न्युजिल्याण्डले उमेर पुगेको जनसंख्यामध्ये ९० प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएपछि लकडाउन अन्त्य गर्ने घोषणा गरेको छ। शुक्रबार न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा एर्डनले लकडाउन अन्त्य गर्न ९० प्रतिशत मानिसले कोरोना खोप लगाउनुपर्ने बताएकी हुन्।
न्युजिल्याण्डको अकल्याण्डमा पछिल्लो दुई महिनाभन्दा लामो समयदेखि लकडाउन जारी छ। नयाँ घोषणाअनुसार १२ वर्षभन्दा बढी उमेरका ९० प्रतिशत मानिसले खोप लगाएपछि मात्र लकडाउन हट्नेछ।
त्यस्तै न्युजिल्याण्डका अन्य क्षेत्रमा पनि ९० प्रतिशतले कोरोना खोप लगाएपछि उनीहरुलाई थप स्वतन्त्रता दिइनेछ। न्युजिल्याण्डले कोरोना लकडाउन हटाउन राखेको मापदण्ड अन्य मुलुकको तुलनामा धेरै हो।
तर, प्रधानमन्त्री एर्डनले भने अबको केही सातामा नै यो मापदण्ड पूरा हुने बताएकी छिन्। अहिले अकल्याण्डका ८९ प्रतिशत योग्य जनसंख्याले कम्तीमा एक डोज कोरोना खोप पाएका छन् भने ७३ प्रतिशतले पूरा डोज खोप लिएका छन्।
विपक्षीले भने सरकारले अहिले राखेको लक्ष्य पूरा गर्न कठिन रहेकाले न्युजिल्याण्डमा अझै केही महिना लकडाउन जारी रहन सक्ने आशंका व्यक्त गरेका छन्।
Shares
प्रतिक्रिया