फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले आफूलाई अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले झुट बोलेको बताएका छन्।
मौरिसनले पनडुब्बी सम्झौताको विषयलाई लिएर झुट बोलेको आरोप लगाएका हुन्। तपाईँलाई मौरिसनले झुट बोलेको जस्तो लाग्छ ? भन्ने प्रश्नमा म्याक्रोँले भने, ‘लाग्छ होइन मलाई थाहा छ।’
अमेरिका–बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौता (अकस)पछि अष्ट्रेलियाले फ्रान्ससँगको ३७ अर्ब डलरको पनडुब्बी खरिद सम्झौता रद्द गरेको थियो। मौरिसनले भने यो फ्रान्समाथिको बेइमानी नभएको बताउँदै आएका छन्।
गत सेप्टेम्बरमा सुरु भएको यो विवादपछि पहिलोपटक पहिलोपटक म्याक्रोँ र मौरिसनबीच भेटवार्ता भएको हो।
अब पुनः मौरिसनलाई विश्वास गर्न सकिन्छ त ? भन्ने प्रश्नमा म्याक्रोँले अब अष्ट्रेलियाले कस्तो व्यवहार गर्छ त्यसमा भर पर्ने बताएका छन्। अकस सम्झौताको कारण तीनै मुलुकसँग फ्रान्सको सम्बन्ध तनावपूर्ण बनेको छ।
मौरिसनले भने आफूले म्याक्रोँसँग झुट नबोलेको उल्लेख गरेका छन्। उनले दुई मुलुकबीचको सम्बन्ध पुनः सुधारको काम यसअघि नै सुरु भइसकेको पनि बताएका छन्।
Shares

प्रतिक्रिया