फेवातालको किनारमा रहेको कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट तोडफोड भएको छ।
धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता कार्यकर्ताहरुले होटलको बाहिरी संरचना तोडफोड गरेका हुन्।
शनिबार उनीहरूले गेटमा तोडफोड गरेपछि पार्टीको झन्डा गाडेका थिए भने सातवटा बुँदामा तोडफोडको कारणसहितको ब्यानर पनि टाँसेका थिए।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले तोडफोडको जिम्मेवारी लिएको छ। पार्टीको कास्की जिल्ला इन्चार्ज सुजन आयाम र सेक्रेटरी अनवरतको नाममा जारी विज्ञप्तिमा वाटर फ्रन्टले फेवाताल अतिक्रमण गरेकाले त्यसविरुद्ध कारवाही गरिएको जिकिर गरिएको छ।
विज्ञप्तिमा फेवाताल संरक्षण अभियानमा जोडिन अपिलसमेत गरिएको छ। तोडफोडको क्रममा उनीहरुले चर्को स्वरमा भूमाफियाहरु होसियार, फेवाताल अतिक्रमण गरेर बनाएका संरचना खारेज गर, अतिक्रमित जग्गा खाली गर, सर्वोच्चको आदेश पालना गरलगायतका नारा पनि लगाएका थिए।
सर्वोच्च अदातलतले फेवातालको मापदण्ड ६५ मिटर तोकेको छ। सर्वोच्च अदालतले २०८० असार ४ गते मापदण्ड ६५ नै कायम गर्दै ६ महिनाभित्र संरचना हटाउन आदेश दिएको थियो। आदेशपछि गण्डकीका मुख्यमन्त्रीको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको थियो। सो समितिले प्राविधिक सम्मिलित उपसमिति पनि बनायो उपसमितिले नापजाँचपछि प्रतिवेदन पेश गरेको छ। तर, संरचना हटाउने काम भने सुरु नै भएको छैन।

वाटर फ्रन्टका केही संरचनाहरू ६५ मिटर मापदण्डभित्र पर्ने नेकपा (बहुमत) को दाबी छ। फेवातालको ६५ मिटरभित्र १ हजारभन्दा बढी संरचना भएको फेवाताल संरक्षणको लागि बनेको समितिको प्रतिवेदन छ। तर, नेकपा बहमतका कार्यत्रकर्ताले चाहिँ ४ तारे होटललाई नै केन्द्रमा राखेर तोडफोड गरेका हुन्।
नेकपा बहुमतको विज्ञप्तिमा तालको मापदण्ड मिचेर बनाइएकोले पर्खाल भत्काइएको जिकिर गर्दै भनिएको छ,‘ फेवाताल क्षेत्रको जग्गा अतिक्रमणका विरुद्ध सुरुवाती सांकेतिक कारबाही गर्न बाध्य भएका छौँ।’ नेकपा बहुमतले सर्वोच्च अदालतले गरेको फैसला र नगर विकास समितिका तत्कालीन अध्यक्ष विश्वप्रकाश लामिछाने नेतृत्वको टोलीले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग पनि गरेको छ।
Shares

प्रतिक्रिया