ad ad

ग्लोबल


'असरफ घानीले अफगानिस्तान छाड्दा चारवटा कार र हेलिकोप्टर भरेर पैसा लगे'

'असरफ घानीले अफगानिस्तान छाड्दा चारवटा कार र हेलिकोप्टर भरेर पैसा लगे'

नेपालखबर
साउन ३२, २०७८ सोमबार २२:११, काठमाडौँ

काबुल स्थित रूसी दूतावासले अफगानिस्तानका राष्ट्रपति अशरफ घानीबारे अचम्म लाग्दो समाचार सार्वजनिक गरेको छ। 

सोमवार रुसको आईए समाचार एजेन्सीले आफ्नो दूतावासलाई उद्धृत गर्दै दिएको समाचार अनुसार घानीले देश छाड्दा आफूसँगै चारवटा कार र हेलिकोप्टरमा भरेर नगद लगेका छन्। 

नगद यति धेरै थियो कि जुन हेलिकोप्टरमा नअटेपछि त्यसलाई एयरपोर्टमा छाडेर घानीले देश छाडेका छन्। 

तालिबानले पनि काबुल विमानस्थलमा ठूलो मात्रामा नगद मिलेको दाबी गरेको थियो। त्यहाँ भेटिएको पैसा ५० लाख अमेरिकी डलर आसपास छ। तर यो दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

तालिबानको उक्त दाबीबीच अब रुसको काबुलस्थित दूतावासले यस खबरको थप पुष्टि गरेको छ।

काबुलमा रूसी दूतावासकी प्रवक्ता निकिता आईचेन्कोले राष्ट्रपति असरफ घानीले ठूलो परिमाणको नगदसहित देश छाडेको बताइन्। 

'घानीले काबुल छोडेका छन्। चारवटा कार र एक हेलिकोप्टर नगदसहित उनी काबुलबाट हिँडेका थिए। नगद यति धेरै थियो कि घानीका सहयोगीले सम्हाल्न सकेका थिएनन्। त्यसैले केही नगद काबुल विमानस्थलमै छुटेको थियो', उनले भनेकी थिइन्। 

उक्त वक्तव्यपछि उनले समाचार एजेन्सीहरूसँग पनि त्यही कुरा दोहोर्‍याइन्। उनले यो जानकारी आफूलाई घानीले काबुल छाड्दै गर्दा देख्ने प्रत्यक्षदर्शीले दिएको बताएकी छन्। 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका अफगान मामिला सहयोगी जामिर काबुलोवले आइतवार घानीले देशबाट भाग्ने क्रममा काबुलमा केही न केही रकम छाडेको हुन सक्ने बताए। 

'भागेको सरकारले कति पैसा छाडेको अहिले नै एकिन गर्न सकिँदैन', उनले भने, 'हामीलाई आशा छ केही न केही पैसा छाडिएको हुनुपर्छ। किनकि पूरै नगद लैजान त सम्भव नै थिएन।' 

अशरफ घानी र उपराष्ट्रपति सालेहले आइतवार अपरान्ह काबुल छाडेका थिए। उनीहरुसँग निकट सहयोगी र नातेदार पनि थिए। उनीहरुले कुन जहाजबाट देश छाडे भन्ने पनि खुलेको छैन। 

यसका अलावा अहिले उनीहरु कहाँ छन् भन्ने पनि खुलेको छैन। केही समाचारमा उनीहरु दुवैजना ताजिकिस्तान गएको बताइएको थियो। तर उनीहरु अमेरिका गएको पनि बताइएको छ।

आइतवार फेसबुकमा एक पोस्ट राख्दै घानीले यदि उनी काबुलमा रोकिएको भए अवस्था रक्तपातपूर्ण हुने जिकिर गरेका थिए। 

त्यहीकारण आफूले देश छाड्न उचित ठानेको उनले बताएका छन्। उनले देशमा शान्ति कायम राखिराख्न पनि तालिबानसँग अपिल गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .