फाइजरले विकास गरेको कोभिड–१९ विरुद्धको खोप बालबालिकामा लक्षणसहितको संक्रमण नियन्त्रणका लागि ९१ प्रतिशत प्रभावकारी पाइएको छ। शुक्रबार सार्वजनिक गरिएको अध्ययनको नतिजाअनुसार पाँचदेखि ११वर्ष उमेर समूहमा पनि यो खोप निकै प्रभावकारी देखिएको हो।
अमेरिकाले यो उमेर समूहमा पनि खोप कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको समयमा यो नतिजा सार्वजनिक भएको हो।
आगामी महिनाबाट अमेरिकामा बालबालिकालाई पनि कोरोना खोप लगाउन सुरु हुनेछ। आगामी साता अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले सार्वजनिकरुपमा यो खोपलाई अनुमति दिने वा नदिने भन्ने निर्णय गर्नेछ।
यसअघि नै यो खोप १२ वर्ष वा सोभन्दा बढी उमेरका मानिसमा प्रयोगको अनुमति दिइसकिएको छ।
फाइजरले दुई हजार २६८ बालबालिकालाई खोपको परीक्षणमा सहभागी गरेको थियो। उनीहरुलाई तीन साताको अन्तरमा दुई डोज खोप दिइएको थियो। यसअघि १२–१८ वर्ष उमेर समूहमा पनि फाइजरको खोप ९३ प्रतिशत प्रभावकारी पाइएको थियो।
Shares
प्रतिक्रिया