गण्डकी


रविको हिरासत बसाइ लम्बियो, अझै ५ अभियुक्तको बयान बाँकी

रविको हिरासत बसाइ लम्बियो, अझै ५ अभियुक्तको बयान बाँकी

नेपालखबर
पुस १२, २०८१ शुक्रबार २०:३५, पोखरा (कास्की)

सूर्यदर्शन सहकारीको रकम ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान कास्की जिल्ला अदालतमा बयान सकिएको छ।

जिल्ला न्यायाधीश नितिज राईको इजलासमा रविले बिहीबार र शुक्रबार गरी २ दिन बयान दिएका हुन्। उनको बयान सकिएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

रवि अहिले पनि न्यायिक हिरासतमा छन्। रविको बयान सकिए पनि हिरासत बसाइ अझै लम्बिने देखिएको छ।

नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक छविलाल जोशी बन्जाडे र जीबी राईसँगको मिलेमतोमा संगठित तवरले सहकारीको रकम ठगेको र गोर्खा मिडिया नेटवर्क लगायतका कम्पनीमार्फत गैरकानुनीरूपमा संकलन गरेको रकम शुद्धीकरण गरेको अभियोग उनीमाथि छ।

सहकारी ठगीकै अभियोग झेलिरहेका रविकै व्यावसायिक साझेदार बन्जाडे पनि उनीसँग हिरासतमा छन्। अदालतले उनको पनि बयान लिइसकेको छ। यस्तै जीबी राईको कारोबारमा सघाएको अभियोगमा पक्राउ परेकी लीला पछाईंको बयान पनि अदालतमा भइसकेको छ।

अब क्रमशः नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, सूर्यदर्शन सहकारीकी पूर्वकोषाध्यक्ष आरती गुरुङ, पूर्वसञ्चालक ललितबहादुर गुरुङ, पूर्वसञ्चालक कृष्णबहादुर गुरुङको बयान लिइने अदालतले जनाएको छ।

गत आइतबार जिल्ला अदालतमा दायर भएको मुद्दामा सोमबार अभियुक्तहरूको बयान सुरू भएको थियो। सोमबार, मंगलबार र बिहीबार तीन दिन बयान हुँदा ३ जनाको मात्र सकिएको छ। बाँकी अभियुक्तको बयान आइतबारबाट हुनेछ। ५ जनाको बयान बाँकी रहेकाले अर्को साता यसैमा खर्च हुन सक्नेछ।

त्यसपछि सरकारी वकिल र अभियुक्ततर्फका कानुन व्यवसायीहरूले थुनछेक आदेशका लागि बहस गर्नेछन्। दुवैतर्फको बहस सुनेर इजलासबाट न्यायाधीशले तत्काल प्राप्त प्रमाण र अपराधको गम्भीरता हेरी अभियुक्तहरूलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउने कि बाहिर बसेर प्रतिवाद गर्न दिने भनेर आदेश दिनेछन्।

कास्की जिल्ला अदालतले थुनामै बस्नुपर्ने आदेश दिए अदालती प्रक्रियाबाटै रविलगायतका अभियुक्त बुटवल, चितवन, काठमाडौँ र पर्सा लगिनेछ। कास्कीमा धरौटी वा तारेखमा छाड्ने आदेश भए पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर रूपन्देही, चितवन, काठमाडौँ र पर्सा जिल्ला अदालतमा उपस्थित गराउनेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad