रामचन्द्र पौडेल राष्ट्रपति भएपछि पहिलोपटक आफ्नो जन्म गाउँ पुगेका छन्। २०७९ फागुन २५ मा राष्ट्रपति नियुक्त भएका पौडेल बुधबार लमजुङको मध्यनेपाल नगरपालिका-३, सोतिपसलस्थित मंगला माध्यमिक विद्यालयको हीरक जयन्तीमा सहभागी हुन पुगेका हुन्। यस विद्यालयबाट १५ मिनेटको दूरीमा (तनहुँतर्फ) उनको जन्म घर पर्छ।
श्रीमती सविता पौडेलसँगै जन्मथलो पुगेका राष्ट्रपति पौडेलले आफू जन्मेको माटोमा उभिँदा भावुक भएको बताएका छन्। राष्ट्रपति भएपछि उनी जन्मथलो पुगेका थिएनन्।

‘सम्माननीयज्यू राष्ट्रपति भएपछि पहिलोपटक जन्मथलो पुग्नुभएको हो,’ राष्ट्रपतिका सञ्चार विज्ञ किरण पोखरेलले नेपालखबरसँग भने, ‘उहाँको जन्मथलो तनहुँमा रहे पनि उहाँ पुग्नुभएको विद्यालय जन्मथलोनजिकै पर्दछ। जन्मथलो पुग्ने अवसर आज मंगला माविको हीरक जयन्तीले जुराएको छ।’ उक्त विद्यालय राष्ट्रपति पौडेलका छोरा, छोरीले अध्ययन गरेको विद्यालय हो।
राष्ट्रपति भएपछि पौडेल यसअघि तनहुँ सदरमुकाम दमौलीसम्म भने पुगेका थिए। राष्ट्रपतिका सञ्चार संयोजक खिला कार्कीले नेपालखबरसँग भने, ‘यसअघि दमौलीसम्म पुग्नुभएको भएता पनि जन्मथलो पुग्नुभएको चाहिँ यो पहिलो पटक हो।’
तनहुँ र लमजुङको सिमानामा पर्ने रिस्ती उपत्यकामा अवस्थित मंगला माविको हीरक जयन्तीमा प्रमुख आतिथ्य ग्रहण गर्न पुगेका राष्ट्रपति पौडेलले यस क्षेत्रका अग्रजहरूको उत्साह र योगदानबाट स्थापित विद्यालय गण्डकी प्रदेशको नमुना स्कुल बनेकोमा धन्यवाद दिए।

‘यता बाहुनपोखरा उता सूर्यपाल/टक्सार, अनि जिता सातधारे, बगुवा कुन्छा र रम्घा दुईपिप्लेबीचको उपत्यकामा बहने रिस्ती खोलाको साँधमा ६ दशकअघि विद्यालय स्थापना गरेर शिक्षाको ज्योति फैलाउने हाम्रा अग्रज धन्य छन्,’ कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले भने, ‘यस क्षेत्रका अग्रजहरूको उत्साह र योगदानबाट स्थापित यो विद्यालयलाई अहिलेसम्म धानेर गण्डकी प्रदेशको नमुना विद्यालय बनाउने काममा जुट्ने सबैप्रति धन्यवाद व्यक्त गर्दछु।’
आफू जन्मेहुर्केको क्षेत्रमा उभिँदा भावुक भएको बताएका राष्ट्रपति पौडेलले यही माटोले आफूलाई अहिलेको ठाउँसम्म पुर्याएको समेत स्मरण गरे।
‘बाहुनपोखराको एउटा किसानको छोरो आफ्नो लोकतान्त्रिक राजनीतिक निष्ठा, सिद्धान्त र आदर्शबाट कत्ति पनि विचलित नभई जेलनेल, संघर्ष र यातनाको रत्तिभर पर्बाह नगरी आज जुन ठाउँमा पुगेको छु, त्यसमा यही माटो, हावापानी र साथीसंगतको ठूलो योगदान छ,’ राष्ट्रपतिको कथन थियो, ‘आफू जन्मे/हुर्केको नेपालको मध्यभागमा अवस्थित यो सुरम्य रिस्ती उपत्यकामा उभिँदा भावुक भएको छु।’

