नेकपा एमाले कास्की जिल्ला कमिटीले पोखरा-१६ मा रहेको १३५ रोपनी लिची बगान प्रकरणमा मुछिएका बिचौलिया सुजन लामालाई सदस्यताबाटै हटाएको छ भने सोही प्रकरणमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई निलम्बन गरी कारबाही गर्न माग गरेको छ।
एमाले कास्कीका सचिव दर्शन लामाका अनुसार जिल्ला कमिटीको पदाधिकारी बैठकले सुजनको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ। सुजन एमाले गण्डकी प्रदेश कमिटीको सल्लाहकार समिति सदस्य तथा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अध्यक्ष हुन्। सदस्यता नवीकरण नगर्दा सुजनको सल्लाहकार समिति सदस्य पद खोसिएको छ। तर जनजाति महासंघको अध्यक्षको रुपमा भने उनी कायम छन्।
एमाले कास्की सचिव लामाका अनुसार शनिबार पोखरामा भएको एमाले जिल्ला पदाधिकारी, पालिका पदाधिकारी तथा जनवर्गीय संगठनको भेलामा बोल्ने नेताहरुले मन्त्री अधिकारीलाई निलम्बन गरी अनुसन्धान गरिनुपर्ने माग गरेका थिए। कारबाही नै भन्ने कुरा नगरिए पनि पदमुक्त गर्नुपर्ने विषय सर्वसम्मत बनेको थियो।
जग्गा हडप्ने प्रकरणमा मालपोतका कर्मचारीको विषयलाई लिएर घुस डिल गरेको अडिओ सार्वजनिक भइसकेपछि राजकुमार गुप्ताको सामान्य प्रशासन मन्त्री पद खोसिएको छ।
यही प्रकरणमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको पनि नाम मुछिएको छ। सामान्य प्रशासनमन्त्री गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा राजीनामा दिइसक्दा सोही प्रकरणमा मुछिएका अधिकारी भने मन्त्री नै छन्।
Shares

प्रतिक्रिया