ad ad

कारोबार


शेष घलेको होटल शेराटन : निर्माण अवधि ४ वर्ष लम्बिँदा ४ अर्बले बढ्यो लागत

शेष घलेको होटल शेराटन : निर्माण अवधि ४ वर्ष लम्बिँदा ४ अर्बले बढ्यो लागत

होटलको डिजाइन र लैनचौरनजिकै निर्माणाधीन होटल। तस्बिर: विजय सिंह


वसन्त अर्याल
भदौ १, २०७८ मंगलबार ९:१४, काठमाडौँ

पाँचतारे होटल शेराटनको निर्माण हुन अझै डेढ वर्ष लाग्ने भएको छ। 

सन् २०१८ मा सञ्चालन लक्ष्य राखिएको होटल निर्माण अवधि ४ वर्ष लम्बिएको हो। 

होटलको प्रवर्द्धक अष्ट्रेलियाको एमआईटी ग्रुप होल्डिङ्स रहेको छ भने व्यवस्थापन तथा सञ्चालन सिंगापुरको स्टारवुड ग्रुपले गर्नेछ। 

एमआईटी होल्डिङका प्रमुख गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष   शेष घले हुन्। नेपाली मूलका घले अष्ट्रेलियन अर्बपति हुन्। 

घलेले सन् २०१४ मा काठमाडौंमा पत्रकार सम्मेलन गर्दा २०१८ बाट होटल सञ्चालनमा ल्याउने उल्लेख गरेका थिए। होटल शेराटनले २०१४ मै निर्माण सुरु गरिए पनि भूकम्प र नाकाबन्दीको कारणले समेत पूर्वनिर्धारित लक्ष्यभन्दा ढिलाइ भएको जनाएको छ। 

शेष घलेले ८ अर्ब रुपैयाँको लगानीमा निर्माण हुने होटलमा शतप्रतिशत एमआईटी ग्रुपको लगानी हुने उल्लेख गरेका थिए। निर्माण अवधि बढेसँगै लगानी समेत बढेको होटलले जनाएको छ। 

एमआईटी ग्रुप होल्डिङ्स नेपालका अप्रेसन म्यानेजर सुरेश चित्रकारले सन् २०१८ मै निर्माणको लक्ष्य राखेको होटल भूकम्प, नाकाबन्दीसँगै कोभिडले निर्माण अवधि लम्बिएको बताए। 

‘होटल निर्माण ढिलाइ हुनुमा कोभिड मुख्य कारण रहेको छ। हाम्रो सबै सामग्री विदेशबाट आउनुपर्नेछ, त्यो आउनसकेको छैन’, चित्रकारले नेपालखबरसँग भने, ‘दक्ष जनशक्ति पनि विदेशबाटै ल्याउनुपर्नेछ। कोभिडको कारण नेपालमै भएको जनशक्ति पनि प्रयोग गर्न सकिएन।’ 

चित्रकारका अनुसार होटलको स्ट्रक्चरको काम सकिएको छ। भित्रको डिजाइन र बाहिरको सिसा राख्न बाँकी छ। 

होटलको बाहिर प्रयोग हुने सिसा बाहिरबाटै ल्याउनुपर्ने हुन्छ। होटलको भित्र प्रयोग हुने इन्टेरियर डिजाइनका सामग्री पनि अधिकांश बाहिरबाटै ल्याउनुपर्नेछ। 

‘कोभिडको कारण डेढ वर्ष ढिलाइ भएको छ’, उनले भने, ‘२०२२ को अन्तिममा होटल अपरेसन गर्ने तयारीको साथ काम भइरहेको छ।’ 

होटल निर्माणका कन्सल्ट्यान्ट, सुपरभाइजरहरु चीनलगायतका देशबाट आउन नसकेको होटलले जनाएको छ। 

सबै सामग्री विदेशबाट आउनुपर्ने भएकाले चाहेजसरी कामलाई अघि बढाउन नसकेको चित्रकारले बताए। 

१३ रोपनी जग्गामा १७ तले होटल 
होटल काठमाडौं कान्तिपथस्थित केशरमहलसँगै रहेको करिब १३ रोपनी क्षेत्रफलमा निर्माण हुँदै छ। कम्पनीका अुनसार १७ तलाको होटलमा तीन तला बेसमेन्ट, लबीसहित १३ वटा तलामा गेष्टरुम हुनेछन्। होटेलमा चारवटा रेस्टुरेन्ट, स्पा, स्विमिङ पुल, फिटनेस सेन्टर र सबैभन्दा ठूलो हल रहनेछ।  

शेराटन होटल नारायणहिटी दरबार संग्राहलयको छेउमा छ। होटलनजिकै उपत्यकाको पर्यटकीय केन्द्र ठमेल बजार छ। होटलको माथिल्लो भागबाट नारायणहिटीसहित काठमाडौं उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ।   

१२ अर्ब लगानी
२ सय २२ वटा कोठा रहने शेराटन होटेलमा नेपालमा हालसम्मकै सबैभन्दा ठूलो लगानी भएको होटल हो। निर्माण अवधि बढेसँगै होटलको लागत समेत बढेको छ। 

‘सुरुमा करिब ८ अर्बमा निर्माणसम्पन्न गर्ने लक्ष्य राखिएको होटलको लागत १२ अर्ब पुग्ने अनुमान गरिएको छ’, अप्रेसन म्यानेजर चित्रकारले भने, ‘अमेरिकी डलरको मूल्य बढ्दै छ, हामीले प्रयोग गर्ने  निर्माण सामग्री सबै डलर तिरेर ल्याउने हो, लागत बढेको बढ्यै छ।’

होटलको मुख्य लक्ष्य गुणस्तरीय पर्यटक नेपाल भित्र्याउनु रहेको उल्लेख गरेको छ। होटल म्यानेजमेन्टमा स्टारवुड होटल एन्ड रिसोर्ट वर्ल्डवाइड इंकले गुणस्तरीय पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय सञ्जालमार्फत विश्वभर मार्केटिङ गर्ने कम्पनीले जानकारी दिएको छ। 

कोभिड महामारीको समयमा होटल सञ्चालन ल्याए पनि पर्यटक आउने सम्भावना छैन। पर्यटन व्यवसायीले अझै २ वर्ष विदेशी पर्यटकको चलायमान नहुने बताउँदै आएका छन्। शेराटन होटल पनि तत्काल पर्यटक आउने नदेखेर निर्माणमा ढिलाइ गरिरहेको देखिन्छ। 

‘अहिले नै होटल सञ्चालन गरे पनि नाफामा जाने देखिँदैन। कोरोनाको महामारी नियन्त्रण नभएसम्म पर्यटक आउँदैनन्’, चित्रकारले भने, ‘तर शेराटन होटल पर्यटक नआउने कारणले भन्दा पनि निर्माणको काम नसकिएकाले नै ढिलाइ भइरहेको हो।’

अन्तर्राष्ट्रिय ‘चेन’ होटल
अन्तर्राष्ट्रिय चेन शेराटन छिमेकी मुलुक भारत र चीनमा समेत विस्तार भएको छ। 

१ सयभन्दा बढी देशमा उपस्थित रहेको शेराटन होटल र यसको सञ्जालमार्फत नेपालको पर्यटन उद्योगको प्रवर्द्धन हुने र नेपालमा स्तरीय पर्यटकको आगमन वृद्धि हुने होटलले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .