गण्डकी


सूर्यदर्शनका पीडित भन्छन् : रवि थुनिए पनि बाजा बजाएर नाच्नु छैन, छुटे पनि टाउको समात्नु छैन

सूर्यदर्शनका पीडित भन्छन् : रवि थुनिए पनि बाजा बजाएर नाच्नु छैन, छुटे पनि टाउको समात्नु छैन

फाइल तस्बिर


वाशुदेव मिश्र
पुस २, २०८१ मंगलबार १५:१३, पाेखरा

कास्की प्रहरीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ५१ जनाविरुद्द बिगोसहित जेल सजायको दाबी गरेसँगै  पीडितहरुले चाहिँ बचत फिर्ता नै आफूहरुको पहिलो सर्त भएको बताएका छन्।

गएको मंसिर १९ गते पीडितहरुले बोलाएको साधारणसभाबाट अध्यक्ष चुनिएका किरण श्रेष्ठले पीडितको एउटामात्र उद्देश्य रकम फिर्ता नै भएको पनि दोहोर्‍याए। ‘रविसहितका अभियुक्तमाथि कारवाहीको माग गर्दै प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हामीले थाहा पायौँ। अनुसन्धान प्रक्रियामा हामी बोल्न मिल्दैन। यो कानूनी कुरा हो तर हामी त्यसको सम्मान गछौँ। तर, हामीलाई रवि थुनिए पनि बाजा बजाएर नाच्नु छैन। छुटे पनि टाउको समात्नु छैन,’ उनले भने, ‘हाम्रो ५ करोड ५८ लाख गएको हो, गोर्खा मिडियामा। त्यो पैसा हाम्रो खातामा आउँछ भने हामी सहजीकरण गर्न तयार छौँ। कागजमा मात्र पीडितले कागजमा न्याय पाएर भएन। हामीले अनुभूति गर्नुपर्‍यो।’ 

उनका अनुसार सहकारीबाट लिएको ऋण तिर्न चाहनेहरुका लागि यसअघि नै सहकारीको खाता संचालनमा रहेको छ। घरजग्गा रोक्का भएका केही ऋणीहरु ऋण भुक्तानी गर्न तयार रहेको र जग्गा फुकुवाको माग गर्दै आइरहेका छन्। उनीहरुको लागि कास्कीका प्रशासनिक निकायहरुकै रोहवरमा संचालनमा रहेको खातामा पैसा हाल्न मिल्छ। निकाल्न मिल्दैन। यसअघि पीडितको तर्फबाट संघर्ष समितिका अध्यक्षसमेत रहेका किरणले अन्य ऋणीजस्तै रविको भागमा परेको रकम पनि खातामा आए आफूहरुलाई कुनै आपत्ति नहुने पनि बताए।

‘संचालक समिति बनाइसकेपछि ऋणीसँग पैसा उठाउने हाम्रो लक्ष्य छ। उनले मेरो टाउकोमाथिको बिगो म तिर्छु भन्छन् भने हामी सघाउन तयार छौँ। हामीलाई पैसा फिर्ता चाहिएको हो,’ उनले भने,‘त्यसको सहजीकरण हामी गर्छौँ।’ 

त्यो सहजीकरण कानुनबाहिर नहुने प्रष्ट पार्दै उनले सहकारी प्रकरणमा मुछिएका रविले सफाइको प्रक्रियामा जानुको सट्टा पौंठेजोरी खोज्नु चाहिँ गलत भएको बताए। ‘रविको पनि गलत छ। आफूले गलत गरेपछि सिङमा किरा परेजस्तो गरी सिँगौरी खेल्न जानु भएन नि, आफूले बाटो बिराउने अनि अनि सिंगौरी खेलेपछि त गाह्रो हुन्छ नि,’ उनले भने, ‘सम्पत्ति शुद्धीकरण, सांगठनिक अपराधजस्ता अभियोग लगाइएको छ। सम्पत्ति शुद्धीकरणले खोज्ने हो भने यहाँ अरुले पनि गल्ती गरेका होलान्।’ 

किरण श्रेष्ठको अध्यक्षतामा गठित ९ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा गोकर्ण बरुवाल, सचिवमा दुर्गानाथ न्यौपाने र कोषाध्यक्षमा प्रेम रेग्मी रहेका छन् भने सदस्य मिलन शाही, श्रीभद्र बराल, हरि चालिसे, शान्ति आचार्य, लक्ष्मी कँडेल छन्। साधारणसभाले आर्थिक निगरानीका लागि लेखा समिति पनि गठन गरेको छ। राजेन्द्र पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो। समितिको सदस्यमा तारापति सापकोटा र गोपाल गुप्ता छन्।

सोही समितिले सहकारीबाट कहाँ–कहाँ ऋण प्रवाह भएको छ भन्ने खोजी गर्दा पोखरा २,नालाकोमुखमा रहेको सहकारीको कार्यालय भएको भवनसमेत लिलामी भइसकेको पत्ता लगाएको छ। सो भवन गएको साउनतिर राष्ट्रिय सहकारी बैंकले लिलामी गरेको पाइएको उनले बताए। 

‘सहकारीको भवन नै राष्ट्रिय सहकारी बैंकमा धितोमा राखिएको रहेछ,हामीलाई त्यो जानकारी थिएन तर सहकारी बैंकले त्यसलाई लिलामी गरेको पाइयो,’ उनले भने। करिब ४ करोड रुपैयाँमा भवन लिलामीमा गएको थाहा भएको बताउँदै उनले भएको सम्पत्तिको रक्षाको लागि समेत समिति क्रियाशिल रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad