गण्डकी प्रदेशका पूर्वसांसद,पोखरा महानगरपालिकाका पूर्वमेयर तथा एमालेका केन्द्रीय सदस्य कृष्ण थापालाई आज अन्तिम बिदाइ गरिएको छ।
यही फागुन २८ गते बिहीबार पार्टीको कास्की क्षेत्र नम्बर १ को चुनावी समीक्षा बैठकस्थलमै हृदयाघात हुँदा बितेका उनको आज श्रद्धाका फूलसहित अश्रुपूर्ण बिदाइ गरिएको हो।
शनिबार उनको पार्थिव शरीरलाई पोखराको नयाँबजारमा रहेको एमाले पार्टी कार्यालय ल्याइएको थियो। जहाँ एमालेका हजारौँ कार्यकर्ता र शुभचिन्तकले उनीप्रति श्रद्धा व्यक्त गरे।

लगत्तै सोही ठाउँमा रहेको पोखरा महानगरपालिकाको कार्यालयमा अर्को श्रद्धाञ्जली सभा आयोजना गरियो।
२०५४ सालदेखि २०५९ सालसम्म पोखराको मेयर रहेका थापाप्रति श्रद्धाञ्जली दिन आयोजित सभामा पोखराका मेयर धनराज आचार्यले पूर्वमेयर विकास निर्माणप्रति प्रतिबद्ध व्यक्ति भएको स्मरण गरे।
अघिल्लो चुनावमा आफूसँग प्रतिस्पर्धा गरेका भए पनि थापाले निरन्तर आफूलाई सघाएको उनले बताए।
पूर्वमेयरको निधनमा पोखरा महानगरले चैत १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
उनको शवलाई आजै पोखरा १६ स्थित निवासमा लगेर धार्मिक परम्परासहित पोखरा १६ हुँदै बग्ने सेती नदी किनार याम्दीमा अन्त्येष्टि गरिने एमाले कास्कीले जनाएको छ।
एमाले कास्कीले आफ्ना जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्यको निधनमा पार्टीको झण्डा आधा झुकाउने र चैत ३ गतेसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने भएको छ। थापाका धर्मपत्नी डिकी छिरिङ थापासहित छोरा प्रतिक थापा छन्। थापा गीतकार पनि थिए।
‘पोखरा हेर्दैमा राम्रो यहीँ पर घर हाम्रो’ गीतको अन्तरामा उनले श्रम सिप जुटाऔँ,पोखरालाई उठाऔँ’ भन्ने गीत लेख्दै श्रम र सिपप्रति सम्मान प्रकट गरेका थिए।
जनसांस्कृतिक मञ्च पोखराका संस्थापक अध्यक्षसमेत रहेका थापाका पोखरा सहर हेर्दैमा राम्रो, मान्छे न गरीब, म त नेपाली, धेरैधेरै दुःख कष्ट, आँखामा रसायो आँशु,कोमागाने मितेरी गीतलगायतका गीतहरु रेकर्ड भएका छन्।
तर, सुन्दर पोखरालाई उनले लामो समय हेर्न पाएनन्। २००१६ सालमा जन्मेका थापा केही गरौँ भन्ने भावना बोक्दाबोक्दै यो धर्तीबाट बिदा भए।
Shares

प्रतिक्रिया