गण्डकी


व्यावसायिक शान्तिका निम्ति मौन र्‍यालीको आयोजना गर्दै पोखराका व्यवसायी

व्यावसायिक शान्तिका निम्ति मौन र्‍यालीको आयोजना गर्दै पोखराका व्यवसायी

वाशुदेव मिश्र
भदौ २९, २०८२ आइतबार १५:३८, पोखरा

पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति र्‍यालीको आयोजना गर्ने भएको छ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीको अध्यक्षतामा आइतबार बसेको बस्तुगत संघ/संस्थाका अध्यक्ष एवं प्रतिनिधिसहितको बैठकले  यही भदौ ३१ गते मंगलबार बिहान मौन शान्ति र्यालीको आयोजना गर्न लागेको हो। 

बिहान ७ः३० बजे संघको सचिवालय गैह्रापाटनबाट सुरु हुने मौन र्‍याली जेनजी आन्दोलनको क्रममा दिवंगत भएका आत्माको चीरशान्तिको कामना,देशमा भएको अशान्तिको समूल नष्ट एवं व्यावसायिक वातावरण निर्माणका निम्ति भएको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए। अध्यक्ष कार्कीका अनुसार शान्ति र्‍याली मौन प्रकृतिको हुने छ। 

‘आन्दोलनको क्रममा ठूलो जनधनको क्षति भएको छ। व्यावसायिक प्रतिष्ठानहरुमाथि भएको आक्रमणबाट अरबौं क्षति पुगेको छ। हामी पुनः उठ्नु छ तर शान्ति बिना व्यावसायिक वातावरण निर्माण हुन सक्दैन, आत्मबल बढ्दैन,शान्ति र्‍याली यी दुवै कामका निम्ति हो,’अध्यक्ष कार्कीले भने। 

सुरक्षाप्रति सचेत हुन आग्रह 
यसका साथै संघले उद्योग र व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विषम परिस्थितिमा धैर्य नगुमाउन र  संयमित हुन उद्योगी/व्यवसायीहरुमा आग्रह पनि गरेको छ। 

संघका महासचिव शोभा गौतमद्वारा आइतबार जारी अपिलमा आन्दोलनका नाममा भएको तोडफोड,आगजनी र लुटपाटका घटनामा संलग्नहरुको एवं कारबाहीको माग गरिएको छ भने पोखरामा भएको क्षतिको विवरण संघलाई उपलब्ध गराइदिन आग्रह पनि गरिएको छ।

उद्योगी/व्यवसायीबाट प्राप्त हुने विवरण दोषीलाई कारबाहीको दायरामा ल्याउन तथा क्षतिपूर्तिका लागि आवश्यक कानूनी प्रक्रिया अपनाउँदा उपयोग गरिने महासचिव गौतमले बताइन्।
 
अपिलमा प्रधानमन्त्री सुशीला कार्कीबाट शान्ति–सुरक्षा बहालीप्रति व्यक्त चासोको सह्राना गर्दै अगाडि भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीबाट व्यावसायिक प्रतिष्ठानमा भएको आक्रमणप्रति दुःख व्यक्त भएको छ। उठ्नै नसक्ने अवस्थामा पुगेका र लुटिएका व्यवसायीहरुलई माथि उठाउन सहयोग प्रदान गर्ने सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएको घोषणाको हामी स्वागत गर्दछौँ।’

पोखरा उद्योग वाणिज्य संघले  कारागारबाट ठूलो संख्यामा अपराधीहरु भागेको तथ्यलाई मनन गर्दै  हामी आफ्नो र व्यावसायिक प्रतिष्ठानको सुरक्षाप्रति संवेदनशील एवं सर्तक बन्न आग्रह गर्दै स्थानीय प्रशासन,टोल विकास संस्था,युवा क्लब र आमा समूहसँगको सहकार्य व्यक्ति, समुदाय र व्यवसायको सुरक्षाका निम्ति प्रभावकारी हुने स्मरण पनि गराएको छ। 

उपभोग्य सामग्रीको सहज आपूर्तिको आग्रह 
संघले आम उपभोक्तालाई सहज र सुपथ मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन व्यवसायीहरुसँग आग्रह गर्दै देखिने गरी मूल्य सूची टाँस्नुपर्ने कानूनी व्यवस्थाको स्मरण पनि गराएको छ। 

यस्तै जेनजी आन्दोलनको क्रममा युवाहरुको ज्यान जाँदा, व्यावसायिक प्रतिष्ठानमाथि भएको तोडफोड, लुटपाट र आगजनीबाट अरबौंको क्षतिप्रति दुःख व्यक्त गर्दै संघले यसअघि नै तय गरिएको दशैंको शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको पनि महासचिव गौतमको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad