गण्डकी


गोरखाबाट हनुमानढोकाका लागि यसरी पठाइयो फूलपाती

गोरखाबाट हनुमानढोकाका लागि यसरी पठाइयो फूलपाती

बडादसैँ अन्तर्गत फूलपातीका दिन सोमबार गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारमा पठाउन लागिएको फूलपाती बिदाइ गरिँदै। तस्बिर: दीपक श्रेष्ठ/रासस


नेपालखबर
असोज १३, २०८२ सोमबार ९:३४, गोरखा

गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ।

बडादसैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए। 

उनका अनुसार बा २ झ ३८८२ नं को सरकारी गाडीमार्फत राखेर हनुमानढोका दरबारका लागि फूलपाती पठाइएको हो। 

गोरखा दरबारको दसैँघरबाट दरबारका सुसारेहरूले फूलपातीसहितको डोली बोेकेर ल्याई गाडीमा राखेर पठाएका हुन्।

गोरखा दरबारको दसैँघरबाट बाजागाजासहितको र्‍याली निकालेर फूलपातीको बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए। 

‘गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारमा पुर्‍याएपछि आजै साँझ हर्षबढाइका साथ हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन छ’, उनले भने। 

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमा हनुमानढोका दरबारबाट राजकाज सुरु गरेपछि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबारमा लगेर भित्र्याउने गरिएको छ ।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायतले गोरखा दरबारको फूलपातीको बिदाइ गरेर हनुमानढोका दरबार पठाएका हुन्।

गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ६ जना ब्राह्मणले ल्याउने परम्परा छ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ।

राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको उपस्थिति रहने गरेकोमा गणतन्त्र स्थापनापछि संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ।

यस वर्षको फूलपाती सोमबार अपराह्न साढे ४ बजे भित्र्याइने कार्यक्रम छ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad