भारतको प्रमुख प्रतिपक्षी दल इन्डियन नेशनल कंग्रेसका नेता राहुल गान्धीलाई एक वृद्धाले अंगालो हालिरहेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
कंग्रेस आईले ट्विटरमा पोस्ट गरेको भिडिओ र तस्बिरमा कंग्रेस आईका पूर्वअध्यक्ष राहुललाई एउटी आमाले छोरालाई सुम्सुम्याएर माया प्रकट गरेजस्तै दृश्य देखिन्छ।
राहुल बुधबार आन्ध्र प्रदेशमा निकै प्रफुल्लित मुद्रामा देखिए। उनी खुशी हुनुुको कारण पार्टीले ४२ दिनयता सञ्चालन गरिरहेको पैदल यात्राबारे जनस्तरबाट प्राप्त सकारात्मक प्रतिक्रिया हो।
‘भारत जोडो यात्रा’ नाम दिइएको उक्त अभियान अन्तरगत राहुल र उनको टोली अहिले आन्ध्र प्रदेशमा छ।
सन् २०१४ मा आफ्नो पार्टीले वाचा गरेअनुसार आन्ध्र प्रदेशलाई समुन्नत राज्य बनाउन चाहेको गान्धीले किसानहरुलाई बताए। त्यसका लागि पार्टीलाई साथ दिन जनतालाई आह्वान पनि गरे।
सन् २०१४ मा आन्ध्र प्रदेशको विभाजन भएर तेलंगना नामक नयाँ राज्य बन्दा कंग्रेसले त्यहाँका जनताको मन बुझेर अघि बढ्ने बताएको थियो। तर, केन्द्रीय राजनीतिदेखि स्थानीय राजनीतिमा पनि कंग्रेस आई यसबीचमा कमजोर अवस्थामा रह्यो। जसका कारण कंग्रेस आईले जनतालाई देखाएका सपना पूरा हुन पाएनन्। तेलगंनाले नयाँ राज्यको हैसियत पाउनुमा आफ्नो भूमिका महत्वपूर्ण रहेको कंग्रेसले बताउने गरेको छ।

८ बर्षअघि पार्टीले गरेको वाचा फेरि दोहो्याउन गान्धी आन्ध्र प्रदेशमा पुगेका छन्। उनले बुधबार आन्ध्र प्रदेशका किसानका सुख–दुःख सुन्ने प्रयास गरे। उनले प्रत्यक्षरुपमा जनताका मनका कुरा ध्यान दिएर सुने।
यात्रामा राहुलले आन्ध्र प्रदेशमा कंग्रेस आईको गुमेको हैसियत फर्काउन सकिने वा नसकिने पनि राम्रै आकलन गर्ने अवसर पाए।
सतहमा हेर्दा राहुल र उनको पार्टीको चाहना महंगी, असमानता र बेरोजगारीले जनतामा पारेका असर सुन्ने हो। तर, राहुलको भित्री चाहना चाहिँ भारतीय जनता पार्टी (भाजपा) को दबदबालाई चुनौति दिन र गान्धी परिवारको विरासत फर्काउन कोशिस गर्नु हो। किनकि, सन् २०१४ अघि पटक—पटक सत्ताको बागडोर सम्हालिरहेको कंग्रेस आई एक दसक यता भाजपासँग टक्कर लिनै नसक्ने अवस्थामा छ।
‘भारत जोडो यात्रा’ कंग्रेस आईका लागि निकै महत्वपूर्ण रहेको इन्डिया टुडेले लेखेको छ। यात्रा अन्र्तगत राहुल र उनका पार्टीका नेता र कार्यकर्ताले एक हजार किलोमिटरको पैदल दुरी पार गरिसकेका छन्।
राहुलसँग पार्टीका हजारौं नेता कार्यकर्ताको लामो लस्कर साथमा देखिन्छ। राहुलससँगै पार्टीका विद्वान नेता शशी थरुर, द्विग्विजय सिंह र अर्का युवा नेता सचिन पाइलट पनि यात्रामा छन्।
त्यसो त यस यात्रालाई सफल बनाउन कंग्रेसका पुराना नेता पी चिदम्बरमदेखि मुकुल वासनिक र पार्टीका अर्का विद्वान नेता जयराम रामेशको पनि उत्तिकै साथ छ।