रिस्ती उपत्यकालाई एकीकृत विकास योजनाका रूपमा अघि बढाउन चाहेको बताउँदै राष्ट्रपति पौडेलले भने, ‘देशको मध्यविन्दुमा रहेको यो मध्यनेपाल नगरपालिका र रिस्ती क्षेत्रलाई बहुआयामिक विकास अवधारणाअनुरुप रिस्ती उपत्यका एकीकृत विकास योजनाका रूपमा अघि बढाउनेतर्फ मेरो विशेष ध्यान रहने विश्वास दिलाउन चाहन्छु।’
पछिल्लो समय गाउँ रित्तिँदै गएकोप्रति भने राष्ट्रपति पौडेलको चित्त दुखाइ थियो, ‘उर्वर, उत्पादनशील र मनोरम गाउँबस्ती बाँझो बन्दै रित्तिएको छ। पछिल्लो समय गाउँबाट सहर र सहरबाट विदेशिने श्रृङ्खला अटुट छ।’
राष्ट्रपति पौडेलले कृषि क्रान्तिका लागि शिक्षालाई उद्यमशीलतासँग जोड्न आग्रह समेत गरे। ‘गाउँमा जुन सुविधा पुगेको छ त्योसँगै आम्दानी र रोजगारी कसरी पुर्याउने? आजको यक्ष प्रश्न नै यही हो। यसका लागि कृषिको आधुनिकीकरण र व्यवसायिकीकरण गरी औद्योगीकरणतर्फ फड्को मार्नुको विकल्प छैन,’ राष्ट्रपति पौडेलले भने।
विदेश नगईकन मातृभूमिको माटोमा कृषि कर्म, उद्यम र व्यवसाय गरी लाखौँ कमाउने गरेका कतिपय दृष्टान्तले भने आशा र उत्साह जगाएको राष्ट्रपतिको भनाइ थियो।
आफूले पहिलोचोटि चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाँडोमा उभिएर भनेको स्मरण गर्दै राष्ट्रपति पौडेलले भने, ‘गाउँबाट अस्थिर भएको मनलाई आधुनिक सेवा र सुविधा पुर्याएर गाउँमा नै बसौँ बसौँ बनाउन म राजनीतिमा लागेको हुँ।’

हिमाल, पहाड र तराईको नेपालको हावा, पानी र माटो अनुपम रहेकोले यसलाई उपयोग गरी मुलुकलाई आर्थिक विकासको क्षेत्रमा कायापलट गर्ने शिक्षा दिन जरुरी रहेको राष्ट्रपति पौडेलले बताएका थिए।
निष्ठा, प्रतिष्ठा र राजनीतिबाट कत्ति पनि विचलित नभई देश आज यहाँसम्म आइपुगेको बताउँदै यसमा मध्यनेपालवासीको पनि योगदान रहेको भन्दै उनले प्रशंसा गरे।
दिउँसो करिब साढे १ बजे मंगला मावि आइपुगेका राष्ट्रपति पौडेल यसअघि तनहुँ पुगेर सहिदहरूप्रति श्रद्धाञ्जली समेत दिएका थिए। तनहुँको व्यास नगरपालिका-८, पुलिमराङस्थित सहिद पार्क पुगेर उनले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
तनहुँको सदरमुकाम दमौलीबाट उत्तरतर्फ करिब ४० किलोमिटर टाढा रहेको पुलिमराङको सहिदपार्कमा भरत गुरुङ, शमशेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङको लहरै अर्धकदको प्रतिमा छन्। राणाशासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा ज्यान गुमाएका उल्लिखित सहिदहरूको जन्म यही पुलिमराङमा भएको थियो।
पुलिमराङपछि सोतिपसल पुगेका पौडेलले मंगला माविको हीरक जयन्ती समारोहमा उपस्थिति जनाएका हुन्। समारोहमा राष्ट्रपति पौडेलका साथै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र मन्त्रपरिषद्का प्रवक्ता तथा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ एवं संघीय सांसद उर्मिला माझीलगायतको उपस्थिति थियो।

मंगला माविका प्रधानाध्यापक विष्णुहरि बास्तोलाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शुभकामना मन्तव्य मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेको थियो। कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हीरक जयन्ती मूल समारोह समितिका संयोजक लक्ष्मण बसौलाले गरेका थिए। कार्यक्रमको सहजीकरण भने विद्यालयका शिक्षक उदयचन्द्र कँडेलले गरेका थिए।
पानसमा द्वीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका प्रमुख अतिथि राष्ट्रपति पौडेलले झन्डोत्तोलन तथा हीरक स्तम्भ अनावरण र नवनिर्मित अडिटोरियम हल भवनको समेत उद्घाटन गरेका थिए।
लमजुङ र तनहुँको सिमानामा रहेको मंगला मावि रिस्ती उपत्यकामा अवस्थित छ। तनहुँ गृहजिल्ला भएका राष्ट्रपति पौडेल रिस्ती उपत्यकाकै सन्तान हुन्। जन्मथलोमा रहेको विद्यालयले हीरक जयन्ती मनाउँदै गर्दा राष्ट्रपति पौडेल प्रमुख आतिथ्य ग्रहण गर्न पुगेका हुन्। जहाँ पौडेलले झण्डै दुई घण्टा बिताएका थिए।
राष्ट्रपति पौडेलका साथै प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङ, पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ, आदिकवि भानुभक्त आचार्य, आचार्यको नाम लिँदा स्वत: आउने नाम गजाधर सोती आदि गौरवमय इतिहास बोकेका व्यक्तित्व पनि रिस्ती उपत्काकाकै सन्तान हुन्।
२०१९ सालमा स्थापित मंगला माविले साताव्यापी रूपमा मनाएको हीरक जयन्तीको आज विशेष तथा अन्तिम दिन हो। नमुना विद्यालय मंगला मावि गण्डकी प्रदेशको अब्बल स्कुलमा गनिन्छ। जुन २०७४ सालमा नमुना स्कुल घोषणा भएको थियो।
Shares

प्रतिक्रिया