दार्जिलिङको सत्ता अनित थापाको हातमा पुगेको छ।
थापा नेतृत्व भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले दार्जिलिङको स्थानीय व्यवस्था गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको चुनाउ जितेसँगै उनको हातमा दार्जिलिङको सत्ता पुगेको हो।
आज घोषित मतपरिणाम अनुसार अनित थापाको पार्टीले ४५ मध्ये २७ सिटमा विजय प्राप्त गरेको छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको सत्ता जित्न बहुमत सङ्ख्या २३ चाहिन्छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको चुनाउ २६ जुनका दिन भएको थियो।
अर्कोतर्फ अजय एड्वर्ड्स नेतृत्व हाम्रो पार्टीले ८, पश्चिम बङ्गालको सत्तारूढ दल तृणमूल कङ्ग्रेसले ५ र स्वतन्त्र उम्मेदवारले ५ सिट जितेका छन्।
यद्यपि छुट्टै राज्य गोर्खाल्यान्ड चाहने बहुसङ्ख्यक पार्टीले न त गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको चुनाउमा भाग लिए न जनताको उत्साह नै यस चुनाउमा देखिएको थियो, जसका कारण ६० प्रतिशतभन्दा कम मतदान भएको थियो।
अनित थापाको पार्टीले गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको चुनाउ जितेपछि अब उनी नै यसका प्रमुख कार्यपाल भएर बस्नेछन्।
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीका निकट मानिने अनित थापा यसभन्दा अघि २०१९ देखि २०२१ गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका मनोनीत अध्यक्ष रहिसकेका छन्।
खरसाङका अनित थापा शुरूमा विमल गुरुङको पार्टी गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय समितिमा सहसचिवको पदमा थिए । तर २०१७ को गोर्खाल्यान्ड आन्दोलन चरममा हुँदा विमल गुरुङलाई छाडेर अनित थापा र विनय तामाङ बङ्गाल सरकारसँग मिल्न पुगे।
गुरुङलाई धोका दिएर ममता ब्यानर्जीसँग अनित थापा र विनय तामाङ मिलेपछि त्यसताक गोर्खाल्यान्ड आन्दोलन भङ्गालिएको थियो । यी दुवैलाई प्रयोग गरी बङ्गाल सरकारले १०५ दिनसम्म चलेको गोर्खाल्यान्ड आन्दोलनलाई कठोरतापूर्वक दबाउन सफल बन्यो।
२०२१ को बङ्गाल विधानसभा चुनाउपछि विनय तामाङले साथ छाडेपछि अनित थापाले नयाँ पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा गठन गरेका हुन्। पार्टी गठन गरेको पुग न पुग एक वर्षपछि नै थापा दार्जिलिङको सत्तामा बस्न सफल भएका छन्।
प्रतिक्रिया