नेता कार्यकर्तासँगै राहुललाई कंग्रेस आईकी पूर्वअध्यक्ष समेत रहेकी सोनिया गान्धी र बहिनी तथा कंग्रेस नेतृ प्रियंका गान्धिको पनि उत्तिकै साथ हुने नै भयो।
राहुलकी आमा सोनिया गान्धी कर्नाटकको मान्ड्यमा राहुलसँगै केही दिनअघि देखिइन्। यस बर्ष नै कोरोना संक्रमित भएयता पहिलोपटक उनी छोरा राहुलसँग सार्वजनिक कार्यक्रममा देखिइन्।
यात्रा अन्र्तगत राहुलले वृद्ध, युवा, सीमान्तिकृत जनता र महिलाका कुरा सुन्दै हिँडेका छन्। सबैतिर उनले वाहीवाही पाइरहेका छन्। राहुललाई जनताले ठाउँठाउँमा माला पहिर्याइदिएका छन्।
गत सेप्टेम्बर ७ मा दक्षिण भारतको कन्याकुमारीस्थित गान्धी मण्डपबाट शुरु भएको ‘भारत जोडो यात्रा’ कंग्रेस आई र राहुल दुवैका लागि महत्वपूर्ण ठानिएको छ।
एकातिर राहुल आफूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको विकल्प दिन सक्ने राष्ट्रिय नेताका रुपमा सशक्त रुपमा अघि बढाउन चाहन्छन् भने अर्कोतिर बीजेपीलाई राजनीतिक रुपमा सिधा टक्कर दिन चाहन्छन्।
यसका लागि राहुलले ‘भारत जोडो यात्रा’ लाई महत्वपूर्ण राजनीतिक कार्यक्रम ठानेका छन्। ‘भारत जोडो यात्रा’ ले उनलाई राजनीतिक रुपमा गति बढाउन मद्दत मिल्नुका साथै पार्टीलाई जनता माझ पुनर्ताजगी गर्न सहयोग मिल्ने भारतीयहरुमाझ विश्लेषण भइरहेको छ।
कंग्रेस आईको देशव्यापी जनअभियानप्रति भारतभित्र मात्र नभएर अन्यत्र पनि निकै चासो छ। छिमेकी मुलुक नेपालसहित विश्वका अन्य देशले पनि भारतको प्रतिपक्षी दलको सडक उपस्थितिलाई नजिकबाट नियालिरहेका छन्।

‘भारत जोडो यात्रा’ मा कंग्रेस आईका हजारौं नेता, कार्यकर्ता सहभागी छन्। यात्राले १५७ दिनको अवधिमा ३५७० किलोमिटर दुरी पार गर्नेछ। भारतका ११ राज्य पार गर्दै उक्त यात्रा कस्मिर राज्यको राजधानी श्रीनगर पुगेर बिसर्जन हुनेछ।
आम जनतासँग सिधा जोडिन कंग्रेस आईले ल्याएको यो नै पछिल्लो वर्षको सबैभन्दा ठूलो कार्यक्रम रहेको बताइएको छ। पार्टीका पूर्वअध्यक्ष राहुल गान्धी सहित ११९ कंग्रेस आईका नेता यात्रामा प्रत्यक्ष भाग लिएर जनतासँग मन मिलाउने प्रयास गरिरहेका छन्।
कंग्रेस आईको उक्त यात्राले भारतलाई भावनात्मक रुपमा जोड्ने बताएको छ। पार्टीले यात्रालाई ‘भारतको एकता, सांस्कृतिक विविधता र जनताको अदम्य सहनशीलताको जनउत्सव’ भनेको छ।
‘यात्राप्रति जनताको अभूतपूर्व साथ छ। लाखौं जनता कंग्रेस नेताहरुसंगै यात्रामा सहभागी भएर त्यसको पुष्टि गरेका छन्। जनताले आर्थिक, सामाजिक र राजनीतिक मुद्दामा विभाजित पारिएको मुलुकको अवस्थाविरुद्ध आफ्नो आवाज यो यात्रामार्फत् सशक्त रुपमा उठाएका छन्’ कंग्रेस आईले यात्राबारे भनेको छ।
‘भारत जोडो यात्रा’ कंग्रेस आईले आफ्नो दलको मात्र नभएर सबैको भएको दाबी गरेको छ। कंग्रेस आईले सञ्चालन गरेको ‘भारत जोडो यात्रा’ ले राजनीतिक मुद्दाका अलावा आर्थिक र सामाजिक मुद्दा पनि उठाएको छ।

‘मुलुकमा व्याप्त बेरोजगारी र मुद्रास्फिति, घृणाको र विभाजनको राजनीति र राजनीतिक प्रणालीको अधिक केन्द्रीयकरण जस्ता विषयलाई यस यात्राले सम्वोधन गर्ने प्रयत्न गर्नेछ’ कांग्रेस आईले भनेको छ।
मोदी नेतृत्वको सरकारको दुई कार्यकालमा भारतमा जातीय, धार्मिक, राजनीतिक र आर्थिक अतिवाद फस्टाएको आरोप कंग्रेस आईको छ। राष्ट्रवाद देखि विदेश मामिलाका अनेकन सवालमा कंग्रेस आईका पालामा लिइएका कदमलाई भाजपाले बिर्साइदिन सफल भएको धेरै विश्लेषकको भनाइ छ।
राहुल गान्धी ‘भारत जोडो यात्रा’ मा होमिइरहँदा भारतका सबैजसो राज्यमा सत्ताधारी भाजपाको जबरजस्त उपस्थिति देखिन्छ।
बिजेपी नेतृत्वले मुलुकलाई सही बाटोमा लैजान नसकेको टिप्पणी कंग्रेस आईले गरिरहँदा उसले आफ्नो राजनीतिक हैसियत अबको चुनावमार्फत् फर्काउन सक्ला कि नसक्ने भन्ने विश्लेषण भारतमा शुरु भएको छ।
राहुलका उत्तराधिकारीका रुपमा मल्लिकार्जुन खड्गे पार्टी अध्यक्षको जिम्मेवारीमा आइसकेका छन्। २४ बर्षपछि नेहरु–गान्धी परिवारभन्दा बाहिरबाट कंग्रेस आईको नेतृत्व चयन भएको छ।

ट्रकमै खाँदै, ट्रकमै सुत्दै
राहुलको नेतृत्वमा जारी ‘भारत जोडो’ यात्राका केही रोचक पक्षहरु छन्। राहुलका लागि ओछ्यानसहितको कन्टेनर(ट्रक)को प्रवन्ध गरिएको छ। सबै यात्रुहरुले ट्रकभित्र रात बिताउँछन्। ट्रक भित्र बिजुलीको पनि प्रवन्ध गरिएको छ।
यात्रामा ६५ वटा कन्टेनरहरु प्रयोग गरिएका छन्। यीमध्ये ६० वटा आवासका लागि प्रयोग हुन्छन् भने पाँचवटा अस्पलाल, सम्मेलन कक्ष र वासरुमका रुपमा प्रयोगमा ल्याइने गरेको छ। कन्टेनरमा एउटादेखि १२ वटासम्म शयनकक्षहरु जडान गरिएका छन्।
कन्टेनरहरु हरेक दिन अलग स्थानमा पुगेर बास बस्छन्। ३ सय जनाका लागि दैनिक खाजा र खाना तयार पारिन्छ। भोजनका लागि अस्थायी मेस खडा गरिएकाे छ।
हरेक दिनको यात्रा बिहान साढे ६ बजेदेखि शुरु भएर साँझ ७ बजे अन्त्य हुन्छ। १५७ दिनमा कन्याकुमारीदेखि कस्मिरसम्म ११ राज्यको ३५७० किमी दुरी पार गर्ने राहुल गान्धीको लक्ष छ।

Shares

प्रतिक्रिया