ग्लोबल


पुटिनको घोषणा : एकध्रुवीय विश्वको अन्त्य भइसक्यो

पुटिनको घोषणा : एकध्रुवीय विश्वको अन्त्य भइसक्यो

नेपालखबर
असार ४, २०७९ शनिबार १७:४८, काठमाडौँ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एकध्रुवीय विश्वको अन्त्य भएको घोषणा गरेका छन्। शुक्रबार सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरमलाई सम्बोधन गरेका पुटिन पश्चिमा मुलुकहरुको विरुद्धमा चर्को रुपमा प्रस्तुत भए।

‘जब अमेरिकाले शीतयुद्ध जित्यो, तब उसले आफूलाई ईश्वरको दूत घोषणा गर्यो। उनीहरुको कुनै जिम्मेवारी छैन, मात्र स्वार्थ छ,’ पुटिनले भने, ‘ती स्वार्थलाई उनीहरुले पवित्र घोषणा गरेका छन्। यो एकतर्फी चालाले विश्वलाई अस्थिर तुल्याएको छ।’

पुटिनको सम्बोधन साइबर आक्रमणको कारण करिब डेढ घण्टा ढिला सुरु भएको थियो। 

‘उनीहरु आफ्नै विगतका भ्रममा बाँचिरहेका छन्। आफूले सबैथोक जितिसकेको उनीहरु ठान्छन्। सबैथोक उनीहरुलाई आफ्नो उपनिवेशजस्तो लाग्छ, आँगनजस्तो लाग्छ। र, ती स्थानमा बस्ने मानिसहरुलाई उनीहरु दोस्रो दर्जाको नागरिक ठान्छन्,’ उनले भने।

विश्वमा बढिरहेको खाद्यान्नको मूल्यको जिम्मेवार अमेरिका र युरोपेली संघ रहेको उनको आरोप थियो।

रुसमाथि लगाइएको नाकाबन्दीलाई उनले ‘उन्माद’ र ‘गैरजिम्मेवारपन’को संज्ञा दिए।

‘उनीहरुको नियत स्पष्ट छ– उनीहरु रुसको अर्थतन्त्र ध्वस्त पार्न चाहन्छन्, आपूर्ति व्यवस्था तोडेर, राष्ट्रिय सम्पत्ति रोक्का गरेर र जीवनको गुणस्तर खस्काएर। तर, ती सफल भएनन्,’ उनले भने, ‘यसले काम गरेन। रुसी व्यवसायीहरु एकसाथ खडा भएर काम गरिरहेका छन्। एकएक कदम गर्दै हामी आर्थिक अवस्थालाई सामान्य बनाउँदैछौँ।’

पुटिनले आफ्ना नागरिक र दोनबासका बासिन्दाको रक्षाका लागि युक्रेनमा आक्रमण गर्नुपरेको दाबी गरे।

युरोपेली संघले आफ्नो सार्वभौमिकता गुमाएको उनको टिप्पणी थियो।

‘युरोपेली संघले आफ्नो सार्वभौमिकता पुरै गुमाएको छ। युरोपका सम्भ्रान्तहरु अरुको कसैको इसारामा नाच्दैछन् र आफ्नो जनतालाई नोक्सान पारिरहेका छन्,’ उनले भने।

युक्रेन ईयूको सदस्य बन्ने कुरामा आफ्नो आपत्ति नभएको बताउँदै उनले भने, ‘ईयू नेटोजस्तो सैन्य–राजनीतिक गठबन्धन होइन। त्यसैले यसमा हाम्रो अडान सधैँ एउटै छ। हामी यसविरुद्ध छैनौँ।’ एजेन्सी 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .