उपप्रधानमन्त्रीमध्ये एक हुन् हु। तर, उनको सो पद पनि अब जाने भएको छ। किनभने उपप्रधानमन्त्रीका लागि पोलिट्ब्युरो सदस्य पूर्वसर्त हो।

२०५ सदस्यीय केन्द्रीय समितिमा भने उनी अटाएका छन्। 

पोलिट्ब्युरो र नेतृत्व पंक्तिबाट हुको बहिर्गमनले धेरैलाई आश्चर्यमा पारेको छ। ५९ वर्षीय हु अवकाशको उमेरमा पुग्न अझै ९ वर्ष बाँकी छ। 

उनी सीको बृहत् गरिबी निवारण परियोजना कार्यान्वयनमा वफादार रहँदै आएका छन्। अनेक बाधाका माझ उनले व्यापार प्रबद्र्धन गर्दै आएका छन्।

नेसनल युनिभर्सिटी अफ सिंगापुरस्थित ली क्वान यु स्कुल अफ पब्लिक पोलिसीका सहप्राध्यापक अल्फ्रेड वु हुको करिअर निभ्न थालेको र उनी भविष्यमा प्रधानमन्त्री बन्ने आशा अब नरहेको बताउँछन्।

‘उनको उकालो चढ्दो करिअर समाप्त भएको महसुस हुँदैछ,’ वुले भने, ‘सायद उनलाई कुनै कम महत्वपूर्ण पद दिइनेछ।’

सीको कार्यकालमै अन्य पोलिट्ब्युरो सदस्यले पनि यस्तो बेहोरेका थिए। 

यसअघिको १९ औँ महाधिवेशनमा चाङ चुनसियान र लिउ छिपाओले पोलिट्ब्युरोको पद गुमाएका थिए। त्यसपछि उनीहरुलाई चीनको संसद् र सल्लाहकार समितिमा सेरेमोनियल जिम्मेवारी दिएको थियो। दुवै अवकाशको उमेरमा पुगेका थिएनन्। दुवै केन्द्रीय समितिमा भने रहेका थिए।

सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटीका चिनियाँ कानुनका प्राध्यापक हेनरी काओ यो सी युगको सुरुवात भएको बताउँछन्।

‘यो नयाँ युगको सुरुवात हो, जहाँ उमेर हद र पार्टीका विभिन्न समूहको सन्तुलनलाई खारेज गरिएको छ। पार्टीको निर्णायक समितिमा छानिने एउटै योग्यता भनेको सीप्रतिको वफादारी हो,’ काओले भने।

हु चुनहुवालाई ‘सानो हु’ भन्ने गरिन्थ्यो। किनभने उनको करिअर पूर्वराष्ट्रपति हु चिन्ताओको जस्तै देखिन्थ्यो। जो कम्युनिस्ट युथ लिग हुँदै पार्टीको उपल्लो दर्जामा पुगेका थिए। 

१९८३ मा पेकिङ युनिभर्सिटीबाट बाहिरिएपछि हुले करिब दुई दशक तिब्बतमा बिताए। लिगको कार्यकर्ता हुँदै उनी मात्र २४ वर्षको उमेर लिगको उपसचिव बनेका थिए।

चार वर्ष बेइजिङमा काम गरेपछि उनी तिब्बत फर्किए। जहाँ उनले पार्टीको कार्यकारी उपाध्यक्ष र क्षेत्रीय पार्टी स्कुलको प्रमुखको जिम्मेवारी सम्हाले। 

२० वर्षसम्म निरन्तर उनी बढुवा भइरहे।

२००८ मा उनी हेपेइ प्रान्तको गभर्नर बने। त्यसको एक वर्षपछि इनर मंगोलियाको पार्टी सचिव बने। 

२०१२ मा उनी पोलिट्ब्युरो सदस्य बने र क्वाङतोङ प्रान्तको इतिहासमै सबैभन्दा कान्छो पार्टी सचिव बने। 

क्वाङतोङ चीनको सबैभन्दा ठूलो अर्थतन्त्र भएको प्रान्त हो। त्यसैले यो लामो समयदेखि माथिल्लो पदमा उक्लिने खुड्किलो रहँदै आएको छ। १९९८ देखि क्वाङतोङ प्रान्तको पार्टी सचिव बन्ने सबै व्यक्ति स्थायी समितिमा पुगेका छन्। जसको एक मात्र अपवाद हु बनेका छन्। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .