ग्लोबल


त्रिदेशीय परमाणु सम्झौताले चीन क्रुद्ध, बेइजिङले भन्यो : संकुचित दिमागको उपज

त्रिदेशीय परमाणु सम्झौताले चीन क्रुद्ध, बेइजिङले भन्यो : संकुचित दिमागको उपज

नेपालखबर
असोज १, २०७८ शुक्रबार १४:४४, काठमाडौँ

चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको ऐतिहासिक परमाणु सम्झौताको निन्दा गरेको छ। त्यस सम्झौताले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने पनि चीनले बताएको छ। 

बेइजिङले त्रिदेशीय सम्झौताको आलोचना गर्दै त्यसलाई संकुचित दिमागको उपज पनि भनेको छ। 

अस्ट्रेलियालाई आणविक ऊर्जामा चल्ने पनडुब्बी निर्माण गर्न अमेरिका र बेलायतले सहयोग गर्ने सम्झौतामा उल्लेख छ। 

विवादित दक्षिण चीन सागरमा बेइजिङलाई टक्कर दिने रणनीतिस्वरूप अमेरिका र बेलायतले अस्ट्रेलियालाई सहयोग गरेका हुन्। सो क्षेत्र लामो समयदेखि तनावको केन्द्र बनेको छ। 

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले त्रिदेशीय गठबन्धले क्षत्रीय शान्तिमा गम्भीर असर गरेको र सैन्य होड तीव्र पारेको बताएका छन्। 

तीन देश शीतयुद्धको मानसिकताबाट गुज्रिएको भन्दै उनीहरूले आफ्नै खुट्टामा आफै बन्चरो हानेको उनले आरोप लगाएका छन्। 

चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले अस्ट्रेलिया पनि चीनको विरोधमा उत्रिएको टिप्पणी गरेको छ।  

अमेरिकाले ६० वर्षपछि दोस्रोपटक आफ्नो पनडुब्बीहरू प्रविधि अस्ट्रेलियालाई बाँडेको हो। यसअघि उसले बेलायतलाई यस्तो प्रविधि बाँडेको थियो। 

अस्ट्रेलियाले निर्माण गर्न लागेको आणविक सम्पन्न पनडुब्बीले अन्य परम्परागत शक्तियुक्त जहाज सजिलै पत्ता लगाउनेछ। 

ती पनडुब्बीहरू महिनौंसम्म पनि पानीभित्र रहन सक्छन र लामो दूरीसम्म मिसाइल प्रहार गर्न सक्छन्। 

अकस नाम दिइएको सो सम्झौतामा अमेरिकी राष्ट्रपति जोन बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बुधबार हस्ताक्षर गरेका छन्। 

इन्डो-प्यासिफिक क्षेत्रमा तीनैजना नेताहरूले सुरक्षा चासो देखाएका छन्। 

‘साझेदार देशबीच साझा मूल्यको रक्षा तथा इन्डो प्यासिफिक क्षेत्रको सम्बर्द्धन गर्नु समान सोच भएका मित्रराष्ट्रका लागि एउटा एैतिहासिक अवसर हो,’ तीन देशका नेताद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अकस सम्झौता दोस्रो विश्वयुद्धपछिकै सम्भवत: सबैभन्दा महत्वपूर्ण सुरक्षा सम्झौता भएको विज्ञहरूले बताएका छन्। 

आणविक ऊर्जाबाट पनडुब्बी सञ्चालन गर्ने अस्ट्रेलिया सातौं देश हुनेछ। सम्झौतामा कृत्रिम गुप्तचरी, क्वान्टम प्रविधि र साइबर पक्ष समेटिएको छ। 

अस्ट्रेलियाले लामो दूरीको तोमाहाक क्रुज मिसाइल समेत पाउनेछ, त्यसको बदलामा अमेरिकी सेनाको समूह उत्तरी अस्ट्रेलियामा रहने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad