ad ad

गण्डकी


गण्डकीमा बाढी–पहिरोबाट ६ जनाको मृत्यु, ३ बेपत्ता (विवरणसहित)

गण्डकीमा बाढी–पहिरोबाट ६ जनाको मृत्यु, ३ बेपत्ता (विवरणसहित)

नेपालखबर
असार २२, २०८१ शनिबार २१:५७, काठमाडौँ

अविरल वर्षासँगै आएको बाढी र पहिरोले गण्डकीमा ६जनाको निधन भएको छ भने तीनजना बेपत्ता भएका छन्। बाढी–पहिरोले स्याङ्जामा ३, पर्वतमा २ र बागलुङमा १ जनाको ज्यान लिएको हो।

पहिरोमा परी तनहुँमा १ जनाको मृत्यु र ३ जना हराइरहेका गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। विपत्तिले ५ जनालाई घाइते पनि बनाएको छ।

स्याङ्जाको विरुवा गाउँपालिका ६, लामाखेतमा रहेको ईश्वरीप्रसाद लम्सालको घर पहिरोले पुरिँदा त्यहाँ रहेका ६६ वर्षीय माधव  र ६५ वर्षीया गुह्येश्वरी शर्मा दम्पति तथा ५८ वर्षीया हरिदेवी शर्माको निधन भएको हो। 

विरुवा ६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार गुह्येश्वरी र हरिदेवीको तत्काल उद्दार गरिए पनि ज्यान जोगिएन भने पुरिएका माधवको बढो कष्टसाथ शव निकालिएको हो।

पहिरोमा परी ईश्वरीप्रसाद, उनका परिवारका सदस्यहरु घाइते भएका छन्।

बेपत्ता २ जना मृत भेटिए
पर्वतको फलेवास नगरपालिका वडा नंं १ कार्की नेटामा पहिरोमा परेर बेपत्ता भएका दुवैजनाको शव भेटिएको छ। घरमाथिबाट आएको पहिरोले स्थानीय कुलप्रसाद पाध्याको गोठ बगाउँदा २ जना बेपत्ता भएका थिए। 

प्रहरी र स्थानीयले खोजी अभियान जारी राखेपछि शनिबार साँझ ४० वर्षीय झलकप्रसाद शर्मा र स्याङजाको आँधीखोला ३ निवासी ३३ बर्षिय तुलसीप्रसाद शर्माको शव भेटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

शनिबार दिउसो साँढे ३ बजे बेपत्ता भएकोमा बेलुकी ७ बजे दुवैजनाको शव भेटिएको हो। मृतक तुलसीप्रसादको घटनास्थलदेखि १ सय मिटर तल खोल्सामा शव  भेटिएको हो।

अर्का मृतक झलकको भने खोलाले बगाएर स्याङजाको आँधिखोला पुर्‍याएको अवस्थामा भेटिएको हो। 

दिउसो साँढे ३ बजे घरदेखि १ सय मिटर माथिबाट खसेको पहिरोले गोठ सहितको संरचना सबै बगाएको थियो।  शव खोज्न स्याङजासम्मका प्रहरी र स्थानीय खटिएका थिए।

उक्त घटनामा पाध्याका घरमा पालेका २ भैँसी, १ पाडो र ४ बाख्रा पनि मरेका छन्।

तनहुँमा ३ जना बेपत्ता  
शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोमा परेर आज ३ जना बेपत्ता भएका छन्।  

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार दिउँसो गएको पहिरामा परेर स्थानीय तीनजना बेपत्ता भएका प्रहरीको भनाइ छ। 

दिउँसोदेखि बेपत्ता बनेका ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको अत्तोपत्तो छैन। 

ढुंगा लागेर एकको मृत्यु
ऋषिङ गाउँपालिका–१ झापुटारमा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–१ मालिंगा ५० वर्षीय कृष्णबहादुर पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .