ग्लोबल


बन्द गरियो काबुल विमानस्थल, अफगानिस्तानबाट भाग्न चाहनेहरूको विचल्ली

बन्द गरियो काबुल विमानस्थल, अफगानिस्तानबाट भाग्न चाहनेहरूको विचल्ली

सीमा पर्खाल नाघेर अफगानिस्तानबाट भाग्ने कोसिस गर्दै अफगान नागरिक। तस्बिर : रोयटर्स।


नेपालखबर
भदौ १७, २०७८ बिहिबार ५:४३, काठमाडौँ

अमेरिकासहित अन्य देशका सैनिक अफगानिस्तानबाट स्वदेश फिर्ता भएसँगै त्यहाँको राजधानी काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ।

हवाई मार्गबाट देशबाट बाहिरने समयसीमा अन्त्य र तालिबानका आतंककारीको क्रूरताको त्रासले अफगान नागरिक ठूलो संख्यामा टर्की, इरान र पाकिस्तानका सीमातर्फ गइरहेका छन्, कुनै हिसाबले अन्य देशमा गएर ज्यान जोगाउने उद्देश्यले।  

काबुलको विमानस्थल बन्द भएपछि तालिबानले प्रतिशोध साँध्ने डरले अफगान नागरिक व्यक्तिगत हिसाबले इरान, पाकिस्तान, टर्की र मध्य एसियाली देशका सीमातर्फ गइरहेका हुन्। उनीहरू सीमाबाट सुरक्षित रूपमा अन्य देश प्रवेश गर्ने कोसिस गरिरहेका छन्। पाकिस्तानको खैबरनजिक तोरखमा ठूलो संख्यामा मानिस जम्मा भएका छन्। यी मानिस पाकिस्तानतर्फको गेट खुल्ने प्रतीक्षामा छन्। 

एक प्रत्यक्षदर्शीका अनुसार इरानसँगको सीमास्थित इस्लाम कला पोस्टमा हजारौं मानिस देश छाड्ने लाइनमा छन्। इरान प्रवेश गर्न सफल एक अफगान नागरिकले इरानी सुरक्षा बलबीच रहँदा पहिलेभन्दा धेरै राहत महसुस भएको बताए। 

उत्तरी अफगानिस्तानसँग जोडिएको उज्बेकिस्तानको जमिनी सीमा अहिले पनि बन्द छ। तर त्यहाँको सरकारले विमान सेवा सुरु हुनासाथ हवाई मार्गबाट अफगान नागरिकलाई जर्मन जान सहयोग गरिने बताएको छ। 

तालिबानले यही गत अगस्ट १५ तारिख अफगानिस्तान आफ्नो कब्जामा लिएपछि अमेरिकाले त्यहाँबाट १ लाख २३ हजार जनालाई बाहिर निकाले, जसमा अमेरिकी सैनिक, नागरिकका साथै अफगान नागरिक पनि छन्, जसले २० वर्षसम्मको युद्धमा अमेरिकालाई मद्दत गरेका थिए।

तर समयसीमा (डेडलाइन) अगस्ट ३१ तारिखभन्दा २४ घण्टाअघि नै २० वर्षदेखिको युद्ध अन्त्य गर्दै अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता लगिसकेको छ।

संयुक्त राष्ट्र संघको मानव अधिकार संगठनले यस वर्षको अन्त्यसम्म ५ लाखभन्दा बढी अफगान नागरिकले देश छाड्ने आकलन गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .