बेलायतका राजा चार्ल्स तृतीयले आफ्नी आमा अर्थात् महारानी एलिजाबेथको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
बकिङ्घम प्यालेसका अनुसार ९६ वर्षीया महारानीको स्थानीय समयानुसार बिहीबार दिउँसो स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको हो। उनको निधनसँगै उनका जेठा छोरा चार्ल्स राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बनेका छन्।
राजाका तर्फबाट विज्ञप्ति जारी गर्दै चार्ल्स तृतीयले महारानीको निधन आफू र आफ्नो परिवारका सबै सदस्यका लागि ठूलो दुःखको क्षण भएको उल्लेख गरेका हुन्।
‘हामी एक आदरणीय सार्वभौम र धेरै प्यारी आमाको निधनमा गहिरो शोक व्यक्त गर्दछौं’, उनले भनेका छन्।
उनको अभाव देशभरका नागरिकले मात्र होइन, विश्वभरका धेरै मानिसले महसुस गर्ने राजा चाल्र्स तृतीयले उल्लेख गरेका छन्।
यो शोकको घडीमा महारानीप्रति सम्मान र श्रद्धाञ्जलि तथा आफ्नो परिवारप्रति समवेदन व्यक्त गर्ने सबैप्रति अभार प्रकट गरेका छन्।
Shares
प्रतिक्रिया