गण्डकी


तालैतालको सहर पोखरालाई पुगेन खानेपानी, थप ३ परियोजना सञ्चालन गरिँदै

तालैतालको सहर पोखरालाई पुगेन खानेपानी, थप ३ परियोजना सञ्चालन गरिँदै

पोखरा महानरपालिकाका मेयर धनराज आचार्य


वाशुदेव मिश्र
बैशाख १५, २०८२ सोमबार १४:२३, पोखरा

पोखरा महानगरअन्तर्गत काहुँडाँडा, कृस्ती, भरत पोखरी, निर्मल पोखरी र मट्टिखान क्षेत्रमा नयाँ खानेपानी परियोजना सञ्चालन हुने भएको छ।

पोखरालाई महानगरपालिका बनाउने क्रममा गाभिएका ती ठाउँमा केन्द्र सरकारको बृहत् खानेपानी आयोजनाअन्तर्गत लागत साझेदारीमा नयाँ परियोजना सञ्चालन गरिने भएको हो। 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार नेपाल सरकारको केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत सञ्चालन हुने बृहत् भरतपोखरी, निर्मलपोखरी, कृस्ती खानेपानी आयोजना, मट्टीखान खानेपानी आयोजना पोखरा-२१ र जलवायु अनुकूलित आयोजनाअन्तर्गत काँहुधरहरा खानेपानी आयोजना पोखरा-११ को निर्माण, सञ्चालन र कार्यान्वयन सम्बन्धमा त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो।

बृहत् भरतपोखरी, निर्मलपोखरी, कृस्ती खानेपानी आयोजना निर्माणका लागि ५१ करोड ७७ लाख ७६ हजार २०२ रुपैयाँ कुल लागतमध्ये पहिलो चरणमा अर्थ मन्त्रालयबाट २८ करोड ४९ लाख ९१ हजार ८२८ स्रोत सुनिश्चित भई कार्यान्वयन चरणमा रहेको मेयर आचार्यले बताए।

यस्तै काँहुधरहरा खानेपानी आयोजनाका लागि कुल ४९ करोड १७ लाख १७ हजार ६०३ रुपैयाँमध्ये २१ करोड ६ लाख २४ हजार १४० रुपैयाँ र मट्टीखान खानेपानी आयोजनाको कुल २८ करोड ५४ लाख ६५ हजार १७३ रुपैयाँमध्ये १९ करोड ७६ लाख ४१ हजार ८७६ रुपैयाँको अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ।

समझदारीअनुसार स्रोत सुनिश्चित भई कार्यान्वयनमा गइसकेपछि चालु आर्थिक वर्षमा पोखरा महानगरपालिकाले त्यसको १० प्रतिशत रकम बेहोर्ने छ। तीनवटै परियोजनाको कुल लागत १ अर्ब २९ करोड ४९ लाख ५८ हजार ९७८ रुपैयाँ लाग्ने अनुमान गरिएको छ। परियोजनाको कुल लागतको ९० प्रतिशत केन्द्रीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले बेहोर्ने छ।

समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका कायममुकायम आयोजना प्रमुख पदमबहादुर कुँवर क्षेत्री, पोखरा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र खानेपानी उपभोक्ता समितिका तीनै जना अध्यक्षले हस्ताक्षर गरेका छन्।

बहत् भरतपोखरी, निर्मलपोखरी, कृस्ती खानेपानी आयोजनाअन्तर्गत पोखरेल थोकमा निर्माणाधीन अत्याधुनिक पानी प्रशोधन केन्द्रमा पानी संकलन तथा प्रशोधन गरी १७ किलोमिटर सिमलेससहित ३५ किमि पाइपमार्फत उपोक्ताका घरघरमा पानी पुर्‍याइनेछ। 

यस आयोजनाबाट करिब २४ सय घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले बताए।

काँहुधरहरा खानेपानी आयोजनाअन्तर्गत करिब १५ सय परिवारले लाभ पाउनेछन्। 

मट्टीखान खानेपानी योजनाअन्तर्गत सेतीखोलाबाट पानी पम्पिङ गरी फेदीखोला गाउँपालिकाको नुवाकोटमा पानी संकलन गरिने छ। ३५ किमि पाइपलाइन विस्तारसँगै यो आयोजनाले १२ सय घरधुरीलाई पानी वितरण गर्नेछ।

यी परियोजना सञ्चालनका लागि चालु आर्थिक वर्षबाटै योजना सञ्चालन गर्ने गरी खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २०८१ फागुन ८ गते सार्वजनिक ठेक्कासमेत आह्वान गरिसकेको छ।

आयोजनाको पोखरा कार्यालय प्रमुख कार्यान्वयन एकाइ रहेको यी आयोजना सम्पन्न भएपछि ५ हजार घरपरिवारले प्रत्यक्ष रूपमा खानेपानीको सुविधा पाउनेछन्।

आयोजना निर्माण सुरु भएको मितिले ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। यी आयोजना एक घर, एक धाराको अवधारणामा सञ्चालन हुनेछन्।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीहरूलाई खानेपानी उपलब्ध गराउन यी परियोजना महत्त्वपूर्ण हुने बताए।

पोखराको मुख्य सहरी क्षेत्रमा जापान सरकारको सहयोग नियोग (जाइका) को सहयोगमा खानेपानी परियोजना सञ्चालन भएको छ भने साविक लेखनाथ क्षेत्रमा लेखनाथ साना खानेपानी आयोजनामार्फत पानी वितरण भइरहेको छ।

महानगरमा पछि गाभिएका गाउँपालिकामा चाहिँ पुरानै खानेपानी परियोजना सञ्चालनमा छन्। जाइकाको ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँमा लगानीमा हालै सम्पन्न पोखरा खानेपानी सुधार आयोजनाअन्तर्गत दैनिक ४ लाख १० हजार लिटर पानीलाई शुद्धीकरण गरेर घरघरमा पठाउने गरेको छ।

तर, त्यसले मात्र पोखराको माग धान्दैन। यहाँ दैनिक ८ करोड लिटरभन्दा बढी पानीको माग छ।

नयाँ परियोजना निर्माणपछि पनि खानेपानी सहज रूपमा उपलब्ध नभएपछि पश्चिमाञ्चल होटल संघले खानेपानी संस्थानसँग पानी आपूर्तिको माग गरेको थियो।

वैशाख ८ गते अध्यक्ष लक्ष्मण तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलले ध्यानाकर्षण गराउँदा खानेपानी संस्थान पोखराका प्रमुख इन्जिनियर आशिष कार्कीले जनसंख्या र घर बढेकाले भनेजस्तो गरी खानेपानी आपूर्ति हुन नसकेको स्वीकारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad