गण्डकी


अन्तर्राष्ट्रिय उडान अनिश्चित रहेको पोखरा एयरपोर्टमा अत्याधुनिक इन्धन डिपोको निर्माण

अन्तर्राष्ट्रिय उडान अनिश्चित रहेको पोखरा एयरपोर्टमा अत्याधुनिक इन्धन डिपोको निर्माण

नेपालखबर
असार १९, २०८२ बिहिबार १७:१६, पोखरा

२०७९ साल पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो। चिनियाँ सहयोगमा निर्मित विमानस्थलको भव्य उद्घाटन गरिएको पनि उद्घाटनको झण्डै साढे २ वर्ष विमानस्थलमा इन्धन डिपो थिएन। त्यहाँ झर्ने र अवतरण गर्ने विमानको लागि पोखराकै पुरानो विमानस्थलमा रहेको इन्धन डिपोबाट ट्याङ्करमा इन्धन ओसारिन्थ्यो।

पुरानो र नयाँ एयरपोर्टबीचको दूरी ३ किलोमिटरभन्दा बढी छ। दुई लेनको बाटोमा पेट्रोलियम पदार्थ बोकेर पुर्‍याउँदा सुरक्षा चुनौती पनि उस्तै थियो।

तर, अब ती दिन सकिनै आँटेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ इन्धन डिपो निर्माण भएको छ। डिपोको बिहीबार औपचारिक उद्घाटन गरिएको छ तर डिपोमै इन्धन भण्डारण र वितरण भने साउन लागेपछि मात्र हुने छ।

नयाँ विमानस्थलमा १२ सय किलोलिटरका ३ वटा ठूला भण्डारण गृह तयार भएको पोखरा हवाइ इन्धन भण्डारगृह निर्माण परियोजना प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए। सुरक्षाका निम्ति १२ सय किलोलिटर क्षमताका पानी ट्याङ्की पनि सँगै राखिएको उनले बताए।

‘पानी ट्याङ्कीसँगै डिपोको वरपर अग्नी नियन्त्रक (फायर फाइटिङ) प्रविधि जडान गरिएको छ,’ उनले भने,‘हवाइ इन्धनजस्तो प्रज्ज्वलनशील पदार्थको जोखिमलाई मध्यनजर राख्दै १२ हजार लिटर क्षमताको फोम स्टोरेज ट्याङ्क पनि बनाइएको छ।’

बिहीबार अग्नी नियन्त्रण प्रणालीको परीक्षण प्रदर्शन पनि गरियो। कथंकदाचित आगलागी भएमा पानीसँगै फोम मिसाएर पानी प्रवाह हुन्छ। फायर फाइटिङ प्रयोजनको लागि २ सय ३० हर्स पावरका दुईवटा फाइर फाइटिङ डिजल पम्प,१५ हर्स पावर क्षमताको जक्की पम्प र ८ इञ्चको पाइप पनि जडान गरिएको परियोजनाका प्रबन्ध निर्देशक अशोक अर्यालले जानकारी दिए। 

‘यहाँ हवाइ क्षेत्रको नियमनकारी संस्था आइकाओ र अमेरिकन पेट्रोलियम इन्ष्टिच्यूटको सुरक्षा मापदण्डको इन्धन भण्डारण र पाइपहरु जडान गरिएको छ,’उनले भने,‘यहाँ जडित प्रविधिले पेट्रोलमा रहेको १ र ५ माइक्रोनसम्मको कणहरू शुद्ध बनाउँछ।’

कुल ७५ करोडको लागतमा पम्प निर्माण भएको हो। भण्डारगृहको निर्माण २०८० सालको साउन १ गतेबाट सुरु गरिएको थियो। दुई वर्षमा सक्ने गरी सुरु गरिएको परियोजना समयमै सकिएको परियोजनाका सहायक प्रबन्धक अनुपम पराजुलीले जानकारी दिए।

त्यसो त, विमानस्थल निर्माण सुरु भएसँगै इन्धन डिपो बनाउने पहल सुरु भएको थियो। पोखरा विमानस्थल निर्माण सुरु भएसँगै २०७७ सालमा इन्धन डिपो निर्माणको टेन्डर आह्वान गरिएको थियो

तर,आह्वान गरे अनुसारका कम्पनीहरुले आवेदन दिएनन्। टेन्डर खोल्दा नै पनि कम्पनी योग्य नभएको भनियो। छनोट प्रक्रियामा असहमति जनाउँदै टेन्डरमा सहभागी कम्पनीले अदालत गुहार्‍यो।

जग्गा भाडामा लिने प्रक्रियाले पनि समय लियो। २०७९ साल पुुस १५ गते नागरिक उड्डयन प्राधिकरणसँग आयल निगमले जग्गा भाडामा लिने सम्झौता ग¥यो र डिपो बन्ने प्रक्रिया सुरु भयो। ९ हजार २ सय १५ बर्ग किलोमिटर क्षेत्रमा डिपो बनेको छ। 

नेपाली सीप र पुँजी
पोखरामा बनेको इन्धन डिपो पूर्ण स्वदेशी श्रम र पुँजीबाट बनेको र यसमा गर्व गर्नुपर्ने निर्माण पक्षको दाबी छ। नेपाल आयल निगमका उपनिर्देशक रामहरि निरौलाका अनुसार यो डीपो निर्माणको परामर्शदाता र निर्माणको जिम्मेवारी दुवै नेपालीले लिएका हुन्।

‘हामीले यसअघि अमलेखगञ्जमा पनि डिपो बनायौँ तर त्यहाँ हाम्रो प्रविधि र सीप थिएन,’ उनले भने,‘अहिले यो परियोजना नेपाली इन्जिनियरले नै बनाएका हुन्, यसमा हामीले गर्व गर्नुपर्छ।’

परियोजनाका परामर्शदातामा  नेपाल इञ्ज्निियरिङ कलेज रहेको थियो। कलेजका सहायक डीन नारायण गौतमले भारतसँगको प्राविधिक निर्भरता अन्त्य,नेपाली विशेषज्ञता पुष्टि गर्नुका साथै अत्याधुनिक प्रविधि आत्मसातका दृष्टिले यो डिपो नमूना भएको बताए।

नेपाल आयल निगमको ५५ वर्षको इतिहासमा नेपालीले नै सम्पन्न गरेको यो कामले भविष्यको ढोका खोलेको परियोजना प्रमुख इन्जिनियर प्रदीपकुमार यादवले घोषणा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad