विद्युतीय पैसा (क्रिप्टोकरेन्सी) प्रयोग गरी जुवा खेलाएको आरोपमा कास्की प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
नेपालमा अवैध रहेको क्रिप्टोको अवैध कारोबारको नाइकेको रुपमा आरोपित व्यक्ति अमेरिका बसेर सूचना प्रविधि (आइटी) मा विद्यावारिधि (पीएचडी) गर्दै गरेका ३१ वर्षीय रुपेन्द्र जिसी भएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले बताए।
पर्वतको जलजला गाउँपालिका ३ स्थायी घर भएका जिसी एक महिनाअघि नेपाल आएका र हाल पोखरा महानगरपालिका १४,अनुपम मार्गमा बसेर अनलाइन सट्टेबाजीको काममा संलग्न रहेको उनको जिकिर छ। उनका अनुसार जिसीले अभौतिक मुद्रा (क्रिप्टो) मार्फत् १५ करोड रुपैयाँको जुवा खेलाएको तथा बाँकी १५ करोड प्रयोग गरेको देखिएको छ।
पक्राउपछि उनीहरूले प्रयोगमा ल्याएका कम्प्यूटर र ल्यापटप एवं मोबाइलहरू हेर्दा त्यति ठूलो मात्रामा क्रिप्टोको अवैध कारोबार भएको पाइएको पनि प्रहरीको भनाइ छ। पक्राउ परेका व्यक्तिहरूले आफ्नो तथा आफन्तको नाममा विभिन्न बैंकहरूमा खाता खोली कारोबार गर्ने गरेको पाइएको पनि प्रहरीको दाबी छ।
‘उनले यो काममा आफन्तहरूलाई प्रयोग गरेको देखियो। उनले प्रयोग गर्ने ह्वाट्स एप, क्यास एप,टेलिग्राम,चिम एप, यूएसडीटी (टीथर) हेर्दा यस्तो कारोबार भेटिएको हो,एसपी ओलियाले भने,‘उनी दैनिक तीन सिफ्टमा जुवा खेलाउँदा रहेछन् र एक सिफ्टमा ३ हजार अमेरिकी डलर भाउ हुँदो रहेछ।’
प्रहरीले क्रिप्टोको अवैध कारोबारसहित जुवा खेलाएको आरोपमा नाताले रुपेन्द्रका फुपूका छोरा ३३ वर्षीय विक्रम बानियाँ र २२ वर्षीया सज्जन घिमिरे, सानीआमाका छोरा १९ वर्षीय रोचन केसी र बहिनी ज्वाइँ २२ वर्षीय सन्दीप कटुवाललाई पनि पक्राउ गरेको छ।
म्याग्दीको बेनी स्थायी घर भएका विक्रम पोखरामा फेन्सी पसल चलाउँछन्। म्याग्दी रघुगंगा २ का रोचन स्नातक दोस्रो वर्ष पढ्दैछन्। सज्जन पनि स्नातक चौथो वर्षमा पढ्दैछन् भने बहिनी ज्वाइँ सन्दीप कन्सल्टेन्सी चलाउँछन्।
ह्वाट्सएप र टेलिग्राम अनलाइन संवाद गर्ने एप्सहरू हुन् भने क्यास एप र चिमे एप चाहिँ पैसा पठाउन वा लिन मिल्ने विद्युतीय वालेट (थैली) हुन्। टीथर आफैँमा क्रिप्टोकरेन्सी हो।
प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय टोलीको नेतृत्व चाहिँ एसपी ओलिया आफैँले गरेका थिए।
उनीहरूमाथि अवैध क्रिप्टोको कारोबार, जुवा वा सट्टेबाजी गर्न नहुने कसूरमा अदालतबाट सात दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको पनि प्रहरीको भनाइ छ। उनीहरू पक्राउ परेसँगै जुवा र कारोबारमा संलग्न अन्य व्यक्तिहरूसम्म पनि पुग्नका निम्ति अनुसन्धान भइरहेको पनि एसपी ओलियाले बताए।
रुपेन्द्र बस्ने देशमा क्रिप्टो वैध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानकै क्रममा क्रिप्टोलाई वैधता दिने घोषणा गरेका थिए।
राष्ट्रपतिमा चुनिए लगत्तै उनले आफ्नै नामको विद्युतीय पैसा (क्रिप्टो) समेत बजारमा ल्याइसकेका छन्। उनले भर्खरै अमेरिकालाई विश्वको क्रिप्टो राजधानी बनाउने घोषणामात्र गरेका छैनन्,क्रिप्टो सम्मेलनसमेत आयोजना गरिसकेका छन्।
दोषी ठहर भए रुपेन्द्रलाई के सजाय हुन्छ?
नेपालमा विदेशी मुद्राको अपचलनलाई अवैध मानिन्छ। विदेशी मुद्रा विनिमय–नियमित गर्ने ऐनले यस्तो अपराधमा संलग्नलाई विदेशी विनिमय जफत गरी त्यस्तो व्यक्तिलाई बिगो बमोजिमको जरिबाना देखि बिगोको तीन गुणासम्म थप जरिवाना हुने व्यवस्था गरेको छ। त्यसो हुँदा यो समूहले ३० करोडको तीन गुणा रकम तिर्नुपर्ने हुनसक्छ।
पछिल्लो समय चाहिँ सम्पत्ति शुद्धीकरणअन्तर्गत पनि क्रिप्टो कारोबारलाई कारबाही गर्न सक्ने प्रावधान राखिएको छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३ को उपदफा १ मा उल्लेख भए अनुसार त्यस्तो कसूरमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवानाको व्यवस्था गरिएको छ।
मुलुकी अपराध संहिताले ‘विदेशीमुद्रा राख्ने, चलनचल्तीमा ल्याउने वा लेनदेन गर्ने कसुरमा एक वर्षसम्म कैद वा १० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुनसक्ने’ भनेको छ। नेपालमा क्रिप्टो सम्बन्धी कारोबार गर्नेहरूलाई राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन शीर्षकमै मुद्दा चलाउने गरेको छ।
अहिले रुपेन्द्रको हकमा चाहिँ अवैध जुवा–सट्टबाजीको पनि कसूर लगाइएको छ। यो कसूरमा दोषी भए पनि तीन महिना कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ। मुलुकी अपराध संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ।
के भन्छन् एसपी ओलिया?
‘यो निकै भाष्ट छ, प्रविधिको प्रयोग यसमा छ, यतिधेरै डिभाइसहरु छन्, यसलाई डिजिटल फरेन्सिक ल्याब लगेर परीक्षण गर्नुपर्ने आवश्यकता छ। यसबाट दुई दिनमै सबै कुरा निकाल्न सक्दैनौँ। हामीसँग अनुसन्धान गर्ने अवधि छ। त्यो समयसम्म के निकाल्न सकिन्छ। त्यो निकाल्ने प्रयास गर्छौँ,’ एसपी ओलियाले भने।
मुद्दाको प्रारम्भिक अनुसन्धानमै रुपेन्द्र अमेरिका हुँदैदेखि नै यो अवैध काम गर्दै आइरहेका थिए। उनले पोखरामा विक्रम र सन्दीपको सहयोगमा काम गर्दै आइरहेका थिए। विक्रम र सन्दीपले म्यानेजिङ लेभलको काम गरेका छन्। यी दुईले यहाँ रहेकाहरुलाई क्रिप्टो करेन्सीमा संलग्न गराउने र अनलाइनमा हुने सबै हिसाबकिताब राख्दै आएका थिए।
रोजन र सज्जन रुपेन्द्रकै घरमा बसेर २४ सै घण्टा सिफ्ट बनाएर अनलाइनमा काम गर्दै आइरहेका थिए। ग्राहकले कति राख्यो र कति राख्ने सबै उनीहरुले हेर्दै र अपडेट गराउँदै आएको एसपी ओलियाले सुनाए।
उनीहरूको दुई गेमिङ प्ल्याटफर्म रहेकोसमेत भेटिएको थियो। उनीहरूले १० डलर हालेमा ११ डलर अपलोड गरिदिने, २० डलर ग्राहकले हाले २२ डलर हालिदिने गर्दै आइरहेका थिए। त्यस समय उनीहरूलाई कोइन आउने गर्दथ्यो त्यहीँबाट उनीहरूले बढाएर हाल्ने गरेको खुलेको छ। त्यसबाट हारजित भएको रकम क्रिप्टोमार्फत् ग्राहकको खातामा राख्ने काम गर्दै आइरहेका ओलियाले बताए।
‘आफ्नै घर परिवारका सदस्य भयो भने बाहिर कसैले थाहा पाउँदैन र सुरक्षित भइन्छ भन्ने तरिकाले यो गरेको देखिन्छ। शंकास्पद गतिविधि भएको सूचना पहिला नै आएको थियो। त्यही सूचनाको आधारमा हामीले खानतलासी गर्दा पक्राउ गरेका हौँं’ उनले भने।

Shares

प्रतिक्रिया